Worldlink ads

कालीगण्डकी र डाइभर्सन

डा. जगन्नाथ रेग्मी
असार १६, २०७८
Jaga

सप्तगण्डकीका सुशीतल जलप्रवाहले सिञ्चित गण्डकी प्रदेश जलसम्पदाको समृद्ध प्रदेश हो । यो धार्मिक,सांस्कृतिक,प्राकृतिक,पुरातात्विक र पर्यावरणीय दृष्टिले समेत विशिष्ट पहिचान भएको प्रदेश हो । यस प्रदेशको नामसँग जोडिएका सप्तगण्डकी (कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौंदी, बूढीगण्डकी र त्रिशूली ) का सात धाराहरु यस प्रदेशमा शरीरका जीवनप्रदायक नाडीझैं सर्वत्र व्याप्त भएर रहेका छन् । यी सात धाराहरुको समष्टि स्वरुपले गण्डकी प्रदेशको गौरव बढाएको छ । यिनीहरुको उत्पत्ति र प्रवाहका धार्मिक, सांस्कृतिक मान्यता र भौगोलिक विशेषताका आआफ्नै पहिचान छन् । सप्तगण्डकीमध्ये कालीगण्डकी मुख्य नदी हुन् । कृष्णाभा, कृष्णगण्डकी, चक्रनदी, महानदी, सरित्प्रवरा, सदानीरा जस्ता पौराणिक नामले सम्बोधित यस नदीका तटमा दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी (पितृतीर्थ), गलेश्वरधाम, कालञ्जर, (मृगतीर्थ) मोदीबेनी, जैमिनीघाट, रुद्रवेणी, सेतीवेणी, रुरुक्षेत्र, मालुङ्गा (महालिङ्ग धाम) रामदी, केलादी,देवघाट, त्रिवेणी (गजेन्द्रमोक्ष धाम ) जस्ता पावन तीर्थहरु अवस्थित छन् । यस नदीले भौतिक रुपमा हिमाल, पहाड र तराईलाई जोडेको छ भने आध्यात्मिक हिसाबले अनेक धर्म, संस्कृति र परम्पपरको समन्वय गरेको छ । वेद, रामायण, महाभारत तथा स्कन्द, पद्म, गरुड,ब्रद्मवैवर्त, वाराह, विष्णु, नरसिंह, नारदीय, श्रीमद्देवीभागवत, श्रीमद्भागवतमहापुराण लगायतका पौराणिक वाङ्मयका विशाल ग्रन्थहरुमा कालीगण्डकी र यसका तटवर्ती क्षेत्रमा रहेका उपर्युक्त तीर्थहरुको मुक्तकण्ठले वर्णन गरिएको छ भने कश्मीरका महाकवि कह्लणको राजतरङ्गिणी महाकाव्यदेखि लिएर आधुनिक युगका काव्य साहित्यमा समेत कालीगण्डकीको विशेष महत्व प्रकट गरिएको पाइन्छ ।
नेपाल देवभूमि हो र यसका हरेक भूभागमा देवत्वको बास छ भन्ने पौराणिक मान्यता छ । त्यसमा पनि नेपालको गण्डकी क्षेत्र र कालीगण्डकीको महत्ता सर्वोपरि छ । कलियुगका ५ हजार वर्ष बितेपछि पृथ्वीतलका तीर्थस्थलका देवताहरु कालीगण्डकीमा समाहित हुन्छन्, अन्यत्र देवत्वको ह्रास भए पनि कालीगण्डकी र प्रस्रवण भूमि वा शालग्राम क्षेत्रमा देवत्वको कहिल्यै पनि ह्रास हुँदैन (कलौ शेषे तु गण्डकी) भन्ने पौराणिक कथन र धार्मिक विश्वाससमेत छ ।
कालीगण्डकी विश्वकै प्राचीन नदीमध्ये मुख्य नदी हुन् । यस नदीका तटवर्ती क्षेत्रहरुमा अवस्थित गुफाहरु वैदिक कालदेखिका अन्वेषक, साधकहरुका आश्रयस्थल थिए भन्ने कुरा मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, कपिल, देवदत्त, और्व, जैमिनी, व्यास, वाल्मीकि, ऋषभदेव, राजर्षि भरत , रहुगणजस्ता विश्वविश्रुत ऋषिमनीषीहरुसँग सम्बन्धित उपाख्यानहरुले प्रमाणित गर्दछन् । यहाँका विभिन्न वेणी, घाट र आश्रमहरु वर्तमानमा समेत सिद्ध, योगी, सन्त महात्माहरुका साधना क्षेत्र भएको तथ्य यहाँ विद्यमान प्राचीन मठ मन्दिर र कल्पवासका पुरातन स्थलहरुले पनि बताइरहेका छन् । त्यसैले पनि यो भूमि आर्ष सभ्यताको महनीय क्षेत्र हो भन्ने पुष्टि हुन्छ । विश्वमै अन्यत्र कतै नपाइने सर्वदेवमय हिरण्यगर्भ भगवान् विष्णुका अवतार स्वरुप शालग्रामशिला यिनै गण्डकीमा पाइन्छन् । शालग्रामबिना भारतवर्षका चारधामहरु हुन् अथवा संसारका कुनै पनि मठ मन्दिरका पूजा अनुष्ठान सफल हुँदैनन् भन्ने पौराणिक कथनमात्र नभएर यथार्थता पनि हो –
