धानखेत डुबानले किसान चिन्तित

आदर्श समाज सम्वाददाता
असार १७, २०७८
tanahun

दमौली । म्याग्दे ६ का दीर्घबहादुर भण्डारीले असार दोस्रो साता ८ रोपनी खेतमा धान रोपे । अहिले उनको धानखेत पूरै डुबानमा छ । वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेपछि उनी चिन्तित छन् ।
मंगलबार रातिदेखि परेको अबिरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले उनको खेत डुबानमा परेको हो । ‘धान रोपेको ४ दिनमै खेत बगरमा परिणत भयो,’ भण्डारी भने, ‘यसपालिको बाढीले रोपेको धान पुरै सखाप भयो । फेरि रोपाइँ गर्न न बिउ छ, न त खेत नै ।’ खेत रोप्दा बिउ र ज्याला गरी २० हजार रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए । उत्पादन हुने धान बेचेर गुजारा टार्दै आएका भण्डारीले यस वर्ष आफैंलाई पनि जीविकोपार्जन गर्न समस्या हुने बताएका छन् । खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमिन पुरानै अवस्थामा फर्काउने कसरी सोच्नसम्म सकेका छैनन् । मंगलबार राति आएको बाढीले खेत बगर बगाएपछि यहाँका १ सय बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।
‘खेत बगर बन्यो,’ अर्का स्थानीय कृषक शिव भण्डारीले भने, ‘धान खेतभरि खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ ।’
वर्षातपछि म्याग्दे खोला खेतमा पसेको उनले बताए । खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उनको गुनासो छ । ‘अब धानको बिउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बिउ रोप्न मिल्दैन,’ उनले भने । उनले धान रोपाइँका लागि झण्डै १० हजारभन्दा बढी खर्च गरे । तर रोपेको एक साता नबित्दै उनको खेत बगर बनेको छ । ‘ट्याक्टरलाई मात्र ७ हजार दिएको छु, रोपार, आली लगाउने खेतला खोज्दा धेरथोर खर्च भयो । आफ्नो दुःखको त कुरै छाडौं,’ उनले भने, ‘लगानी खेरा गयो, बरु त्यो पैसाले बेसाएर खाएको भए ठिक हुने रहेछ ।’
तटबन्ध तथा बाढी रोकथामको अभावमा बर्सेनी बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रुपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने,तत्कालका लागि क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार म्याग्दे, व्यास लगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ । मुचुल्कासहित क्षति विवरण संकलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘वडागत रुपमा क्षति संकलन गर्ने र संकलित विवरण गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेस गर्छौ । अझै क्षतिको विवरण संकलन कार्य जारी छ,’ उनले भने ।
जिल्लामा हालसम्म ४० प्रतिशतभन्दा बढी रोपाइँ भएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads