भानु जन्मस्थल विकासमा बेवास्ता

सविन लामिछाने
असार २९, २०७८
aadikavi news damauli

दमौली  ।

‘भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो ।
मो भानुभक्त धनी भइकन आज यस्तो ।।’

भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले चर्चासँगै धेरै प्रश्न पनि जन्मायो । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यका ‘घाँसी’ कविताका यिनै हरफ वाचन गरेर आज देशभर उनको २०८ औं जन्मजयन्ती मनाइँदैछ ।
आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते भानु नगरपालिकास्थित चुँदीरम्घामा पं श्रीकृष्ण आचार्यका नाति एवं पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सुपुत्रका रुपमा जन्म भएको थियो । उनको नाम देवीभक्त नाम राखिए पनि तिनै बालक देवीभक्तबाट रामको भक्त अनि नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्यफाँटमा आदिकवि भानुभक्त बनेर उदाएका थिए । यिनै भानुभक्तको योगदानको कदर गर्दै उनको जन्मस्थल चुदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि अझै देखिने रुपमा केही काम नभएकोप्रति चुँदी रम्घाका बासिन्दा असन्तुष्ट छन् । अहिले चुँदीरम्घालाई हेर्ने हो भने भानुको जन्मस्थल असार २९ बाहेक प्रायः सुनसान हुन्छ । देशमा कोरोना प्रभावले गत वर्ष जस्तै यस वर्ष झन् असर पारेको छ ।
२००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको हो । उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति, जातीय कवि लगायत नामले चिनिन्छ । उनको सम्मानमा नगरपालिकाको नाम नै ‘भानु’ राखिएको छ ।

संरक्षण कुर्दै भानुको गाउँ
भानुभक्त जन्मेको गाउँ जहाँ बसेर उनले काव्य रचना गरेका थिए, त्यस ठाउँ अहिले पनि संरक्षण पर्खाइमा छ । नेपाल सरकारले भानु जन्मस्थलको विकास गर्न २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन गरेको थियो । समिति गठनसँगै मुलुकको केन्द्रीय राजनीतिक नेतृत्व परिवर्तनसँगै समितिमा हुने राजनीतिक नियुक्ति र हेरफेरले त्यहाँको विकास निर्माणमा समस्या उत्पन्न हुने गरेको आर्चायका परिवार ऋदम आचार्य बताउँछन् । परिवार मात्र होइन, स्थानीयको पनि एउटै भनाइ छ–नजिकको तीर्थ हेला । चुँदी रम्घावासीले भानुभक्तमाथि राजनीतिक नगरी उनले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योग्दानलाई ओझेलमा पार्न नहुने धेरेको बुझाइ छ । अहिले जन्मस्थल विकास समिति समितिविहीन छ । साहित्यिक पर्यटकीय विकासको सम्भावना भानुभक्तको जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने हो भने विकास समितिलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने, एउटा पार्टीले गरेको निर्णय र कामलाई अर्को पार्टीले पनि निरन्तरता दिई मेलमिलापको आधारमा अगाडि बढ्नुपर्ने विकास समिति पूर्व अध्यक्ष श्रीभक्त आचार्य बताउँछन् । उनले भने, ‘निर्माण अगाडि बढाउन खोज्दा कोरोना महामारीले रोकिदियो । अब बिस्तारै हामी संरक्षणमा लाग्दै छौं ।’
त्यस्तै, आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको झण्डै २० वर्ष पुगिसक्दा पनि अझै पुनःनिर्माण हुन सकेको छैन । यसले गर्दा भानुको जन्म घर हेर्ने उत्कष्ट चाहना राखेर चुँदीरम्घामा पुगेका साहित्यप्रेमीको मनै भारी हुने गरेको छ ।

