पर्यटन व्यवसायी आन्दोलनमा : निषेधाज्ञाबीच खोप माग्दै धर्ना

आदर्श समाज सम्वाददाता
असार २२, २०७८
no vaccine no tourism

पोखरा। कोरोना महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो, पर्यटन । पर्यटकीय नगरी पोखराको पर्यटन पनि डेढ वर्ष लामो कोरोना महामारीले थलिएको छ । यहाँका पर्यटन व्यवसायीले समग्र पर्यटन क्षेत्रमा ५ खर्ब लगानी गरेका छन् । कोभिड महामारीका कारण संवेदनशील क्षेत्र पर्यटनको यति ठूलो लगानी डुब्ने खतरा छ ।
जिल्ला प्रशासनले पछिल्लो समय २ महिना लामो निषेधाज्ञा खुकुलो बनाउँदै तोकिएका बाहेक अन्य पसल व्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ । तर पोखराका पर्यटन व्यवसायीले खोप नआए पर्यटन क्षेत्र नखोल्ने अडानमा छन् । उनीहरुको एउटै नारा अघि सारेका छन्–नो भ्याक्सिन, नो टुरिज्म ।
यसैक्रममा पर्यटन व्यवसायको पुनरुत्थानका लागि पोखराका पर्यटन व्यवसायीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापनपत्र पठाएका छन् । उनीहरुले खोप माग गर्दै विभिन्न नाराअंकित प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय अघि सोमबार बिहान शान्तिपूर्ण धर्नासमेत दिएका छन् । लेकसाइडको अम्बोटमा भेला भएका व्यवसायीहरु ¥याली प्रदर्शन गर्दै सहिदचोकस्थित सिडिओ कार्यालय पुगेका थिए । निषेधाज्ञाको बीचमा पनि यसरी व्यवसायीहको ठूलो संख्या सिडिओ कार्यालयमा २ घण्टासम्म धर्ना दिएको दृश्य सबैको लागि नौलो देखिन्थ्यो । पर्यटनसम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा भएको धर्नामा सहभागी व्यवसायीहरुले आफूहरु खोपबिना व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।
परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘सरकारको दायित्वभित्र पब्लिक सबैको लागि भ्याक्सिन उपलब्ध हुनुपर्छ । अब पर्यटन क्षेत्र भ्याक्सिनबिना अघि बढ्न सक्दैन । हामीहरुको एकसूत्रीय माग पनि यही हो– नो भ्याक्सिन, नो टुरिज्म ।’
पर्यटन व्यवसायको पुनरुत्थानका लागि पर्यटनमैत्री कार्यक्रम ल्याउनुपर्ने माग गर्दै परिषद् अध्यक्ष भट्टराईको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । परिषद् अध्यक्ष भट्टराईले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात पोखरा र गण्डकी प्रदेशको पर्यटन व्यवसायले लामो समयदेखि कोभिड–१९ को महामारीले क्षति व्यहोर्नु परेको कारण पर्यटनमा भएको लगानी र रोजगारलाई बचाइराख्न सरकारलाई पर्यटनमैत्री कार्यक्रम ल्याउन आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख छ । यस्तै, सरकारबाट ल्याइएका व्यवसाय पुनरुत्थान कार्यक्रमको कार्यान्वयन पक्ष निकै फितलो भएकाले व्यवसायीहरु पलायन र निरुत्साहित हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै निजी तथा बैंक वित्तीय संस्थाहरुको ठूलो लगानी भएको पर्यटन उद्योग व्यवसायको पुनरुत्थानका लागि आवश्यक व्यवस्था गर्नु अपरिहार्य आवश्यकता भएको औल्याएको छ ।
साथै पर्यटन व्यवसायलगायत अन्य व्यवसाय चलायमान बनाउन सर्वप्रथम सरकारले खोप अनिवार्य रुपमा उपलव्ध गराउन ज्ञापनपत्रमार्फत माग गरेको छ । अग्रपंक्तितमा रहेर कार्य गर्ने पर्यटन मजदुर एवं व्यवसायीहरु जोखिममा रहने हुँदा खोप नलगाएसम्म व्यवसाय सञ्चालन गर्न नसकिने उल्लेख गर्दै ज्ञापनपत्रमा विश्व पर्यटन बजारमा सकारात्मक प्रचार गर्न सर्वप्रथम खोप सुनिश्चिता हुनुपर्नेमा जोड दिएको छ । यसैगरी पर्यटन उद्योग व्यवसायलाई जोगाउन र पुनरुत्थान गर्न बजेटमार्फत ल्याएका पुनर्कर्जा कोष र व्यवसाय निरन्तरता कोषको कार्यान्वयन पक्ष सुस्त, झन्झटिलो र बैक वित्तीय संस्थाका कडा शर्तका कारण केही बाहेक अधिकांश व्यवसायीले सुविधा उपभोग गर्न नपाएकाले त्यसको सहजताका लागि आग्रह गरेको छ । व्यवसाय ठप्प हुँदा बैक तथा वित्तीय संस्थाबाट लिएको साँवा ब्याज बुझाउन कठिनाइ भएकाले कर्जाको भुक्तानी तालिकालाई पुनर्तालीकिकरण गर्नुपर्ने विषय पनि स्मरण गराइएको छ ।

