डिजिटलाइजेसनले आर्थिक क्रियाकलापमा बढोत्तरी : अर्थमन्त्री

आदर्श समाज सम्वाददाता
असार १६, २०७८
News artha mantri 1

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु गरेको बताएका छन् ।
मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रम वेविनारमार्फत उद्घाटन गर्दै उनले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताए । उनले कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गरे । डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाइ छ । उनले उद्यमशीलता वृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग गरेको बताए । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुरा डिजिटलाइजेसन भएको उल्लेख गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसनलाई महत्व दिएको बताए । उनले समय बदलिएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए । देशमा आर्थिक सवलीकरणका लागि वित्तीय साक्षरताको महत्व र आवश्यकता धेरै रहेको भन्दै वित्तीय क्षेत्रमा मिडिया इन्टरनेसनलले गरेको सहयोगको प्रशंसासमेत गरे ।

अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बिमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको बिस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बिमा शिक्षालाई समुदायस्तरमा फैलाउँदै लगेको भन्दै बिमा क्षेत्रबारे भर्खर मानिस जानकार हुन थालेको बताए ।
कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्त लम्साल, संघका महासचिव रामबहादुर यादव, जीवन बिमा संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श उद्योग समितिका सभापति भीम पौडेल, हिमालय सीमापार व्यापार संघका उपाध्यक्ष नयनबहादुर पण्डित क्षत्री, वागमती प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का सिइओ नीलेशमानसिंह प्रधान, नेपाल कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे लगायतले आर्थिक सवलीकरण र वित्तीय साक्षरताको क्षेत्रमा मिडिया इन्टरनेसनलले खेलेको भूमिकाको प्रशंसा गरे ।
बैंक, वित्त, बिमा, तथा पुँजी बजारको क्षेत्रमा वित्तीय जागरण ल्याउने कार्यमा सक्रिय मिडिया इन्टरनेसनल सक्रिय रहेको अध्यक्ष माधव निर्दोषले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width