न तीर्थं तीर्थतां याति शालग्रामशिलां विना ।
हव्यकव्येषु समपूर्णां कलां नार्हति तद्विना ।। (गण्डकीमाहात्म्य४/५७ ) ।
अर्थात् शालग्राम विना कुनै पनि तीर्थ तीर्थ कहलाउँदैन र शालग्राम विना देवयज्ञ, पितृयज्ञ पनि पूर्ण सफल हुन सक्दैनन् । यति सम्म कि यस नदीमा देहविसर्जन गर्ने प्राणीको जन्मजन्मान्तरका दुःख पीडा नासिन्छन्, भन्ने गहिरो लोकविश्वास पनि छ । त्यसैले त मृत्यु उप्रान्त देशविदेशबाट मानव अस्तु ल्याएर सेलाउने प्रचलन अद्यापि जीवितै छ ।
आध्यात्मिक हिसाबले मात्र नभएर भौतिक, पुरातात्विक, प्राकृतिक, पर्यावरणीय हिसाबले पनि संसारका अन्य नदीहरुभन्दा कालीगण्डकीको भिन्न पहिचान छ । यो सबैले बोध गरेको विषय हो । शालग्राम शिलालाई देवताका रुपमा नमान्नेहरुका लागि पनि करोडौं वर्ष पहिले टेथिस सागरदेखि हिमाल उठ्ने प्रक्रिया सँगसँगै देखिएका भनिने जीवाश्म (अमोनाइट पत्थर ) को वास्तविकता अन्नवेषणका लागि पनि यो चासोको विषय बनेको छ ।
सन् २००८ मा गरिएको एक अनुसन्धानअनुसार कालीप्रस्रवण क्षेत्र २५ प्रजातिका कीराहरु, १८ प्रजातिका पुतलीहरु, ११ प्रजातिका उभयचर प्राणीहरु, १०५ जातिका चराहरु, २९ प्रजातिका स्तनधारी जनावरहरुको आश्रयस्थल हो ( पन्त २०७६ पृ. ३८९ ) । विद्युत् उत्पादनका दृष्टिले यसका अथाह सम्भावना छन् भने पदयात्रा, चट्टान आरोहण बन्जीजम्प साहसी जलयात्राजस्ता खेल र त्यससँग जोडिएको पर्यटन व्यवसाय देशको आर्थिक मेरुदण्डसमेत बन्न सक्छ ।
गण्डकी प्रदेश अनेक जातजाति,भाषाभाषी, धर्मसंस्कृतिको साझा समन्वयको आदर्श भूमि हो । यस क्षेत्रको सामाजिक, ऐतिहासिक गौरवमय इतिहासतर्फ ध्यान दिँदा सेनकालीन नेपालको सिमाना गण्डकी हुँदै भागीरथीसम्म पुगेको र यस क्षेत्रमा उत्पादित राडी पाखीलगायतका वस्तुहरुले चाणक्यको अर्थशास्त्रमा समेत स्थान पाएको तथ्य भुल्न पनि सकिँदैन । कालीगण्डकीका गर्भमा मात्र नभएर यसको प्रस्रवणका पाखाहरुमा समेत पाइने शालग्रामले हिमालयको उठान तथा नदीहरुको कटानको इतिहास बोकेका छन् । सांस्कृतिक हिसाबले त कालीगण्डकीनन्दन शालग्रामको चरणामृतले भारतको पटनासम्मको भूभाग र त्यहाँका जनतालाई कृतार्थ तुल्याएको छ ।
कालीगण्डकीका तीर्थहरुको दर्शन र जलावगाहनको उत्कण्ठाले बर्सेनि भारतवर्षबाट मात्रै लाखौंको संख्यामा धार्मिक पर्यटकहरु भित्रिने गरेका छन् भने प्रतिवर्ष अन्य मुलुकहरुबाट पनि यहाँ भित्रिने पर्यटकहरुको चाप बढ्दो छ । यसलाई तीर्थ पर्यटनको रुपमा विकास गर्नुपर्ने र यस अन्तर्गतका जैविक विविधताको संरक्षण हुनुपर्ने सामयिक आवश्यकता हो । यसैगरी गण्डकीको महत्वबोध गरी यसलाई पूर्वीय दर्शन र भौगोलिक अध्ययन अनुसन्धानको विषय एवं पर्यटन प्रवद्र्धनको मुख्य केन्द्र बनाउन सकिन्छ । यिनै धार्मिक,सांस्कृतिक,भौगोलिक वैविध्यका कारण गण्डकी क्षेत्र विश्वका पर्यटकहरुको प्रमुख गन्तव्य बनेको हो ।
