मध्य असारसम्म आधा रोपाइँ पनि सकिएन

धनबहादुर गुरुङ
असार २०, २०७८
news ropai

पोखरा । पोखरा १६ अर्मलाका प्रशान्त आचार्यले मध्य असारमा बल्ल रोपाइँको काम सके । अघिल्ला वर्षहरुमा असार पहिलो साता नै हिलोको काम सक्थे । त्यो बेला खेत हिल्याउन पानीकै समस्या हुन्थ्यो । यो वर्ष समयमै पानी परे पनि असारको काम केही ढिला भयो कारण थियो, खेतमा लगाएको मकै ।
मकै छिप्पिएर रोपाइँ गर्दा असारको काम मध्य असारमा सकिएको उनले बताए । यो वर्ष उनीहरुलाई मकै छर्नै ढिलो भएको थियो । फागुन चैतमा पानी नपरेका कारण ढिला उम्रियो । पहिला जेठको अन्त्यमा पाकेर धानको तरखर गर्ने बेलामा यो वर्ष दूधे नै थियो । ‘फागुन चैत देखि नै पानी नपरेर ढिला भएको हो, पोहोर परार त जेठमै पाकिसक्थ्यो,’ उनले भने, ‘सबै खाली गरेर असारको १÷२ गतेसम्म त धान रोपिसकिन्थ्यो ।’ हरियैमा भाँच्दा घुनकीरा लाग्ने समस्या हुने भएकाले ढिला गरेको उनले जानकारी दिए । ‘नपाकेका स्याहार्न पनि भएन,’ उनले भने, ‘अहिले पानीले बिथल्यो, घरमा ल्याएको मकैमा पनि कीरा लागेर ध्वस्तै छ ।’
प्रशान्तजस्तै अर्मलामा घनश्याम आचार्य र खडानन्द आचार्यको पनि समस्या त्यस्तै छ । उनीहरुको खेतमा मकै अझै पाकेका छैनन् । उनीहरु त्यो खेती स्यारेर बल्ल धान लगाउने ध्याउन्नमा धानमा बीउ बूढो हुने हो कि भन्ने चिन्तामा छन्, उनीहरु । यता कृषि विकास निर्देशनालयका निमित्त निर्देशक वासुदेव रेग्मी पनि मकै खेतीकै कारण यो वर्ष प्रदेशमा धान रोपाइँ कम भएको बताउँछन् । ‘अघिल्ला वर्षभन्दा यो वर्ष धान लगाउने धेरै किसानले खेतमा मकै लगाए,’ उनले भने, ‘खेतको खेती स्याहारेर लगाउँदा यो वर्ष धान रोपाइँ ढिला भएको हो ।’ प्रदेशमा रोपाइँ कम भएको नभई ढिला भएको उनको भनाइ छ । असार १७ गतेसम्म गण्डकीमा ३६ प्रतिशत रोपाइँ भएकोमा यही समयमा अघिल्लो वर्ष ४२ प्रतिशत भएको रेग्मी जानकारी दिए । केही ठाँउमा अहिले बल्ल धमाधम काम भइरहेकाले अबको केही दिनमा बढ्नेको उनको भनाइ छ ।
प्रदेशको १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्र धान खेती हुने भनिए पनि असार १७ सम्म ४३ हजार ४ सय ३५ हेक्टरमा मात्र खेती भएको छ । ११ वटा जिल्ला रहेको गण्डकीको मनाङ र मुस्ताङमा धान खेती हुँदैन । बाँकी ९ जिल्लामध्ये सबैभन्दा बढी नवलपुरमा ५५ प्रतिशत खेती भएको छ । त्यसपछि म्याग्दी र बागलुङमा ५०/५० प्रतिशत रोपाइँ भएको छ । म्याग्दीको बेनी, रघुगंगा, मंगला, धवलागिरी र मालिकाका केही वडालाई धानको प्रमुख पकेट क्षेत्र मानिएको छ भने बागलुङको गल्कोट, निसीखोला, ढोरपाटन, काठेखोला र जैमिनी धानको पकेट क्षेत्र हुन् । सबैभन्दा कम पर्वतमा २० प्रतिशत धान रोपिएको छ । जिल्लाको फलेबास, पैयु र जलजला गाउँपालिको केही क्षेत्र धानका लागि पकेट क्षेत्र मानिएको छ । पर्वतको ८ हजार ९ सय १० हेक्टर क्षेत्रफलमा धान खेती हुने भनिए पनि मध्य असारसम्म १ हजार ७ सय ८२ हेक्टरमा रोपाइँ भएको छ ।
यसैगरी कास्कीमा ३५ प्रतिशत, स्याङ्जा, लमजुङ र स्याङ्जामा २५÷२५ प्रतिशतसहित तनहुँमा ४७.४ प्रतिशतमा धान लगाइएको छ । यो वर्ष पानी समयमै परेको र किसानहरुले खेतको काममै व्यस्त भएका कारण असार अन्तिमसम्म पकेट क्षेत्रमा शतप्रतिशत रोपाइँ हुने उनको भनाइ छ । अघिल्ला वर्षभन्दा अहिले धान उत्पादन बढ्ने उनले जनाए । अहिले मलको अभाव नहुने पनि उनले जानकारी दिए । ‘समयमै पानी परेको छ, मल अभाव पनि अभाव हँुदैन,’ उनले भने, बाढी पहिरो नआउने र सुख्खा खडेरी पनि परेन भने अहिले उत्पादन अवश्य बढ्छ ।’ गत वर्ष ३ लाख ८० हजार टनको हाराहारीमा उत्पादन भएकोमा यो वर्ष ४ लाख टनभन्दा बढी हुने उनको आकलन छ ।
गण्डकी प्रदेशमा ४ लाख टन नै उत्पादन भए पनि प्रदेशका जनतालाई वर्षैभरि यहींको उत्पादले धान्दैन । रेग्मीका अनुसार यहाँ उत्पादित धानबाट २ लाख टनमात्र चामल बन्छ । ‘६८ को जनगणना अनुसार प्रदेशभरि २५ लाख जनसंख्या छ, अहिले बढेर २७ लाखको हाराहारीमा पुगिसक्यो होला,’ रेग्मीले भने, ‘एउटा मानिसले १ वर्षमा २ सय १ किलो खाद्यान्न खान्छ, यसरी यहाँको उत्पादनले कहाँ पुग्छ ।’ प्रदेशमा चामलका लागि बाहिरी जिल्लाकै भर भए पनि पछिल्लो समय धान खेतीतर्फ किसान आकर्षित भइरहेको उनले जानकारी दिए ।
सबैभन्दा बढी कास्कीमा २६ हजार ८१ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लाको ठुलीबेंसी, आर्वा, टाकान्जा, पामे, लेखनाथ, लाचोक, घाचोकलाई धानको पकेट क्षेत्र मानिएको छ । त्यसपछि भने नलवपुरमा २० हजार ६ सय ७० हेक्टरमा धान लगाइन्छ । उत्पादनका हिसाबले भने नवलपुर अग्रस्थानमा छ, त्यसपछि कास्की र स्याङ्जामा बढी उत्पादन हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width