हरिनासका २ वडा बाख्रा पकेट क्षेत्र

आदर्श समाज सम्वाददाता
असार २६, २०७८
Harinas news

स्याङ्जा । हरिनास गाउँपालिकाले बाख्रापालनलाई जोड दिँदै २ वटा वडालाई बाख्रापालन पकेट क्षेत्र घोषणा गरेकोे छ । बाख्राका लागि उपयुक्त भोैगोलिक अवस्था भएकाले बाख्रापालन कार्यक्रम लागु गरिएको पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताए । कार्यक्रम संचालनपछि पालिकाको वडा नं. २ र ४ मा झण्डै ३ हजार बाख्रा पालिएका छन् । उन्नत जातका (ब्रोयर) बोका र स्थानीय जातका बाख्रा पालिएका छन् ।
बाख्रा पालनका लागि सशर्त अनुदानतर्फ १५ लाख र लागत साझेदारी सशर्त अनुदानतर्फको बजेट ९ लाख ९० हजारको बजेट हो । लागत साझेदारी अन्तर्गत संघ र पालिकाले ९ लाख ९० हजार दुवैतर्फबाट विनियोजन भएको हो । बाख्रा खरिदका लागि किसानले १० प्रतिशत रकम व्यहोरेको पशुशाखा प्रमुख सविन देवकोटाले जानकारी दिए ।
बाख्रा पकेट क्षेत्र र लागत साझेदारी बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम अन्तर्गत बाख्रासँगै खोर, उन्नत जातका घाँस र बाख्रा पालनसम्बन्धी तालिम समेत उपलब्ध गराउने भएको छ ।
पालिकाको वडा नंं ४ अन्तर्गत राधव पशुपंक्षी एकीकृत कृषि समूह र सूर्यमुखी बाख्रा पालन समूह छन् । यसैगरी वडा नं. २ अन्तर्गत गैरीस्वाँरा कृषक समूह हुन् । यी ३ वटै समूहमा गरी झण्डै ३ सय जना कृषकहरु लाभान्वित भएका छन् ।
पालिकाले समूहका खातामा रकम उपलब्ध गराएपछि समूहले नै बाख्रा खरिद गरी र आआफ्ना समूहमा आबद्ध किसानलाई उपलब्ध गराउँछन् । उनीहरुले तनहुँ, चितवन लगायतका स्थानबाट बाख्रा खरिद गरी ल्याएका हुन् ।
बाख्रासँगै घाँस र भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग पाएपछि बाख्रापालक किसानहरु खुसी भएको किसान लक्ष्मी मस्र्यांङ्गी बताउँछिन् ।
पालिकाले यस वर्ष ती वडालाई बाख्रा पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गरेको हो । बाख्रपालनका लागि उपयुक्त वातावरण भएसँगै पालिकाले बाख्रापालनमा व्यावसायिक बनाउने उद्देश्यले किसानलाई थप सहयोग एवं प्रोत्साहन गर्दे आएको पालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width