पुल बगाउँदा आवातजावतमा समस्या

सविन लामिछाने
असार १९, २०७८
tanahun flood

दमौली । रमेश घिमिरे दूध बिक्रीका लागि दिनहुँ दमौली बजार जाने गर्थे । तर अचेल उनी दमौली बजार भेटिन्नन् । ५ वर्षदेखि भैंसीपालन गर्दै आएका उनी दैनिक बिहानसाँझ मोटरसाइकलमै दूध बिक्रीका लागि आउजाउ गर्ने गरेकोमा पुल बगाउँदा अप्ठेरोमा परेका हुन् ।
बुधबार राति परेको अविरल वर्षाले छाब्दी खोलाको पक्की पुल बगाएसँगै रमेश दमौली आवतजावत गर्न नसकेका हुन् । व्यास १, भादगाउँ र व्यास १३, बेलवास जोड्ने पक्की पुल भत्किएसँगै सदरमुकाम दमौली बजारको सहज पहुँच टुटेको हो । १८ वर्ष अगाडि बनेको मोटर गुड्ने पुलबाट आवतजावत गर्ने सर्वसाधारण अहिले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता आइपरेको छ । बुद्धसिं मार्गअन्तर्गत निर्मित पुल भत्किएपछि यातायात सञ्जालबाट ग्रामीण बस्तीको सम्बन्ध टुटेकोले किसानले उत्पादन गरेका कृषि उपज बिक्री गर्न असहज भएको छ । रमेशले भने, ‘बिहान र बेलुका गरे ४० लिटर दुध बिक्री गर्न मोटरसाइकलबाटै दमौली आवतजावत गर्थें तर अहिले पुल बगाएपछि बेच्न जान सकेको छैन।’ उनका अनुसार उत्पादित यति ठूलो परिणामको दूध घरमै दही बनाउन थप्रिएको छ । १ घण्टा पैदल बाटो घुमेर बोकेरै पनि बजारमा बेच्न ल्याउने गरे तापनि यो सधैं सम्भव नरहेको उनले बताए ।
बाढीले पुल भत्काएपछि बेलबास, पोखरीभन्ज्याङ, बेनिकोट, गुदी, मास्दी, धरमपानी, छिपछिपेलगायत देवघाट र बन्दीपुर गाउँपालिकाका ग्रामीण क्षेत्रका बासिन्दाको आवतजावतमा समस्या भएको छ । दैनिक ग्रामीण भेगमा उपभोग्य वस्तु ढुवानी हुन समेत सकेको छैन । पुल भत्किएपछि दैनिक बजार आउजाउसँगै उत्पादित कृषि उपजको बजारीकरण, स्वास्थ्य उपचार सेवा, यातायात, खाद्यान्यलगायत सेवासुविधाबाट वञ्चित हुनु परेको स्थानीय ताराप्रसाद घिमिरेले बताए । उनले भने, ‘जिल्लाको दक्षिणी भेग जानको लागि यहि पुल भएर जानुपथ्र्यो तर अहिले जोखिम मोलेर खोला पार गर्नुपर्छ ।’ भत्किएको पुलबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न थालेपछि बेलवासका स्थानीयवासी मिलेर बाँसको फड्के बनाएको भए पनि त्यसबाट वारपार गर्दा पनि जोखिम रहेको छ ।
सवारीसाधन मार्फत सर्वसाधारणले सहज रुपमा पुलबाट दूध, निउरो, तरकारी लगायतका कृषि उपज बिक्री गर्न जान्थे । तर अहिले सामान बोकी अनि जोखिम मोलेर खोला पार गर्नुपरेको बुद्धसिंह मोटरमार्गका संस्थापक अध्यक्ष यमबहादुर आलेले बताए ।
यस्तै, भादगाउँतर्फका सर्वसाधारण बेलवासमा खानेपानी लिन जाने गर्दथे । तर पुल भत्किएसँगै खानेपानी लिन जान सकेका छैनन् । बाढीपहिराबाट पीडित सर्वसाधारणलाई खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । यसैबीच, एक साताभित्र बेलिब्रिज ल्याउन आफूले पहल गरेको तनहुँ क्षेत्र १ बाट निर्वाचित विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले दाबी गरेका छन् । आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर यसबारे लबिङ गरेको र पुल प्रयोगका लागि अनुमति पाएको श्रेष्ठले बताए । एक साताभित्र तुरतुरे र पालुङटार जोड्ने मस्र्याङ्दी नदीमा राखिएको बेलिब्रिज आइपुग्ने दाबी गर्दै उनले यसका लागि लाग्ने २० लाख रुपैयाँ विपद् व्यवस्थापन प्राधिकरणले सेनामार्फत खर्च गर्ने बताए । पुल खोलाले बगाएपछि २ वडाका अलावा दक्षिणपूर्वी क्षेत्रको लाइफलाइन रोकिंदा दुवै क्षेत्रका सैयौं बासिन्दा प्रभावित भएका छन् । वैकल्पिक व्यवस्थाका लागि नागरिकस्तरमा माग भएको थियो ।
यस्तै, खोला बस्तीतर्फ जान लागेपछि हुने क्षति रोक्न भन्दै व्यास नगरपालिकाले डोजर लगाएर धार पुरानैतर्फ फर्काएको छ । वडा सदस्य चूडामणि दाहालका अनुसार वैकल्पिक यातायातका लागि नगरपालिकाले पनि थप पहल गर्दैछ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width