पोखरा । हरियो वन कार्यक्रमको रिपोर्टलाई पनि पछि पारेर अध्ययनकर्ताहरुले फेवाको अस्तित्व ५० वर्षमा झारेका छन् । हरियो वनले यहि हिसाबले ताल पुरिए १ सय ९० वर्षमा पानीको पूरै भाग जमिन बन्ने आंकलन गरेको छ । २०३८ को प्रतिवेदनलाई प्रमुख आधार मानेर तालको आकार अहिले ३८ प्रतिशत साँघुरो भएको छ । त्यसको प्रमुख कारण जलाधार क्षेत्रबाट बगेर झर्ने ढुंगा, गिटी, बालुवा र गेग्रानहरु नै हुन् । अँधेरी खोलाले मात्रै ७० प्रतिशत ताल पुर्छ । यस्ता अरु ५ वटा खोला छन् । दैनिक जलाधार क्षेत्रबाट झर्ने पहिरो र त्यसको सही रोकथाम नहुँदा फेवाताल छिटै फेवाफाँटमा परिणत हुने निश्चित छ । तालको पानी छुन योग्य छैन । बर्सेनि प्रतिवेदन बन्ने र कार्यान्वयन नहुने दीर्घरोगकै बीच नेपाल सरकारले नयाँ गुरुयोजना निर्माणको काम थालेको छ । मंसिरमा गठित फेवाताल ४ किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले गुरुयोजना निर्माण सुरु गरेको हो । यसको लागि इनोभेटिभ इन्जिनियरिङ सर्भिसलाई जिम्मा लगाइएको छ ।
कन्सल्ट्यान्ट कम्पनीले सामान्य अध्ययन गरेर प्रारम्भीक योजना तयार गरेको छ । ‘कोरा प्लान तयार भएको छ । त्यसलाई अझै डेन्टपेन्ट गर्न बाँकी छ,’ पोखराका मेयर मानबहादुर जिसीले भने, ‘मान्छेहरु धमिलो पानीमा माछा मार्न खोज्दैछन् । सीमांकनको विषयलाई लिएर मुद्दा हाल्दैछन् रे भन्ने सुनेको छु । यदि त्यसो हो भने उनीहरु ताल विरोधी हुन् । त्यस्ता तत्वलाई निस्तेज पार्नुपर्छ ।’ महानगरले फेवा बाहेक अन्य ७ तालको सीमांकन पनि टुंग्याएको छ । तर फेवाको मापदण्ड तोक्ने ३ महिने कार्यकाल बिना उपलब्धि बितेको छ । सिमांकनपछि तालको मापदण्ड तोक्ने जिम्मा सर्वोच्चले महानगरलाई दिएको थियो । यही वर्षभित्र मापदण्ड तयार गर्ने जिसीको दावी छ । ‘भूक्षय रोक्ने र मापदण्ड तोक्ने काम महानगरको हो । चैतदेखि एक खालको अध्ययन भएको छ । सरसर्ती हेरिसक्यौं,’ उनले थपे, ‘यही आवमा मापदण्ड तोक्छौं ।’
उच्चस्तरीय समितिको म्याद भदौसम्मका लागि थपिएको छ । अध्ययन प्रतिवेदन त्यसबेलासम्म तयार भइसक्ने समितिका संयोजक पुण्य पौडेलले बताए । ‘सीमांकन तोकिएकै समयमा भयो । मापदण्ड अब तोकिन्छ । त्यसपछि दुषित जग्गा खोज्ने र तालको सुन्दरताका लागि काम गर्नुपर्यो नि,’ उनी भन्छन्, ‘अहिलेसम्मका सबै रिपोर्टलाई रिप्लेस गर्ने गरी यो गुरुयोजना बन्छ । ताल संरक्षणका हेतु बन्छ । यो रिपोर्टहरुको चाङमा एउटा रिपोर्ट थप्नका लागि बन्दैन ।’ उनका अनुसार गुरुयोजना राम्रो भए विभिन्न देशमा बसोबास गर्ने शिक्षित नेपालीहरुले यहाँ ३ सय मिलियन अमेरिकी डलर लगानी गर्नसक्ने संकेत गरेका छन् । परियोजना पूरा गर्न १ खर्ब भन्दा बढी लाग्ने बताइएको छ ।
प्रारम्भिक छलफलमा सेतीको पानी ल्याएर २ मेगावाट बिजुली निकाल्ने योजना प्रस्ताव गरिएको छ । त्यही पानीले ताल किनारमा जम्मा हुने ढलको सफाई गर्ने योजना छ । तालको चारैतिरबाट साइकल लेन र फुट ट्रेल बनाउने, अहिले ताल रहेको क्षेत्रभन्दा माथि ठूलो चेकड्याम बनाएर अर्को मिनी ताल बनाउने कल्पना गरिएको छ । ताल किनारका जमिनलाई सम्याएर हाउजिङको रुपमा विकास गर्ने तथा विभिन्न मनोरन्जनका गतिविधि थप्ने प्रश्नाव छ । ‘अहिले भन्दा ३ गुणा मनोरन्जनका गतिविधि थपिने छ । ३ हजार मान्छेलाई आधुनिक बस्ती बनाएर त्यहाँ सार्न सकिन्छ,’ कन्सल्ट्यान्ट अनुप खनालले भने, ‘तर त्यसका लागि स्वायत्त संस्था चाहिन्छ । त्यो सबै प्रक्रिया पूरा भयो भने यो नेपालकै ठूलो गुरुयोजना बन्ने छ ।’