नेपाल राष्ट्र बैकले ल्याउने मौद्रिक नीतिमा आगामी आर्थिक वर्ष २०७८÷०७९ मा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा सम्बोधन गरी हरेक बैकले कुल लगानीको ५ प्रतिशत कर्जा सहुलियत व्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने व्यवस्था मिलाउन भनिएको छ । व्यवसायीलाई पलायन हुनबाट जोगाउन पर्यटन व्यवसाय निरन्तरता कोष स्थापना गर्नुपर्ने माग राख्दै पर्यटन उद्योगसँग आवद्ध तथा आश्रित मजदुरको पुनरुत्थान र स्थायित्व प्रदान गर्न र स्वदेशमै जीविकोपार्जन गर्नका लागि आवश्यक पर्ने राहत प्याकेजका साथै पर्यटन मजदुर जीवनरक्षा कोषको स्थापना गरी पुनरुत्थानका कार्यक्रमलाई अगाडि बढाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
सो अवसरमा पर्यटन बोर्डका सदस्य विप्लव पौडेल, पूर्व सदस्य बासु त्रिपाठी, टीकाराम सापकोटा, आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकी संयोजक अग्नि कँडेल, परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का सल्लाहकार देवका पहारीलगायत पर्यटनसँग सम्बद्ध संघसंस्थाका प्रतिनिधिले पर्यटनका समसामयिक समस्याबारे जानकारी गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ थानेश्वर गौतमले पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्न आफूले सहजीकरण गर्ने आश्वासन दिए । सो टोलीले नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरी भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई समेत भेट गरेर ज्ञापनपत्र बुझाएका छन् ।
परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार यस क्षेत्रका पर्यटनसम्बद्ध व्यवसायी, मजदुर, कर्मचारी लगायतका लागि करिब २५ हजार हाराहारीमा कोरोना खोप आवश्यक छ ।
कोरोना भाइरस संक्रमण कहिलेसम्म रहने हो भन्ने यकीन नभएकाले महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन अझै केही वर्ष कुर्नुपर्ने पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन बताउँछन् ।
पोखराको पर्यटन क्षेत्रमै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरी ६० देखि ७० हजार मानिस आबद्ध छन् । कोरोना कहरले दैनिक १६ करोड घाटा हुनु गरेको परिषद् अध्यक्ष भट्टराईले बताए । पर्यटन क्षेत्रमा होटल तथा रिसोर्ट, रेस्टुरेन्ट तथा बार, ट्रेकिङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्प्युप्मेन्ट सप, इम्ब्रोइडरी एन्ड गार्मेन्ट सप, पर्यटक यातायात व्यवसायलगायत यससँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जोडिएका विभिन्न क्षेत्र पर्दछन् । कास्कीमा असार २५ सम्म कायम निषेधामा गाडीमा जोरबिजोर प्रणाली लागुु गरिएको छ । तर पर्यटनको ठूलो हिस्सा ओगेटेको होटलसहित रेष्टुरेन्ट, पार्टी प्यालेस, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क, स्वीमिङ पुल, स्पा सञ्चालन रोकमा लगाइएको छ । विदेशी पर्यटकमा भर पर्ने पोखराको टुरिजम क्षेत्रमा डेढ वर्षदेखि तेस्रो मुलुकका पर्यटक देख्न पाइएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width