‘खोप नदिए पर्यटन व्यवसाय खोल्दैनौं’

आदर्श समाज सम्वाददाता
असार २५, २०७८
Pokhara Tourism Photo

पोखरा । पोखराका पर्यटन व्यवसायीले कोरोनाविरुद्ध खोप नपाएसम्म पर्यटन व्यवसाय नखोल्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गर्दै भ्याक्सिन छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारसमक्ष मागसमेत गरे ।
भ्याक्सिनबिना पर्यटन सञ्चालन हुन नसक्ने हुँदा कोभिड १९ विरुद्धको भ्याक्सिन पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, मजदुर र कर्मचारीलाई यथाशीघ्र उपलब्ध गराउन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले सरकारसँग माग गरे । ‘अहिले पूर्णरुपमा व्यवसाय सञ्चालन हुन सकेको छैन । यदि सरकारले व्यवसाय सञ्चालको अनुमति दिएपनि हामी खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौं,’ उनले भने । उनले कतिपय अन्तर्राष्ट्रिय बुकिङ पनि पर्यटन क्षेत्रका मजदुर कर्मचारीले खोप लगाएका छन् कि छैनन भनेर इन्क्वायरी आउने गरेको जनाउँदै खोप नभएसम्म पर्यटन क्षेत्र सुरक्षित र चलायमान हुन नसक्ने बताए ।
उनले गत वर्षको मौद्रिक नीति र यस वर्षको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गरिएका आर्थिक नीति तथा कार्यक्रम अविलम्ब सबै तहका सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा लगानीको किस्ता व्याज पर्यटन सहज रुपमा सञ्चालन नहुँदासम्म तिर्न नसकिने जनाउँदै सो अवधिको ब्याज सरकाले तिर्नुपर्ने माग पनि परिषद्को छ ।
कोभिड १९ को प्रभावसँगै व्यवसायको जिम्मेवारीमा पर्ने व्यवसाय नवीकरण, अद्यावधिक शुल्क, घरभाडा कर, यातायात कर साथै सम्पूर्ण पर्यटन व्यवसायका शीर्षकका शुल्क र दस्तुर पूर्ण रुपमा मिनाहा हुनुपर्ने र पर्यटनमा आश्रित मजदुरको सुरक्षाको लागि विशेष राहत र रोजगार सृजनाका प्याकेजका कार्यक्रम ल्याउनुपर्ने परिषदको जोड छ ।
कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटकले सुरक्षित स्थान मात्रै रोज्ने हुँदा त्यसको लागि खोप पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले राजधानीका पर्यटन व्यवसायीलाई सरकारले १० हजार खोपको व्यवस्था गरे पनि पोखराप्रति सरकारले ध्यान नदिएको गुनासो गरे ।
आन्तरिक पर्यटन पुनरुत्थान गण्डकीका संयोजक अग्नि कँडेलले पर्यटन व्यवसायीको हकमा स्पष्ट नीति निर्धारण गरी यस क्षेत्रलाई चलायमान गराउन भूमिका खेल्नुपर्ने धारणा राखे ।
परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले परिषद्ले लामो समयदेखि ‘नो भ्याक्सिन, नो टुरिजम’ नार सहित सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चारमाध्यमबाट सरकारलाई दबाब दिइरहे पनि सुनुवाइ नभए बताए । गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा हालसम्म ५ खर्ब १५ करोडको लगानी रहेको उनले बताए । उनका अनुसार ७५ हजारभन्दा बढी मजदुरले रोजगार पाएका छन् । कोरोना कहरले ३० प्रतिशतभन्दा बढी पर्यटन व्यवसायी पलायन भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width