आएनन् रोपार, फर्काइयो दही चिउरा

धनबहादुर गुरुङ
असार १६, २०७८
Asar 15 Jogmaya 1

पोखरा । पोखरा १६ अर्मलाको एउटा गरामा लामाचौरकी ६० वर्षीया जोगमाया गुरुङ एक्लै धान रौप्दै थिइन् । उनको नजिकै उनीसँगै काम गर्ने त परैको कुरा गफ गर्नेसम्म कोही थिएनन् । रोडमा हुँइकिएका सवारीका आवाजसँग रमाउँदै एक्लै छुपुछुपु धान रोप्न तल्लीन देखिन्थिन् । बोलाएका रोपार नआएपछि बेलुका ७ बजेसम्म त सक्छु भनेर कस्सिएकी हुन् उनी ।
अर्मलाफाँटको ५ हल खेत असार ५ गते नै रोपेर सकेका थिए । ब्याड र पानी अभावले बाँकी रहेको खेत मंगलबार रोप्ने मनसायले श्रीमान् र उनी खाना खाइवरी घरबाट निस्किए । अघिल्लो दिन नै उनले २ जना रोपारलाई मेलोमा आउन खबर गरेकी थिइन् । उनलाई असार १५ भन्ने थाहा थियो । घरबाट निस्कनु अघि दही, चिउरा, चिया अनि केही खाजा लिएर निस्किइन् । हलगोरु अभावका कारण ट्रयाक्टरले जोतेर सकेपछि श्रीमान्ले बाउसेको काम सकिसक्दा पनि रोपारहरु आएनन् । केही ढिलासम्म आउलान् कि भनेर कुरेर बसे तर आएनन् । त्यसपछि हिल्याइएको २ वटा गरा एक्लैले सक्छु भन्ने आँट गरिन्, जोगमायाले ।
घरबाट ल्याएको दही चिउरा रोपार नआएपछि श्रीमान्को साथमै फर्काइदिइन् । चिया र केही खाजा भने आफैंले राखिन् । ‘दुई जना रोपार हिजो डाक्दा आउँछु भनेका थिए, आज आएनन्,’ उनले भनिन्, ‘उहाँहरुको आफ्नै काम थियो होला ।’ रोपार नआएकोमा भने गुनासो थिएन । असार १५ को दिन खेतालासँगै बसेर दही, चिउरा खाने धोको भने पूरा भएन । असार महिना सधैं चटारो भए पनि १५ गते भने दही, चिउरा खाने खुवाउने गरेर मनाउने गरेकी थिइन् । ‘पहिला पहिला त १५ असारमा बजारबाट हिलो खेल्ने भन्दै आउँथे,’ उनले भनिन्, ‘पोहर र अहिले त कोरोनाले होला आएकै छैनन् ।’ केही वर्ष पहिले पोखरा पर्यटन परिषद्ले अर्मला फाँटमा आयोजना गरेको रोपाइँ महोत्सव उनले सम्झिइन् । ‘त्यो बेला मेला नै लागेको थियो,’ उनले सम्झिइन्, ‘बाजा बजाएर, हिलो खेल्दै, जोत्दै, रौप्दै निकै रमाइलो गरेका थिए, गोरागोरीहरु पनि आथे ।’ गतवर्षबाट पर्यटन परिषद्ले रोपाइँ महोत्सव गरेको छैन । कोरोनाले गर्दा पहिलाको जस्तो रौनक नरहेको उनले स्वीकारिन् । यो वर्ष त झन् उनले घरबाट ल्याएको दही चिउरा नै फर्काउनुपर्‍यो ।

रोपार नआएकोमा भने गुनासो थिएन । असार १५ को दिन खेतालासँगै बसेर दही, चिउरा खाने धोको भने पूरा भएन

अर्मलाको फाँटमा २ ठाँउमा गरी उनले १२ हलको खेत अधिँया गर्छिन् । बाह्रै हलमा जेठोबुढो धान लगाउँछिन् । वार्षिक ३० मुरी धान फलाउँछिन्, उनको भागमा १५ मुरी पर्छ । उनको ३ जनाको परिवारलाई पुग्ने ५ मुरी धान राखेर १० मुरी बेच्दा उनले वार्षिक ५० हजार कमाउँछिन् । उनको सबै गरेर २० हजारभन्दा बढीको लगानी लागेको हुन्छ । तर पनि उनी वर्ष दिनमा केही दिन असार गर्न पाउँदा खुसी नै छिन् । अहिलेसम्म खेत रोप्नका लागि खेतालाको अभाव नभएको उनको भनाइ छ । यसरी नै विकास हुँदै जाने हो भने खेतालाको अभाव हुन सक्ने उनको आकलन थियो । ‘आजमात्रै हो आउँछु भनेर नआएको, १२ हल रोप्दासम्म रोपार आएकै हुन्,’ उनले भनिन्, ‘हलो त हराउँदै गएको छ, अब केही वर्षमा रोपार पाउन पनि मुस्किल पर्लाजस्तो भो ।’ उनले सबै खेत ट्रयाक्टरले नै जोताएका हुन् । ५ हलको खेत १ घन्टामै जोतेर सकिने हुँदा प्रविधिमा उनको विश्वास छ । ‘ट्रयाक्टरले छिटो र सजिलो त हुन्छ, तर महँगो पर्न जान्छ,’ उनले भनिन्, ‘यो ५ हलको खेत जोत्दा ८ हजार लाग्यो ।’ श्रीमान् र छोरा बाहिरी काममा लागे पनि उनको काम भैंसी, बाख्रा, कुखुराको स्याहार गर्ने नै हो । असारको महिना अझै केही वर्ष आफूले सक्दासम्म अधियाँ धान नै लगाउने उनको सोच छ ।

असारसम्म १५ प्रतिशत रोपाइँ
राष्ट्रिय धान दिवस मनाउँदै गर्दा गण्डकी प्रदेशमा १५ प्रतिशत रोपाइँ सकिएको छ । चालु वर्षमा समयमै मनसुन भए पनि प्रदेशका ९ जिल्लामा १५ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गतवर्ष यही अवधिमा ३५ प्रतिशत रोपाइँ भएको थियो ।
प्रदेश कृषि निर्देशनालय पोखराको गत बुधबारसम्मको रिपोर्ट अनुसार १ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । जसमध्ये १७ हजार ७ सय ९८ हेक्टरमा मात्र धान रोपिएको छ । प्रदेशको सबैभन्दा बढी म्याग्दीमा ४२ प्रतिशत रोपाइँ भएको छ । कास्कीमा भने २५ प्रतिशत काम भएको छ । कास्कीको पामे, लेखनाथ, आर्वा, टाकान्जा, ठूलीबेंसी, लाचोक, घाचोकलगायत फाँटलाई धानको पकेट क्षेत्र मानिएको छ ।
प्रदेशको मनाङ र मुस्ताङमा धान खेती हुँदैन । यसैगरी तनहुँमा २८, लमजुङमा १०, पर्वतमा ११, गोरखामा ६, नवलपुरमा ७, स्याङ्जामा ८ र बागलुङमा १० प्रतिशत क्षेत्रमा धान खेती भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width