बाँझो जमिनमा कृषि वन प्रवद्र्धन

आदर्श समाज सम्वाददाता
असार १५, २०७८
ban diwas

पोखरा । पोखरा १६, अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा बिस्तार गर्ने अभियान थालिएको छ । परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकता दृष्टिगत गर्दै डिभिजन वन कार्यालय कास्की र स्थानीय समुदायको समन्वयमा सो क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन गर्न लागिएको हो ।
लामो समयदेखि बाँझो सो क्षेत्रको ५ सय रोपनी क्षेत्रफलको निजी जग्गामा अलैंची, कागती, टिमुर, निवुवा, कफी, सुन्तला, पाउलोनिया, आँप, एभोकाडो, किवी, लिची, तेजपात, अनारलगायत १ लाखभन्दा बढी बिरुवा रोपिएको छ ।

कृषि वन कार्यक्रम पकेटक्षेत्र अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालशोभा गुरुङका अनुसार नेपाल सरकारको वृक्षरोपण १० वर्षे रणनीति अनुसार २०७३ सालमा ५ हजार अलैंचीका बिरुवा रोपेर अभियान सुर गरिएको हो ।

कुरदेखि, डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५ सय रोपनी जग्गामा प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरुवा क्रमिकरुपमा रोप्दै आएको उनले बताए । साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको छ ।

डिभिजन वन कार्यालय कास्कीले निशुल्क बिरुवा उपलव्ध गराउनुका साथै ढुवानीको समेत व्यवस्था एवं खाल्टा खन्न समेत आर्थिक सहयोग गर्दै आए पनि स्थानीयवासी कृषक आफ्नो जग्गा कृषि वनका रुपमा विकास गर्न उत्साहित भएको समूहका सचिव जितबहादुर बस्नेतले बताए । सो क्षेत्रमा ६ वर्षमा ३५ हजार अलैंची, १० हजार कफी, १ हजार ७ सय टिमुर, २ हजार ५ सय एभोकाडो, किवी १ सय, अम्बा २ हजार, आँप १ हजार, लप्सी ५ सय, कुरिलो २ सय र ठूलो परिणाममा राइखनियो, पाउलोनिया लगायत डालेघाँसका बिरुवा रोपिएको छ ।
वन कार्यालयले खाल्टा खन्न समूहलाई ३ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको सचिव बस्नेतले बताए । कृषकले रोपिएका बिरुवाको संरक्षणका साथै प्रत्येक वर्ष गोडमेल समेत गर्दै आएका छन् । सो क्षेत्रका कृषक दवदवे हिलोमा खेत रोप्ने बेला बाँझो जग्गामा वृक्षारोपणका लागि झाडी फाड्ने, खाल्टा खन्ने र वृक्षरोपणमा व्यस्त छन् ।

यसैबीच, वृक्षरोपण दिवसमा अर्मलाको लस्सीबोटमा जडिवुटी प्रजातिको टिमुरका बिरुवा रोपियो ।

कृषि वन कार्याक्रम पकेटक्षेत्र अर्मला डिही अलैंची कृषक समूहको आयोजना एवं डिभिजन वन कार्यालय कास्की कृषि वन प्रवद्र्धन तथा विस्तार कार्यक्रमको आर्थिक सहयोग वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले टिमुरको बिरुवा रोपेर सो कार्यको शुभारम्भ गर्दै रोपिएका बिरुवाको उचित संरक्षण गररी बढीभन्दा बढी फाइदा लिन स्थानीयलाई आग्रह गरे ।

सो क्षेत्रमा यस वर्ष १५ हजार अलैंची, १२ हजार टिमुर, ५ हजार कफी, कुरिलो २ सय ५० र अन्य अम्बा, आँप, अनार, लिची, कागती र डालेघाँस गरी ३३ हजार बिरुवा रोप्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width