हत्या अभियोगमा थुनामा रहेकी महिलाद्वारा कारागारमा आत्महत्या

नवराज पहाडी
असार २६, २०७८
Lamjung Karagar

लमजुङ । लमजुङमा एक महिलाले कारागारभित्रै आत्महत्या गरेकी छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी ४८ बर्षीया फूलमाया विकले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरी घर भएकी महिला उपर छिमेकीका ७ वर्षको बालकको हत्या अभियोग लागेको थियो । गत चैत ३० मा घरबाट हराएका बालकको भोलिपल्ट गाउँ नजिकै खोल्सामा शव भेटिएको थियो । महिलालाई प्रहरीले पक्राउ गरेर पुर्पक्षका लागि थुनामा राखेको थियो ।

उनको शव शौचालयको देवलमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा फेला परेको लमजुङका प्रहरी प्रमुख कृष्णबहादुर कार्कीले बताए । उनका अनुसार महिला कैदीबन्दी बस्ने ठाउँमा राति करीब १२ बजेसम्म नाचगान थियो । उनले भने, ‘उक्त घट्नाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

घटनाको बारेमा कारागारका कसैले पनि थाहा नपाएको कारागार प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत जगदिश मिश्रले बताए । बिहान शौचालय जाने अर्की महिलाले देखेपछि प्रशासनलाई खबर गेको मिश्रले जानकारी दिए ।

ग वर्गको जीर्ण लमजुङ कारागारमा कैदी र थुनुवा गरी ८८ जना छन् । तीमध्ये महिला संख्या ९ जना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width