पछिल्लो समयमा एकातिर जलवायु परिवर्तनका प्रभावले यस नदीको स्वरुपमा परिवर्तन आएको छ भने अर्कातिर सप्तगण्डकीको मूल स्रोत कालीगण्डकीको अतिदोहनले यससँग जोडिएका विभिन्न सम्पदाहरु संकटका अवस्थामा पुगेका छन् । त्यसैमा पनि विकासका नाममा कालीगण्डकीको मूलधारलाई सुनियोजित ढंगले रामदीदेखि डाइभर्सन गरेर तिनाउनदीसम्म पु¥याउन प्रपञ्च रचिएको छ । केही दिन अगाडि उक्त आयोजनाको कार्यालयसमेत उद्घाटन गरिएको छ । उक्त आयोजना राजनीतिक स्वार्थ र राष्ट्रघाती आयोजना हो भन्ने विश्लेषकहरुको तर्क छ । नेपथ्यभित्र र बाहिर जे जे होस्, कथित आयोजनाले समस्त गण्डकी प्रदेशका जनताको आस्थामा ठूलो चोट पु¥याएको छ । नेपालको मात्र नभएर विश्वकै आकर्षणको विषय बनेको र सिंगो मानव सभ्यताको प्रतिनिधित्व गर्ने प्राचीन नदीको मूलधारलाई अप्राकृतिक तबरले बङग््याउनु भनेको प्रकृतिको नियम विपरीत चल्नु हो । आर्ष सभ्यतामाथिको आक्रमण हो, हामी हाम्रै गौरवमय इतिहासलाई बिर्सिएर कृतघ्न हुनु हो, अभैm भनौं यस क्षेत्रको जनजीवनलाई प्राणहीन तुल्याउनु हो । यस आयोजनाबाट जैविक विविधताको नाश ( पर्याप्त पानी र नैसर्गिक वातावरणको अभावमा जलचर स्थलचर प्राणीहरुको लोप हुने सम्भावना ) तटीय क्षेत्रका ऊर्वर फाँटहरु मरुभूमि बन्ने, धार्मिक तथा अन्य पर्यटकहरुमा विकर्षण पैदा हुने, पर्यावरणको सन्तुलन बिग्रने, तटीय क्षेत्रमा रहेको कल्पबास संस्कृति हराउने, विश्वकै आकर्षण र खोजको विषय बनेको शालग्रामको अस्तित्व मेटिने, तटवर्ती सम्पदाहरु संकटमा पर्ने, पर्यावरण खल्बलिने जस्ता दूरगामी असरहरु पर्ने निश्चित छ, गण्डकी प्रदेशको पहिचान नै गुम्ने खतरा छ । यही वस्तुसत्यलाई मध्य नजर गरी मिति २०७८÷३÷१४ गते गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा सम्पन्न विभिन्न संघ, संस्था, नागरिक समाजसहितको सर्वदलीय, सर्वपक्षीय बैठकद्वारा उक्त योजना सदाका लागि रोक्न भएको प्रतिबद्धता र निर्णयले आशा जगाएको छ । तर पनि यस योजनालाई रद्ध गराउन र गण्डकी सम्पदालाई जोगाउन आआफ्ना स्वार्थबाट माथि उठेर नागरिक स्तरबाट पनि अतिक्रमणलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्छ । सदियौंदेखिको जनजीवनस“ग धर्मसंस्कृतिस“ग पर्यावरणस“ग अन्योन्याश्रित सम्बन्ध राख्ने कालीगण्डकीको प्राकृत स्वरुपलाई कुनै पनि पक्षबाट जोगाउनुपर्छ । यस नदीको सदुपयोग र संरक्षणका विविध आयामहरुमा आधार तहका जनतालाई अविलम्ब सुसूचित गर्नुपर्छ । गण्डकी प्रदेशका समस्त जनसमुदाय समवेत स्वरुपमा अगाडि बढ्नुपर्दछ । अन्तमा पंक्तिकारकै धवलागिरि खण्डकाव्यबाट एक अंश –
पर्यावरणको नाश उल्टै आफ्नो विनाश हो ।
भोलि पक्का रुनै पर्छ आज व्यर्थै नहाँस भो ।।

लेखक साहित्यकार तथा गण्डकी सम्पदाका अनुसन्धाता हुन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग