अन्तिमपटक रोपिन् सरस्वतीले धान

सविन लामिछाने
असार १८, २०७८
tanahun news

दमौली । दुई छोरा छोरीलाई पढाउन बन्दीपुर गाउँपालिका वडा नं ३ तामुङकी सरस्वती थापा डुम्रे बजार झरिन् । बूढा ससुरा, सासूआमा र देवर भएको परिवारबाट टाढिने उनको रहर थिएन, बाध्यता आइप¥यो । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिने नेपाली सेनामा कार्यरत उनका श्रीमानले सपना देखे । छोराछोरीलाई राम्रो शिक्षा दिन बजार झरेकी हुन् उनी । परिवारबाट टाढा भए पनि आफ्नो गाउँघरको कर्म र जिम्मेवारी उनले बिर्सिएकी थिइनन् । असार होस् वा मंसिर कामको बेला सरस्वती गाउँ उक्लन्थिन् । यसपालि पनि पानी पर्न थालेपछि छोराछोरीलाई कोठामै राखेर रोपाइँ गर्न उनी असार १५ मा गाउँ गइन् । मंगलबार र बुधबार रोपाइँ गरेकी उनी बिहीबार रोपाइँ सकेर बेलुका डुम्रे फर्किने सोचमा थिइन् । तर बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनी कहिल्यै फर्किन पाइनन् ।
बिहान अन्दाजी साढे ३ बजे आएको पहिरोमा घरका सबै सदस्य पुरिए । झण्डै १ घन्टापछि स्थानीय गाँउलेले उद्धार गर्ने क्रममा सरस्वतीलाई जीवित भेटेनन् । परिवारका अन्य सदस्य घाइते थिए ।
घटनामा सरस्वती थापाका ६६ वर्षीय ससुरा दिलबहादुर थापामगर, ५८ वर्षीया सासु आमा दाउरीमाया थापामगर र २६ वर्षीय देवर सुवास थापामगर घाइते भएका छन् । घाइतेलाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात पोखरा रिफर गरिएको छ । थापाका देवर सुवासले भने,‘पोहोर गोठमा पहिरो गएको थियो । यसपालि पहिरोले घरै भत्काउँदा आफन्त गुमाउनु प¥यो ।’ पहिरोले सोही ठाउँको अर्को घर भत्किँदा ७० वर्षीया हरिमाया बसेलको पनि ज्यान गयो । एउटै गाउँका २ जनाको मुत्यु भएपछि गाउँ नै शोकमा छ । बन्दीपुरकै ५ नम्बर वडामा पनि ३ घर पहिरोले पुरिएका छन् भने ८ घर विस्थापित भएको गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार ‘१ नम्बर वडामा पनि ८ वटा घर पुरिएका छन् भने १८ भन्दा बढी घर विस्थापित भएका छन् । त्यस्तै जिल्लाकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ । शुक्लागण्डकी नगरपालिका वडा नं ९ स्थित सिम्लेमा पहिरोले पुरिएका २ जनाको जीवितै उद्धार गरिएको छ । एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय नाति विज्ञान भुजेलको उद्धार गरी पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ ।

पहिरोले भुजेलका ९ बाख्रा र १ भैंसी मरेको छ । सोही वडाका टेकबहादुर महतको गोठमाथिबाट आएको पहिरोले १० बाख्रा र १ भैंसी मरेको छ । वडाअध्यक्ष रेग्मीका अनुसार यहाँका ५ घर जोखिममा परेको छ । म्याग्दे गाँउपालिका वडा नं ५ मा पनि पहिरोमा परि बाबु छोरा घाइते भएका छन् । ५ कोठाको ब्लकले बनेको घरमा माथिबाट खसेको पहिरोमा परेर ४५ वर्षीय बुद्धिबहादुर परियार र उनका २५ वर्षीय छोरा रोजन परियार घाइते भएका हुन् । दुवै जनाको भीमाद पोलिक्लिनिकमा उपचार भइरहेको छ । त्यस्तै यता पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग १२ घन्टापछि एकतर्फी सुचारु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका १२ छिर्कने, बन्दीपुर गाउँपालिका १ चिसापानी, डुम्रे, बन्दीपुर गाउँपालिका–५ याम्पामा गएको पहिरोहरु हटाएर एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ । सडकमा पहिरो गएपछि बिहीबार बिहान साढे २ बजेदेखि बिहीबार दिउँसो साढे २ बजेसम्म पृथ्वीराजमार्ग अवरुद्ध भएको र डोजरले पहिरो हटाएर सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रवक्ता युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार सहायक मार्गहरु डुम्रे–बेंशीसहर र खैरेनीटार–भीमाद एवं बुद्धसिंह मार्गमा पनि पहिराले अवरुद्ध बनाएको छ । डुम्रे बेंसीसहर सडक खण्डमा भानु नगरपालिका १ को भन्सार र वडा नम्बर ८ को ५ सय फाँटमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको उनले बताए । ती स्थानमा पहिरोलाई डोजरले हटाउने काम भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width