साढे ५ सय किसान लाभान्वित

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
undp

स्याङ्जा । पुतलीबजारमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत मंगलबार सरोकारवालाबीच समीक्षा भएको छ । नगरप्रमुख सीमा क्षत्रीले परियोजनाले पुतलीबजारमा राम्रो प्रभाव पार्न सफल भएको बताइन् । उनले राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलन सबै सकिएकाले अब नगर समृद्धतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिइन् । गरिबी र कोभिडलाई जित्न व्यावसायिकतामा जोड दिनुपर्ने बताउँदै प्रमुख क्षत्रीले यस्ता कार्यक्रमलाई नगरपालिकाको साथ, सहयोग र निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, युएनडिपीका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, नेकपा एमाले नगर अध्यक्ष तारा शर्मा, नेपाली कांग्रेसका नगर सभापति वेदप्रसाद दोरंगा, राष्ट्रिय प्रजातन्त्र पार्टीका महिला संघ प्रमुख पूर्णकुमारी गुरुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालय प्रमुख माधव लम्साल, सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ, सचिव रमेश गोदार, च्याम्बर अफ कमर्शका पिताम्बर गौतम लगायतले कार्यक्रमको क्षेत्र बढाउँदै निरन्तरता दिनुपर्ने बताए ।
कोभिडका कारण प्रभावित परिवारलाई लक्षित गर्दै सञ्चालित परियोजना पुतलीबजार १४ वडामा सञ्चालन गरिएका थिए । कृषिका माध्यमबाट आयआर्जनमा जोड दिने उद्देश्यले सञ्चालित करिब एकवर्षे कार्यक्रमको समायावधि समीक्षासँगै सम्पन्न भएको परियोजना संयोजक एलिना ढकालले जानकारी दिइन् । १ करोड ९४ लाखको बजेट रहेको परियोजनाबाट ५ सय ३९ जना किसान लाभान्वित भएको जनाइएको छ । परियोजनाअन्तर्गत तरकारी नर्सरी, नमुना गड्यौला मल उत्पादन प्लान्ट, कृषि यान्त्रिकरण मर्मत, तेलहन बाली प्रवद्र्धन, उत्पादनमा आधारित अनुदान कार्यक्रम, व्यावसायिक बाख्रापालन, स्थानीय कुखुरा उत्पादन केन्द्र, सुन्तलाको बोक्राबाट जुस बनाउने तालिम, कस्टम हाइरिङ सेन्टर, नवीन सोच लगायतका क्षेत्रमा काम गरेको संयोजक ढकालद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
पुतलीबजार नगरपालिका र युएनडिपीको आर्थिक सहयोग तथा सूर्योदय क्लबकोे व्यवस्थापनमा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width