नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठान : स्रष्टाको शिर उठाउँला ?

असफल गौतम
असार १७, २०७८
Gandaki Pragya

पोखरा। गण्डकी प्रदेशका आयाम गण्डकी बगे जस्तै छन् । तिनै विविध आयामसँग जोडिएको सन्दर्भ हो यहाँको कला, साहित्य र संस्कृति ।
प्रतिभै प्रतिभाको प्रदेश गण्डकीमा नेपाली भाषा साहित्यका जरा आदिकवि भानुभक्त आचार्य जन्मे । कवि शिरोमणि लेखनाथ पौडेल । लोकसंस्कृतिका धरोहर लोककवि अली मियाँ । जनकविकेशरी धर्मराज थापा । वरिष्ठ संस्कृतिकर्मी चेतन कार्की । कविताबाटै पहाड पल्टाउन खोज्ने कालजयी कवि भूपी शेरचन । कविता गाउँका प्रणेता विनोद गौचन । कलमबाटै छुत–अछुतको हुँकार गर्ने मुक्तिनाथ शर्मा, राष्ट्रकवि माधव घिमिरे, ठाडोभाका शिरोमणि भेडीखर्के साइँलालगायत कैंयौं स्रष्टा साधकले जीवनलाई जीवन्त र सार्थक बनाएर छोडे । आजपर्यन्त कैँयौं स्रष्टा साधनारत रहेर प्रदेशको वाङ्मयिक छवि उँचो बनाएको पाइन्छ । त्यसैलाई थप उचाइमा पु¥याउन पोखराको बगरमा रहेको शिक्षा कार्यालयका ३ कोठाबाट असार १ देखि गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो कार्य थालनी गरेको छ । प्रदेश सरकारले प्रतिष्ठानलाई यही मंगलबार बजेट विनियोजन गरेसँगै धेरै स्रष्टा साधकका मनमा आशा र जिज्ञासा पलाएका छन्, के गण्डकी प्रज्ञा प्रतिष्ठानले साच्चै स्रष्टाको शिर उठाउँला ?
हरेक दसैंमा एउटा पुस्तक प्रकाशन नगरी टीका नलगाउने सूर्य खड्का भारतबाट पुस्तक छपाएर आउँदा खर्च सकिएर बिखर्ची भए । तिनै सूर्य खड्का बिखर्ची अहिले गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपतिको खुर्चीमा छन् । प्रजातान्त्रिक धारको राजनीतिबाट पलाएन हुँदै समुत्थानवादको नारा लिएर राष्ट्रिय जनभावना पार्टीको सभापति बनेका उनले ढुंगालाई सभापति बनाउँथे । आफूलाई अरुभन्दा अग्लो बनाउन ट्याक्सीको हुटमा उक्लेर भन्थे, ‘यो ढुंगामा जति राष्ट्रियता, इमानदारिता, सदाचारिता, आस्था र निष्ठा अरु कसैमा छैन; देश त बेइमान, घुसखोर, पाखण्डी र दलालहरुले ध्वस्त पारे ।’ प्राध्यापनबाट अनिवार्य अवकाशपछिको जीवनमा तिनै धुन्धकारीको लालमोहरमा हिजो आफूलाई खर्च जुटाउन पर्ने बिखर्ची आज खर्च बाँड्ने ठाउँमा पुगेका छन् । अब उनमा ढुंगामा जति इमानदारिता र सदाचारिता छ छैन भनेर हेर्ने बेला आएको छ ।
कुलपतिको कुर्चीमा बसेर बिखर्ची हिजो राजनीतिक भागवण्डाले प्रतिभाको सम्मान भएन भन्छन् । आफूले बाँकी जीवनलाई सार्थक बनाएर बाँच्न चाहेकाले कलमबाट संघर्ष गर्ने, खर्च नभएकालाई खर्च दिने र स्रष्टाको शिर उठाउने काम गर्नेछु भन्छन् । कुलपति बिखर्ची नेपालमा प्रजातन्त्र ल्याउन साहित्यकारको ठूलो भूमिका रहेकाले उनीहरुको सम्मान गर्दै अगाडि बढ्ने अभियानमा रहेकाले अन्याय गरे खबरदारी गर्न सुझाउँछन् ।
उता बन्दुक चलाउने, लाहुरे हुने, विदेश जाने, डलर खाने संस्कार छोडेर देशका लागि केही गर्नुपर्छ भन्ने सोचले पाखा पखेराको संस्कार–संस्कृति संरक्षणमा लागेका व्यक्तित्व हुन्, गोरे गुरुङ । खुट्टाको चाल, हातको ताल र कम्मरको भचाइँ मिले नमिलेको हेर्ने कलाका निर्देशक गुरुङले कला पाठशाला चलाएर जीवन गुजारा चलाए । आज उनै गुरुङ प्रतिष्ठानको उपकुलपतिमा आसिन छन् । यद्यपि उनी विधागत मात्र नभएर प्रतिनिधि पात्रका रुपमा उपकुलपतिमा आएको बताउँछन् ।
नृत्य प्रशिक्षकका रुपमा ख्याति कमाएका उनी भाषा, साहित्य र रसको मिश्रण नृत्य भएकाले कुन विषयलाई कुन पाटोबाट अगाडि बढाउने भन्ने विषयमा आफू लागेको बताउँछन् । उनी बोल्नभन्दा धेरैका सुन्न र घरघरका योजनालाई एकद्वार प्रणालीबाट प्रज्ञा प्रतिष्ठानले अगाडि बढाउने बताउँछन् ।

