बिना विभागीय मन्त्री जिल्लातिरै व्यस्त

प्रकाश ढकाल
असार २०, २०७८
Dipak Harisharan

पोखरा । सत्ता समीकरणमा कुरा नमिलेपछि बिना विभागीय मन्त्रीको सपथ खाएका २ मन्त्रीहरु मन्त्रालय जानै छोडेका छन् । जसपा संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रालय जान छोडेका हुन् । उनीहरु अहिले जिल्ला दौडाहामा छन् । ‘मन्त्रालय कुन हो थाहा छैन । कहाँ गएर बस्ने ? कामको जिम्मा पाए पो हामी पनि एक्टिभ हुन्छौं,’ मन्त्री मनाङे भन्छन्, ‘काठमाडौंका ५ जना बसेर गण्डकीको सरकार गठन हुन्छ त ? मन्त्रालय जिम्मा लाइदिनुपर्‍यो नि ।’ उनले भौतिक पूर्वाधार विकास मन्त्रालय खोजेका छन् । तर यसमा कांग्रेस र माओवादीको पनि दाबी छ ।
‘मैले पहिला काम नभएका ठाउँमा बजेट हाल्थें । हिजो भएको सहमति भौतिक मन्त्रालयमा हो । खै दिँदैनन्,’ उनले भने, ‘संसद भंग गर्नुहुन्न भनेर पो म फसें । नत्र त पृथ्वीसुब्बाको मेन मान्छे हुँ । अब केन्द्र र प्रदेशको समस्या भयो । हामीले गर्न खोजिरहेका छौं, केन्द्र सरकारले रोक्यो ।’ सरकारका कारणले जनताले दुख पाएको उनको गुनासो छ । विकासका काममा राजनीति बढी गर्दा बढी समस्या भएको उनले बताए । धेरैको दाबी एउटै मन्त्रालयमा भएपछि भौतिक र अर्थ छोडेर अरु मन्त्रालय भाग लगाउने तयारी थियो । कांग्रेसका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मा लिएका छन् भने माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालय पाएकी छिन् ।
मनाङेलाई तत्कालका लागि खेलकुद मन्त्रालय सम्हाल्न सत्तारुढ गठबन्धनले आग्रह गरेको थियो भने आचार्यलाई भौतिकबाट फुटेको ऊर्जा मन्त्रालय दिइएको थियो । तर दुवै जनाले आफ्नो माग पूरा नहुँदासम्म मन्त्रालयको जिम्मा नलिने अडानमा छन् । अर्का मन्त्री हरिशरण आचार्य ३ दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन् । बजेट बनाउने चटारोका बीच उनको चासो निर्वाचन क्षेत्रमा छ । ‘एक्टिभ रोल भएको भए मन्त्रालय पुग्नैपथ्र्यो । अहिले बाढी पहिरोले गोरखाको पालुङटार क्षेत्र ध्वस्त भएको छ । म यता आएँ,’ उनले भने, ‘पोखरा भएको बेला त मन्त्रालय पुगेकै हुन्छु । मैले लिन चाहेको मन्त्रालयका कर्मचारीहरुसँग बजेट निर्माणबारे सोधखोज गर्छु ।’ आफू मन्त्री भए पनि मन्त्रीको महसुस गर्न नपाएको आचार्यले सुनाए ।
‘हिजो म मोटरसाइकलमा हिँड्थें । अहिले गाडी छ । त्यसबाहेक मन्त्री हुँ भन्ने महसुस भएको छैन,’ उनी भन्छन्, ‘बजेट बनाउँदा सरसल्लाह गरेका छैनन् । कांग्रेसले मात्रै बजेट बनाएको छ । बरु म खोजीखोजी गएको छु, मलाई खोजेका छैनन् ।’ उनले अर्थ मन्त्रालय दाबी गरे पनि पछिल्लो समय २ मन्त्रालय पाउने भएपछि भौतिकबाट फुटेको मन्त्रालय लिन राजी भए । तर अर्की सांसद धनमाया लामालाई मन्त्रीको सपथ नगराउँदासम्म आफूले जिम्मेवारी नलिने उनको अडान कायम छ ।
यता कांग्रेस माओवादी भने बजेटको छलफल सकिएपछिमात्रै मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा छ । अहिले बिना विभागीयलाई कामको जिम्मेवारी दिने र बाँकी मन्त्रीहरु पछि थप्ने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । ‘बजेटमा हाम्रो ध्यान छ । त्यो सकिएपछि मन्त्रालयतिर लागौंला,’ उनी भन्छन्, ‘अहिले भइरहेको टिमबाट काम गरौं भनेका छौं ।’ बजेट समयमा निर्माण गर्न नसक्दा संसद चलेको छैन । प्रतिपक्षी एमाले संसदीय दलले मुख्यमन्त्रीलाई भेटेर छिटो सदन अघि बढाउन ज्ञापनपत्र नै दिएको थियो । २९ गते संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले आफूसँगै थप ४ मन्त्रीलाई मन्त्रिमण्डलमा लगेका थिए । असार ३१ गते हतारमा नीति तथा कार्यक्रम बन्यो । असार १ गते नीति कार्यक्रम पास गरेर बजेट ल्याइएको हो । त्यसपछि रोकिएको सदन अहिलेसम्म चल्न सकेको छैन ।
माओवादीमा मन्त्रीको टुंगो
माओवादीबाट मन्त्री बन्ने नाम करिब टुंगिएको छ । स्रोतका अनुसार रामजी बरालको नेतृत्वमा बागलुङका चन्द्र बुढा र स्याङ्जाका दीपक चर्तिमगर क्याबिनेटमा जानेछन् । माओवादीबाट यसअघि मधुमाया अधिकारी मन्त्री बनिसकेकी छिन् । ‘जुन मन्त्रालय पाए पनि मन्त्रीहरु यताउति हुँदैनन् । ३ जनाको नाम आन्तरिक रुपमा फाइनल भएको छ,’ माओवादी स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले नाम माग्नेबित्तिकै पठाउँछौं ।’ जसपाबाट धनमाया लामा मन्त्री बन्ने पक्का छ । यसअघि भएको सहमति अनुसार ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीले ४/४, जसपा २ र स्वतन्त्र सांसदलाई एउटा मन्त्रालय भाग लगाइएको थियो । तर जिम्मेवारी भने तोकिएको छैन ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width