अब पुग्छ डिजिटल पाठ्यसामग्रीमा बहिरा बालबालिकाको पहुँच

धनबहादुर गुरुङ
असार २३, २०७८
Bahira Photo

पोखरा । पर्वतका ऋषिराम पौडेललाई आफ्ना छोरालाई पढाउन कम्ता सकस भएन । न छोरो बोल्ने, न त आफूले बोलेको छोराले नै बुझ्ने । यही समस्याले आजित थिए उनी । सँगै जन्मेका दाइका छोरा बोल्न थालिसक्दा पनि उनको छोराले हाउभाउसमेत देखाएनन् । त्यसपछि जाँच गर्न काठमाडौं टिचिङ अस्पताल पु¥याउँदा छोरो बहिरा भएको थाहा पाए ।
कसरी छोरो बहिरा भयो भन्नेसमेत उनलाई भेउ भएन । निराश हुँदै उनी पर्वत फर्किए । बहिरा अपांगता भएका छोराले कान नसुनेपछि भाषाको ज्ञान नभएकै कारण उनलाइै निकै समस्या पर्‍यो । ‘काम नसुनेपछि हाम्रो भाषाको ज्ञान उनीहरुलाई हुने कुरा भएन,’ उनले भने, ‘दैनिक प्रयोग हुने भोक लाग्यो, खाना खान्छु जस्ता सामान्य कुरा पनि भन्न सकेन ।’ परिवारलाई त गाह्रो भएकै थियो तर छोरालाई पनि अरु बच्चाहरुसँग घुलमिल हुन गाह्रो । समाजले छोरालाई नबुझ्ने, छोराले समाज नबुझ्ने समस्याकै बीच छोरा ४ वर्षको हुँदा उनी पोखरा झरे ।
पोखरा आएर छोरालाई सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा भर्ना गरिदिए । आफन्तमा बहिरा अपांगता भएकै कारण पहिलाबाट नै उनको बहिरा अपांगता संघ संस्थासँग हिमचिम थियो । त्यही कारण पनि छोरासँगै उनी स्वयं पनि सोही विद्यालयमा संलग्न भए । कक्षा एकमा भर्ना भएका मञ्जिल पौडेललाई पढाउन उनलाई निकै समस्या भयो । हल्काफुल्का सांकेतिक भाषाको ज्ञान भए पनि छोरोलाई पढाउन पर्याप्त थिएन् । छोराको हरेक पाइला पाइलामा आइपर्ने कठिनाइलाई पार गर्दै उनले छोरा पढाएका थिए ।
आमाले मञ्जिलको हाउभाउ बुझेको भरमा उनी केही सहज भएको थियो । कक्षा १ मा भर्ना भएपछि मञ्जिलले केही सांकेतिक भाषा सिके । ऋषिरामले पनि अभिभावकलाई दिने तालिममा सहभागी भएपछि सिके । उनीहरुको दैनिकी केही सहज भयो । मञ्जिल अहिले १५ वर्ष पूरा भए, कक्षा ९ मा पढ्दै छन् भने ऋषिराम त्यही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् ।
छोरा हुर्काउँदा र पढाउँदा पाएको दुख बहिरा अपांगता भएका अभिभावकले नपाऊन् भन्ने अभियानमा छन् ऋषिराम । विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म पढ्ने मञ्जिलजस्तै २ सय ६० जना छन् । उनीहरुलाई पढाउने शिक्षक पनि श्रवण अपांगता भएकाहरु नै छन् । ऋषिरामले पनि विद्यालयमा पर्ने समस्या सांकेतिक भाषाबाट नै हल गर्ने गरेका छन् । सांकेतिक भाषा तालिम लिएकै कारण आफूले सहजै काम गर्न सक्ने भए पनि धेरै अभिभावकले त्यसो गर्न नसक्ने उनी बताउँछन् । अभिभावक र बहिरा छोरा छोरीबीचको भाषा नबुझ्ने कारण बोझ ठान्ने गरेको पनि उनले सुनाए ।
श्रवण अपांगता भएका बालबालिका र अभिभावकलाई सहज गराउनका लागि उनको पहलमा डिजिटल सांकेतिक पाठ्यसामग्री तयार गरिएको छ । गण्डकी प्रदेशको आर्थिक सहयोग, शिक्षा तालिम केन्द्र तनहुँको संयोजन तथा सिर्जना बहिरा आवासीय मावि पोखराको समन्वयमा निर्माण गरिएको सामग्रीको मंगलबारबाट प्रयोगमा ल्याइने भएको छ । पौडेलले बहिरा बालबालिकाका लागि नेपालमै पहिलो पटक आफूहरुले डिजिटल सामग्री निर्माण गरी बालबालिकाहरुको पठनपाठनमा नयाँ प्रयोगको चरणमा रहेको पनि बताए । यसले अभिभावकमा थोरै भए पनि श्रवण अपांगता भएका छोराछोरीमा हेर्ने नजर परिवर्तन हुने उनको विश्वास छ । साथै अध्ययनअध्यापनमा पनि सहज हुने उनको भनाइ छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काको उपस्थितिमा मंगलबार शिक्षा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटलाई हस्तान्तरण गरिएको हो । प्रदेश सरकारको १० लाख लागतमा सिर्जना बहिरा विद्यालयले बहिरा विद्यार्थीहरुका लागि कक्षा १ को सबै विषयहरु (मेरो नेपाली, गणित, अंग्रेजी र हाम्रो सेरोफेरो) विषयलाई डिजिटलाइज्ड अर्थात प्रविधिमैत्री बनाइएको छ । यसले शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत शिक्षण सिकाइमा प्रत्यक्ष लाभ मिल्ने विश्वास गरिएको छ ।
कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले सांकेतिक भाषाको संरक्षण, विकास र प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । संविधानमा मौलिक हकको रुपमा सांकेतिक भाषामार्फत कानुनबमोजिम निशुल्क शिक्षाको व्यवस्था गरिएको जनाउँदै उनले यसतर्फ आफ्नो अधिकार उपभोग गर्ने सवालमा थप चनाखो बन्न पनि सुझाए । यस्ता प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । कार्यक्रममा मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले श्रवण अपांगता भएका बहिरा बालबालिकाको सिकाइका खातिर गतिलो सुरुआत भएको बताए । यसको उपयोगमार्फत् बालबालिकाको शिक्षामा महत्वपूर्ण उपलब्धिको अपेक्षा गर्न सकिने उनले बताए ।
शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपालहरि रानाभाटले देशभरिका बहिरा विद्यार्थीका लागि सांकेतिक डिजिटल सामग्रीको तयार गरी गण्डकी प्रदेशबाट राम्रो सुरुआत गरिएको बताए । उनका अनुसार अटिजम प्रभावित बालकालिकाका लागि सिकाइ सामग्री तयार गर्न साढे १५ लाख, दृष्टिविहीन बालबालिकाका लागि सिकाइ सामग्री तयार गर्न अमरसिंह माविलाई ३३ लाख र बहिरा बालबालिकाका लागि सिर्जना बहिरा विद्यालयलाई १० लाख प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width