विभिन्न सांस्कृतिक मोर्चामा क्रियाशील पछिल्लो पुस्ताका आशा लाग्दा प्रतिभा मनकुमार गण्डकी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा नियुक्त भएका छन् । प्रतिष्ठानले प्रतिष्ठानको स्थायित्वपछि गण्डकीका ८४ जातिको रहनरहन भेषभुषालाई देखाउने सांस्कृतिक ग्राम निर्माणको लक्ष्य रहेको बताउँछन् । यस्तै, प्रतिष्ठानले बहुसांस्कृतिक उत्सव, भाषिक संरक्षणका लागि प्रशिक्षण, बच्चालाई आफ्नो लक्ष्य अनुरुप अगाडि बढ्न विद्यालय तहबाट कला संस्कृतिको पठनपाठनलगायतका ३८ कार्यक्रम तय गरेको उनी बताउँछन् ।
प्रदेशमा कला संस्कृति पढ्न चाहनेका लागि प्रतिष्ठानले यो वर्ष संगीत र नाटकको पाठ्यक्रम तयारमा रहेको बताइएको छ । केन्द्रमा ३ एकेडेमी रहे पनि प्रदेशमा सबै क्षेत्र हेर्नुपर्ने भएकाले आफ्नो कार्यकाललाई कसरी जीवन्त बनाउन सकिन्छ भनेर विभिन्न संघसंस्थासँग समन्वय गरेर नै प्रतिष्ठान अगाडि बढ्ने जनाइएको छ । श्रेष्ठ भन्छन्, ‘यस प्रदेशका स्रष्टा साधक भोकै मर्नुपर्दैन उनीहरुले भत्ता पाउने छन् ।’
हरेक प्रतिष्ठानका जिम्मेवार पदाधिकारीबाट आश्वासन त धेरैले पाइरहेका छन् । तर अन्य क्षेत्र जस्तै आम वाङ्मयसेवी विश्वस्त हुन सकिरहेका छैनन् । किनकि, समाज विशृङ्खल छ, आफूलाई विभिन्न विद्का रुपमा चिनाउने कर्ण शाक्यले सिङ्गो समाजलाई सकारात्मक चिन्तन गराउँछन्, आमाठकलाई सोच पढाउँछन् । यता फेवाताल मिँचेर सिरानमा होटल चलाउँछन्, निस्केको ढल फेवातालमा मिसाउँछन् । उता महावीर पुन राष्ट्रिय आविष्कार केन्द्र चलाउँछन्, आफूलाई गल्लीको कुकुर हूँ भन्छन् । यता मति बिग्रेर जीवनको गति मिलाउन नसकेकाहरु आफूलाई महान् सम्झन्छन् । टेकेको भुइँ बिर्सेर उचालिए पनि आकाशले थिचेकाले त्योभन्दा माथि जान दिँदैन भन्ने सोच्न भ्याउँँदैनन् । देशमा दासको प्रथा मात्र हटेको हो, हामीमा दासका पनि महादास बन्न पाउँदा रमाउने प्रवृत्ति अझै हटेको छैन । हिजोदेखि भावी पुस्तालाई यही संस्कार उपहार दिँदै आएकाले झट्टै विश्वास गर्ने अवस्था छैन ।
त्थापि, राष्ट्रको अस्तित्व समाप्त गर्न अर्थ व्यवस्थामा, जातिको अस्तित्व समाप्त गर्न संस्कृतिमा र देशको गौरव र गरिमा समाप्त गर्न भाषा, कला साहित्यमा आक्रमण भइरहेका छन् । यसका दोषी हामी नै हौं । आज देशको कला, साहित्य, संस्कार, संस्कृतिमात्र होइन जीवन्त इतिहास समाप्त हुन् हो कि भन्ने डर पछिल्लो पुस्तालाई हुन थालेको छ यस्तो दर्दनाक अवस्थामा ‘असतोमा सत् गमय’ जस्ता ऋग्वेदका कैंयौं ऋचा सुन्दै आएका हामीले असत्यको अन्त्य गर्दै सत्यतर्फ डो¥याउने प्रतिभालाई कहिल्यै उपयुक्त ठाउँमा पाउन सकेनौं, हाम्रो पुस्ताले पाउन सकेन । जसलाई पंक्तिकार जस्ता साहित्यका विद्यार्थीले आफ्नो दुर्भाग्य सम्झेको बेला गण्डकी प्रज्ञा प्रतिष्ठान साच्चै स्रष्टाको शिर उठाउन सफल होस् शुभकामना ।

Related News

सम्बन्धित समाचार

hero news full width