स्वतन्त्रता सेनानी पाण्डेको श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
असार २७, २०७८
narayan bahadur pandey a

पोखरा । स्वतन्त्रता सेनानी नारायणबहादुर पाण्डेको निधनप्रति नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
लमजुङको मध्य नेपाल नगरपालिका ९ स्थित उनकै निवासमा शनिबार आयोजित श्रद्धाञ्जली सभामा कोइराला, पोखरेलसहित केन्द्रीय तथा स्थानीय नेता, कार्यकर्ता सहभागी थिए । उक्त अवसरमा महामन्त्री कोइरालाले मुलुकमा स्वतन्त्रता स्थापनाका लागि पाण्डेसहितका अगुवाहरुको अतुलनीय योगदान रहेको बताए । अग्रज नेताहरुको सम्मानले नै पार्टी थप मजबुत हुने भनाइ उनको थियो ।
गण्डकीका मुख्यमन्त्री पोखरेलले पञ्चायतकालमा अनेक हन्डर खेपेर नारायणबहादुर पाण्डेले संघर्ष गरेको स्मरण गर्दै उनको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको भनाइ राखे । मुलुकमा राजनीतिक सचेतना र स्वतन्त्रता कायम गर्न लमजुङ र लमजुङवासीको भूमिका उल्लेखनीय रहेको भन्दै उनले प्रशंसा गरे । केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नारायणबहादुरले असल राजनीतिक संस्कार सिकाएर गएको र त्यसको अनुशरण छोराहरुले गरेको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरीले लमजुङको ग्रामीण भेगमा रहेर पनि नारायणबहादुरले राजनीतिसँगै शिक्षा र सामाजिक विकासको क्षेत्रमा काम गरेर अमिट छाप छाडेको बताए । कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधासभा सदस्य शारदा पौडेल, राजु थापा, चन्द्रबहादुर कुँवर, कास्की कांग्रेस सभापति कृष्ण केसी, नवलपुर सभापति विष्णुप्रसाद लामिछानेसहित नेता कार्यकर्ता सहभागी थिए ।
उपप्रधानपञ्च हुँदै प्रधानपञ्चसमेत भएका ८० वर्षे पाण्डेको असार २१ गते सोमबार निधन भएको हो । उनकै अग्रसरतामा गाउँमा विद्यालय स्थापनादेखि विकास निर्माणका थुप्रै कामहरु भएका छन् । उनका जेठा छोरा रमेश पाण्डे लमजुङकै मध्यनेपाल नगरपालिकाका मेयर हुन् । कान्छा छोरा महेश पनि पार्टीमा क्रियाशील छन् ।
जेठा छोरा रमेशले बुबाबाट आफूले राजनीतिक संस्कार सिकेको भन्दै पार्टीले अब ग्रामीण भेगमा लुकेर रहेका हस्तीहरुको खोजबिन गरी सम्मान गर्नुपर्ने बताए । जीवनले राजनीतिक स्वतन्त्रताका लागि बिताएका कार्यकर्ताको मूल्यांकन नेतृत्व तहले गर्नुपर्ने त्यस्तो नभएको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width