पोखरा नगर बस मनपरी भाडा असुल्दै

धनबहादुर गुरुङ
असार २७, २०७८
pokhara-bus

पोखरा । पोखरा १ बगर बस्ने गौतम रानाभाट शनिबार काम विषेशले महेन्द्रपुल झरे । पोखरा नगर बसमा महेन्द्रपुल आएका उनले २० रुपैयाँ भाडा बुझाए । भाडाकै विषयमा सहचालकसँग केही समय वादविवाद भयो, अनि त्यहीं झरे । रिसको झोकमा त्यो बेला उनले गाडी नम्बर याद गरेनन् । महेन्द्रपुलमा काम सकेर उनलाई सभागृहसम्म पुग्नुपर्ने थियो । सहारा फेरि नगर माइक्रो बसकै लिनुपर्ने थियो । केही समय अघि गाडी भाडाको विषयमा विवाद गरेका उनलाई हिँडेरै जान्छु भन्ने पनि भयो । तर सिमसिम पानी परेका कारण बसमै जाने निधो गरे ।
चिप्लेढुंगाबाट बस चढ्दा भने चलाखी अपनाए र नम्बर नोट गरिहाले । चाउथेसम्म पुग्ने ग १ ख ६४५४ नम्बरको माइक्रोमा चढे । त्यो बसमा सहचालक नभएका कारण चालकले नै सबै काम भ्याएका थिए । सभागृहचोक झर्ने बेलामा उनले भाडा कति भनेर सोधे । ती चालकले पनि २० रुपैयाँ नै मागे । रानाभाटले भाडा किन बढाइएको भनेर पनि सोध्न भ्याए । प्रतित्युत्तरमा लकडाउन खुलेदेखि २० रुपैयाँ भएको चालकले बताए । तेलको भाउ १ सय १२ भएका कारण पनि भाडादर बढेको चालकको जिकीर थियो । रानाभाट भने उनको जवाफबाट सन्तुष्ट थिएनन् ।
उनी बगरबाट सभागृहचोकसम्म सार्वजनिक बसबाटै आउजाउ गर्छन् । उनले नगर बसमा धेरैजसो ३० रुपैयाँ तिर्ने गरेका छन् । ‘आज काम परेर महेन्द्रपुल झरेको हुँ, सधैं सभागृहसम्म बसमै जान्छु,’ उनले भने, ‘धेरैजसो ३० रुपैयाँ माग्छन्, कोही कोहीले भने २० मात्र लिने गरेका छन् ।’
केही दिन अघि नदीपुर बस्ने हिरा मल्ल महेन्द्रपुलबाट पृथ्वीचोकसम्म पुगेको २० रुपैयाँ नै बुझाइन् । ५० को नोट दिएकोमा ३० मात्र सहचालकले फिर्ता दिएको उनको भनाइ थियो । सहचालकलाई भाडा त नबढ्नुपर्ने भनी सोध्दा झर्किदै भाडा बढेको २÷३ दिन भएको बताएको उनले जानकारी दिइन् । ‘भाडा बढेको नबढेको यातायात कम्पनीमा गएर सोधम् भनेर सोधें,’ उनले भनिन्, ‘सोध्नुस्, सोध्नुस् भन्दै त्यो भाइ झर्कियो, छेउछाउका दिदीबहिनीहरु पनि मनपरी भाडा लिने भन्दै कराउँदै हुनुहुन्थ्यो ।’ कोरोनाकै कारण भाडा बढेको स्वाभाविक नै भए पनि सधैं सरकारले बढाउने भाडा मनपरी बढाउँदा उनको चित्त दुखाइ थियो । सबै नगरबसले बढी भाडा नलिएको पनि उनको भनाइ छ । कुनै कुनैले पुरानै भाडा लिने गरेको उनी बताउँछिन् ।


कोरोनाले यातायात व्यवसायीमात्र मारमा नपरेको रानाभाट र मल्लको भनाइ छ । ‘यातायात कार्यालय पनि मारमा छ, आयल निगमले डिजेलको भाउ महिनै पिच्छे बढाएको हामीलाई पनि थाहा छ,’ रानाभाटले भने, ‘हामी पनि त मारमै छौं, उनीहरुलाई मात्र त होइन नि कोरोनाले सताएको ।’ यताउता गर्न सार्वजनिक बसकै भर भए पनि मनलाग्दी भाडा बढाउन नहुने उनको तर्क छ । सरकारले बढाएको खण्डमा आफूले बढेको भाडा तिर्न राजी रहेको उनको भनाइ थियो । मल्ल पनि सार्वजनिक बसबाटै दिनहुँ ओहोरदोहोर गर्छिन् । दैनिक आउजाउ गर्दा १० रुयैयाँ बढी भाडा तिर्नुपरेको उनको तर्क छ । ‘एक दिनमा आउँदा जाँदा १० रुपैयाँ बढी तिर्नुपर्ने रहेछ, १० रुपैयाँले हामीले घर घडेरी नै जोड्ने त होइन्,’ उनले भनिन्, ‘त्यही हिसाबले महिनामा ३ सयभन्दा बढी बुझाउनुपर्ने रहेछ, त्यो त ठूलो रकम हो नि ।’

