फिफाको ‘ड्रिम प्रोजेक्ट’ कोरोनाले बिथोल्यो

धनबहादुर गुरुङ
असार १६, २०७८
ANFA Dream Project Photo 0

पोखरा । विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै सबैभन्दा ठूलो लगानीको प्रोजेक्ट अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दियो । फिफाको ड्रिम प्रोजेक्ट एन्फाले कास्कीको भिडाबारीमा बनाउने योजना अगाडि बढायो । उक्त स्थानको एन्फा टेक्निकल टिमले स्थलगत निरीक्षणसमेत गरेर भ्याए । सबै तरिकाले उक्त स्थल प्रोजेक्टका लागि योग्य ठहरिँदै मिनी रंगशालासहितको ‘एन्फा टेक्निकल सेन्टर’ का लागि डिपिआरसमेत तयार भयो ।
आयोजनाको लागि गत पुस ३ मा भिडाबारीमै वातावरणीय प्रभाव मूल्यांकन (इआइए)अन्तर्गत सार्वजनिक सुनुवाइ भएको थियो । सुनुवाइमा स्थानीयले टेक्निकल सेन्टर आफ्नै क्षेत्रमा बन्नुपर्नेमा जोड दिए । उनीहरुले प्रस्तावित अन्तर्राष्ट्रि स्तरको टेक्निकल सेन्टर बनाउनुपूर्व स्थानीयसँग समन्वय र सहकार्य गर्नुपर्ने, प्रस्तावित क्षेत्रको दुवैतिर खोला रहेकाले दुवै खोलामा गुणस्तरीय बाँध बनाउनुपर्ने, फोहोर व्यवस्थापन विषय कार्यान्वयन गर्दै स्थानीय स्रोतसाधन प्रयोगसहित रोजगारको व्यवस्था हुनुपर्ने माग गरेका थिए । २०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि २०७८ लागिसक्दा टेन्डर आह्वान हुन सकेको छैन । आफ्ना केही माग राख्दै आफ्नै ठाउँमा उक्त आयोजना बन्नुपर्ने बताएका स्थानीय ६ महिना बितिसक्दा पनि शिलान्यास नहुँदा अचम्मित छन् । केही आयोजना अन्त कतै सरेको हो कि ? भनेर आशंका गर्न थालेका छन् । २०७६ सालमा नेपालले प्रोजेक्ट पाएसँगै कास्कीमा बनाउने योजना अघि बढेको थियो ।
फुटबलको मात्र नभई स्थानीयस्तरमै विकासका गर्ने अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिने उक्त प्रोजेक्टको सपना देखेका स्थानीय पनि कहिले बन्छ भन्ने आशामा बसिरहेका छन् ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा भने कोरोनाका कारण काममा ढिलाइ भएको बताउँछन् । पहिलो चरणको इआइए सकिए पनि दोस्रो चरणको कामका बेला लकडाउन भएपछि समस्या परेको उनले बताए । ‘इआइएको काम बाँकी हो, हामीले फाइल वन तथा वातावरण मन्त्रालयमा पठाइसकेका छौं,’ उनले भने, ‘इआइए स्वीकृत भएर आएपछि फिफामा पठाउँछौं, अनि टेन्डरको काम अगाडि बढ्छ ।’ कोरोनाका कारण केही ड्रिम प्रोजेक्टअन्तर्गतको काम आफूहरु लागिपरेको अध्यक्ष शेर्पाले जानकारी दिए । ‘काम भइरहेको छ, केही समय अगाडि पोखरा गएर खोलाको तटबन्धका लागि प्रदेश सरकारसँग ३ करोड छुट्याउन लगाएको छु,’ उनले भने । फिफाको ड्रिम प्रोजेक्ट भिडाबारीमै बन्ने र लकडाउन खुलेपछि कामले निरन्तरता पाउने उनले बताए ।

२०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि २०७८ लागिसक्दा टेन्डर आह्वान हुन सकेको छैन

अघिल्लो वर्षमै शिलान्यास गरी काम सुरु गर्ने योजना भए पनि कोरोनाले सम्भव नभएको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । कोरोना भाइरसले २ वर्ष बिथोलिदिँदा काम गर्न नसकिएको उनको भनाइ छ । ‘सबैको साथ सहयोगले काम अगाडि बढिरहेको थियो,’ उनले भने, ‘लकडाउन नभएको भए टेन्डर भइ काम सुरु भइसक्थ्यो ।’ उक्त प्रोजेक्टमा स्थानीयको राम्रो साथ पाएको उनको भनाइ छ ।
फिफाको ड्रिम प्रोजेक्ट एन्फाले ४ चरणमा काम सक्नेछ । पहिलो चरणको कामका लागि १७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पहिलो चरणमा अभ्यास मैदान, छात्रबास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षागार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, २ कृत्रिम मैदान, २ बालुवा मैदान, स्विमिङपुल, रेस्टुरेन्ट, पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।

गाउँपालिकाको साथ
प्रोजेक्टको शिलान्यास नभए तापनि माछापुच्छ्रे गाउँपालिकाले खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाँध लगाउने काम सुरु गरिसकेको छ । करिब ५ सय रोपनी जग्गामा बनाउन लागेको फिफाको ड्रिम प्रोजेक्टमा गाउँपालिकाले समेत सहयोग गरेको हो ।
उक्त जग्गा जोगाउन एक छेउमा करिब १ किमीसम्म रिटर्निङ बाल (बाँध) लगाउन आवश्यक थियो । रिटर्निङ बाल लगाउने काम गाउँपालिकाले गरेको छ । २ सय ५० मिटर बाल लगाउने काम गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । बाँकी बाल लगाउन प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ । ‘यो एउटा राष्ट्रिय गौरवकै आयोजना हो,’ उनले भने, ‘यसका लागि रिटेर्निङ बाल, जग्गाको सहजीकरण र अन्य सहयोग पनि गरिरहेका छौं ।’

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width