पुनःनिर्माणमै बेवास्ता
२०५५ सालमा ‘आदिकवि भानुभक्त’ नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले पुनःनिर्माण गरेको थियो । पुनःनिर्माण गरेको घर २०६० वैशाख १० बाट जंगलको पश्चिम पट्टीको भागमा लागेको आगो ३ दिनसम्म जंगलमा फैलिदा आगोले जलेर पूर्ण रुपले ध्वस्त बनेको थियो । १ लाख २६ हजार ९ सय रुपैयाँमा बनाइएको घरलाई शिखर कटेरी भन्ने गरिएको छ । हाल भानुको घर नजिक बस्ती नभएकाले जंगलले घेरिएको छ । समितिका अनुसार जंगलले घेरिएकाले जोगाउन मुस्किल पर्ने हुँदा घर पुनःनिर्माण गर्न नसकिएको हो । खरको छानो हुँदा आगोको बढी खतरा हुने हुँदा सिमेन्टको घर बनाई भानुभक्तकालीन शैलीमा रंगरोगन गरी घर बनाउने योजना रहेको बताइएको छ । घर जोगाउन कठिन भएपछि घरकै परिसरमा रामायण भवन बनाइएको छ र भानुजन्मस्थल क्षेत्रको विकास तथा भानुसम्बन्धी ऐतिहासिक संरचनाको संरक्षण गर्नका लागि पश्चिमाञ्चल विकास मञ्चले भानुको घर बनाउन सक्रियता जनाएको थियो । भानुको जन्मघर, रामायण घर, संग्रहालय निर्माणदेखि सहज यातायात पहुँच पु¥याउने लगायतका कार्य गर्न मञ्चले करिब १० करोड रुपैयाँको गुरुयोजना निर्माण गरी कार्य अगाडि बढाउने भनेको थियो । पूर्व कार्यकारी निर्देशक रानाभाटले भने, ‘गुरुयोजनाको लागि शिलायान्स त गरे । तर अहिलेसम्म केही पनि काम गरेका छैन । विभिन्न समस्या देखाउँदै पन्छिएका छन् ।’

आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको झण्डै २० वर्ष पुगिसक्दा पनि अझै पुनःनिर्माण हुन सकेको छैन

त्यस्तै, भानुको जन्मस्थल क्षेत्रको विकास गरेर साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य साथ सरकारले २०५२ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहने गरी भानु जन्मस्थल समिति गठन गरी समितिका लागि बजेट पनि विनियोजन गर्न थाल्यो । तर, विनियोजित बजेट कार्यकारी निर्देशक र कार्यालय सञ्चालन बाहेक अन्य कर्मचारीलाई तलब खुवाउन नपुग्ने बताइन्छ । गएको वर्षदेखि बजेट नै विनियोजन नगरिएको पूर्व कार्यकारी निर्देशक रानाभाटले बताए । सुरुमा जे जति महत्वका साथ समिति गठन गरिएको थियो, पछि राज्य पक्षको पर्याप्त चासो नपुग्दा र समयमै आवश्यक बजेट विनियोजन नहुँदा अहिले समितिले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ ।
यहाँ संग्रहालयको रूप दिएर प्रचारप्रसार गर्ने काम हुन सकेको छैन । व्यवस्थित रूपमा ती वस्तु संग्रह गरेर राख्न सकिए नेपाली भाषा साहित्यबारे रुचि राख्ने जो कोहीको आकर्षण र चासोको केन्द्र बन्न सक्ने देखिन्छ । त्रिविका इतिहासविद् डा. रामराज सुवेदीको नेतृत्वमा सम्पन्न गरिएको घरको उत्खनन् क्रममा घडेरीको जगसम्मको अवशेष, मूलढोकाको संघार, थाम अड्काउने इलम, ढुंगाको छपनीले पुरिएको अगेनाको खरानी, चाँदीको बाला, थुर्पी लगायतको सामग्री फेला पारिएको र ती सबै चुँदीरम्घावेंसीमा रहेको पुस्तकालयको संग्रालयहमा राखिएको छ । उक्त पुस्तकालयमा भानुद्वारा लेखिएका हस्तलिखित पाण्डुलिपि तथा रचना गरी करिब ५ हजार वटा पुस्तक संग्रह गरी राखिएको छ । तर, बढ्दो आधुनिकीकरणसँगै युवा पिढी पुस्तकालयमा आउन छाडेको पुस्तकालय व्यवस्थापक बताउँछन् । यस भानु जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल रुपमा विकास गर्न स्थानीय बासिन्दाले माग गरिरहेका छन् ।
त्यस्तै, भानुलाई प्रेरणा दिने घाँसीको नाममा पृथ्वी राजमार्गसँगै स्थापित घाँसीकुवा, भानु जन्मस्थलमा सञ्चालन गरिएको संस्कृत विद्यापीठ पनि संरक्षणको पर्खाइमा छन् । चुँदीरम्घालाई सरकारले खास चासो नदिने, समितिले केही गर्न नसक्ने अनि अन्य क्षेत्रबाट काम हुने चर्चा चले पनि काम नहुने लगायतका विविध कारणले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा परेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads