शिलान्यासको ८ वर्षसम्म पनि बनेन पुल

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
nabalpur

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माण थालनी गरेको पक्की पुल ८ वर्ष बितिसक्दा पनि बनेको छैन । निर्माण कम्पनीको लापर्बाही र सडक डिभिजन कार्यालयको उदासिनता कारण निर्माणाधीन पुल अलपत्र अवस्थामा छाडिएको हो । पुल निर्माण हुन नसक्दा १५ मिनेटमा पुग्ने गाउँका लागि स्थानीय १ घण्टा लगाएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाको भुजहवा र मधौलिया गाउँ जोड्ने पुल निर्माणका लागि २०६९ असार २६ मा सम्झौता भएको थियो । पूर्वमन्त्री हृदयेश त्रिपाठीको निर्वाचन क्षेत्रमा पर्ने उक्त पुल तत्कालीन भौतिक, योजना निर्माण तथा यातायात मन्त्री हुँदा उनैले शिलन्यास गरेका हुन् ।
सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत उक्त पुलको कुल लागत ५ करोड ५४ लाख हो । तर निर्माण कम्पनीले ३ करोड ७१ लाखमा ठेक्का लिएको डिभिजन कार्यालयका इ. अशोक पौडेलले बताए । २ वर्षभित्र काम सक्ने गरी काठमाडौं मैनाचोली बक्सिङ्ग जेभी कम्पनीलाई ठेक्का दिइएको हो ।
समयमा काम नसकेपछि हालसम्म ३ पटक म्याद थपिएको छ । क्षतिपूर्ति लगाउने गरी अन्तिम पटक २०७७ जेठ २६ भित्र काम सक्न म्याद थप गरिएको थियो । तर सो अवधिमा पनि काम पूरा गर्न नसकेको इ. पौडेलले जानकारी दिए ।
पुलको अन्य काम अरुलाई दिएर निर्माण कार्य अघि बढाउन समेत कार्यालयले पहल गरेको छैन भने कालोसूचीमा समेत राखिएको छैन । ‘ठेक्का तोडर अरुलाई दिँदा झन्झटिलो र लामो समय लाग्ने भएकाले क्षतिपूर्ति लिएर भए पनि सोही कम्पनीलाई काम गर्न भनेका छौं,’ इ. पौडेलले भने । अहिलेसम्म ८८ प्रतिशत काम सकिएको पौडेलको दाबी छ ।
अहिलेसम्म निर्माण कम्पनीले ५० प्रतिशत भन्दा बढी रकम लागिसकेको कार्यालयले जनाएको छ । २ वर्षदेखि बाँकी काम भएको छैन । काम तत्काल सुरु गर्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गरिरहेको र काम सकिएपछि क्षतिपूर्ति कटाएर रकम भुक्तानी गरिने कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width