ताल वरपरका साढे ३ हजार रोपनी क्षेत्रमा संरचना निर्माणको काम गर्ने प्रस्ताव
ताल वरपरका साढे ३ हजार रोपनी क्षेत्रमा संरचना निर्माणको काम गर्ने प्रस्ताव छ । तर ती जग्गाहरु व्यक्तिको लालपूर्जा भित्र भएकोले राज्यबाट विशेष पहल हुनुपर्ने संयोजक पौडेलले बताए । ‘राज्यले उचित मुआब्जा दिएर लिनुपर्यो नि । त्यसै माग्दा पाइँदैन क्यारे,’ उनले थपे, ‘मुआब्जा पाए जग्गाधनीले जग्गा छोड्छन् । त्यसपछि लगानी आकर्षण गर्न सकिन्छ ।’ पौडेलका अनुसार ताल किनारमा रहेका दुषित जग्गाको छानबिन ७५ प्रतिशत पूरा भएको छ । भदौभित्र सबै काम टुंग्याएर आफू बिदा हुने उनको भनाइ छ ।
तालबारे चिन्तन गर्नेहरुले प्रारम्भिक प्रतिवेदनलाई सपनाको दस्तावेजका रुपमा मात्रै अथ्र्याएका छन् । उनीहरुले रामसार र सीमसार क्षेत्रमा ठूला संरचना बनाउन नदिने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले सीमांकन गरिएका क्षेत्रभित्रै धमाधम संरचना निर्माण हुँदा सरोकार निकाय मौन भएको बताए । ‘घर टहरा बनिरहेका छन् । खोला र डाँडा खारेर प्लटिङ भइरहेको छ । त्यो रोक्ने कसले हो ?,’ उनले प्रश्न गरे, ‘धेरै ठूलो सपना बाँड्नु भन्दा प्राकृतिक सुन्दरताको सुरक्षा गरौं । त्यसपछि अरु सोचौंला ।’
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले ताल संरक्षणका लागि जलाधार क्षेत्रमा ध्यान दिनुपर्ने सुझाए । ‘अँधेरी खोलामा कल्पना नगरेको पहिरो गइरहेको छ । सिल्ट्रेसन ड्याम फेवातालको नजिक–नजिक बनाइएको छ । ७० प्रतिशत ताल पुर्ने अँधेरी खोलाको पहिरो नियन्त्रण कहिले हुन्छ ?,’ कुवँर भन्छन्, ‘साँच्चै फेवा जोगाउन लागेको हो भने पहिरोको मुहानबाट काम गरौं । रिपोर्ट सँधै ताल वरिपरिको बन्छ । ताल पुर्ने अँधेरीको कुरा गर्दा कसैले सुनेनन् ।’ उनले ताल वरिपरीको जग्गा राज्यको भएमात्रै कल्पना गरिएको परियोजना पूरा हुने बताए । प्रारम्भिक रिपोर्टमाथि चरणबद्ध छलफल चलाएर अन्तिम गुरुयोजना बुझाइने विज्ञ प्राडा भरत पहारीले जानकारी दिए ।
‘फेवातालाई समृद्धिसँग जोड्न आवश्यक’
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको विकासका लागि फेवाताललाई समृद्धिसँग जोड्ने बताए । प्रदेशको राजधानी पोखरामा रहेको फेवातालसँगै पर्यटकीय क्षेत्र थला परेको अवस्थामा केही नयाँ कार्यक्रम आउनु सरहानीय रहेको भएको उनको भनाइ छ ।
बुधबार फेवातालको दीर्घकालीन संरक्षण तथा सौन्दर्यीकरणका लागि वृहत गुरुयोजना तयारी सम्बन्धी कार्यक्रममा उनले गुरुयोजना अनुसार काम भए समृद्धिको आधार तय हुने बताए । फेवातालको ४ किल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिको आयोजनामा मुख्यमन्त्री समक्ष गुरुयोजनाको बारेमा जानकारी गराइएको थियो । इन्नोभेटिभ इन्जिनियरिङ सर्भिस प्रालिका प्रतिनिधि अनुप खनालको प्रस्तुतीकरण हेरिसकेपछि गुरुयोजना सफल बनाउन प्रदेश सरकारको साथ समर्थन रहेको पनि बताए ।
महानगर र प्रदेश सरकारले योभन्दा अगाडि बनाएका योजना हेरेर त्यही अनुसार विज्ञहरुसँग छलफल गरी फेवातालको सौन्दर्यीकरण र संरक्षणमा जुट्ने उनको धारणा थियो । जलाधार क्षेत्रको संरक्षणबाट नै फेवाताल जोगिने धारणा राख्दै नागरिक समाजले गरेको सरसफाई कायक्रमको पनि खुलेर प्रशंसा गरे । सरकारले गर्नुपर्ने काम नागरिक समाजले गरेको पनि उनले धारणा व्यक्त गरे । फेवातालसँग सम्बन्धित समस्या समाधान गर्ने दायित्व प्रदेशको सरकारको भएकाले पहल अगाडि बढाउने उनले प्रष्टाए ।
Related News
सम्बन्धित समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१