लकडाउन पूर्ण रुपमा खुलिनसकेको हुनाले कुरेर बसिएको छ, यो बीचमा नेपाल सरकारले आफैं भाडा समायोन गर्ला

यता पोखरा बस सञ्चालक कम्पनीका प्रबन्ध सञ्चालक अमृत शर्मा तिमिल्सिना भने पोखरा नगर माइक्रोको भाडा नबढेको बताउँछन् । लकडाउन खुलेपछि जोर बिजोरमा सवारी चले पनि बढी भाडा लिन कसैलाई निर्देशन नदिएको उनले बताए । ६९ सालदेखि भाडा नबढेको पनि उनको भनाइ थियो । ‘बढी भाडा लिनका लागि हामीले निर्देशन गरेकै छैनौं,’ उनले भने, ‘प्रशासनले कारबाही गर्‍यो भने पनि हामी बाधक भएका छैनौं ।’ आफ्नै गाडी बढी भाडा लिनेमा परे पनि दण्ड जरिवाना तिर्ने उनको भनाइ थियो । अरु सवारीलाई पनि साबिककै भाडादर कायम गर्न आग्रह गरिएको उनले जानकारी दिए । योभन्दा अघिको लकडाउनपछि जोर बिजोरमा चल्ने, यात्रु आधा चढाउने तर भाडा बढी लिने सरकारको निर्णयको असर पनि परेको हुनसक्ने पनि उनको भनाइ थियो । तर अहिलेको लकडाउनपछि भने जोर बिजोरमा चलाए पनि बढी भाडा लिने भनेर कतै उल्लेख गरिएको पनि छैन । साथै यात्रुहरु पनि पाएसम्म सिटभरि नै चढाएको पाइन्छ ।
भाडा समायोजनको जिम्मा राज्य संयन्त्रले लिएको हुँदा यातायात व्यवस्था विभागको पहलमा नै वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने माग रहेको कम्पनीका सचिव तिमिल्सिनाले बताए । यस सम्बन्धमा यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सरकारको ध्यानाकर्षण गराइसकेको छ । यातायात व्यवस्था विभागले निश्चित रकमसहित मन्त्रालयमा सिफारिस पनि गरिसकेको छ । ‘सिफारिस भएको रकम हामी आफैंले एकतर्फी ढंगबाट भए पनि समायोजन गरेर लिने भन्ने महासंघबाट निर्देशन भएको छ,’ उनले भने, ‘लकडाउन पूर्ण रुपमा खुलिनसकेको हुनाले कुरेर बसिएको छ, यो बीचमा नेपाल सरकारले आफैं भाडा समायोन गर्ला ।’ कोरोनाका कारण धेरै मजदुर विस्थापित भइसकेको हुँदा भाडा र कोरोना खोपका लागि विशेष प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । यसका लागि केन्द्र सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराइरहेको उनले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीमा भने बढि भाडा लिएको उजुरी अथवा सुचना नआएको ट्राफिक कार्यालय कास्कीका प्रवक्ता पूर्णबहादुर अधिकारी जानकारी दिए । बिद्यार्थी छुट नदिएको एउटा उजुरी आएपनि लकडाउनको समयमा बिद्यार्थी छुटको बिषय शोभनिय नभएको उनको भनाइ थियो । ‘एउटा बिद्यार्थीको उजुरी परेको थियो,’ उनले भने, ‘लकडाउनमा बिद्यालय खुलेका छैनन्, कसरी छुट दिन भन्ने ।’ बढि भाडा लिएको सुचना कोहीकसैबाट नआएको र त्यस्तो सुचना आएमा कानुन अनसार कारबाही गर्नै उनको भनाइ छ । ‘कसैले पनि बढि भाडा लियो भनेर उजुरी गर्नुभएको छैन्,’ उनले भने, ‘त्यस्तो सुचना आयो भने हामीले समाएर कारबाहीका लागि यातायता व्यवस्था कार्यालयमा पठाउँछौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width