फेदिखोलाको बजेट झन्डै ३७ करोड

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
Phedikhola 9

स्याङ्जा  । फेदीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ३६ करोड ८९ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटले चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार विनियोजन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष देवी थापाद्वारा प्रस्तुत बजेटमा शिक्षा क्षेत्रमा १२ करोड, सामाजिक विकासमा १५ करोड ९८ लाख, पूर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक विकासमा ३ करोड ८१ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ६ करोड ५५ लाख छ ।
बजेटसँगै सभाले नीति तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन, गाउँपालिकाको संगठन तथा व्यवस्थापनलाई पारित गरेको छ ।
यसैबीच, गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा ४ वर्षे कार्यको समीक्षा एवं उपलब्धिलाई संस्थागत गरिने बताए । विपद्का बेला सञ्चालित कृषि एम्बुलेन्सदेखि बाँझो जग्गाको उपयोग गर्ने किसानलाई प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । उत्पादित २६ किसिमका तरकारीमा दिइएको न्यूनतम मूल्य, चिस्यान केन्द्रको अवधारणा अघि सारिएको छ । मकैको बिउँ उत्पादनमा निरन्तरता, माटो परीक्षण एवं कृषियोग्य माटो, खाद्यान्नमा विषादी तथा गुणस्तर परीक्षण गर्न कृषि ल्याब स्थापना गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
पालिकालाई प्राविधिक शैक्षिक हब, प्राविधिक शिक्षालय सञ्चालन, वडा १, गुर्दुममा गण्डकी प्रदेशस्तरीय गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान निर्माणाधीन रहेको अध्यक्ष सुवेदीले जनाए ।
कोभिड १९ महामारीमा संक्रमित भई अस्पतालमा उपचार गर्नुपर्ने विपन्न नागरिकलाई अधिकतम १५ हजार सहयोग गर्ने नीति बनाइएको छ । सुविधासम्पन्न १५ शैयाको अस्पताल, ७० वर्षमाथिका ज्येष्ठ नागरिक र प्रसूति सेवाका लागि अस्पतालसम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवा, ग्रामीण अल्ट्रासाउन्ड प्रविधि तथा निशुल्क स्वास्थ्य बिमा, युवा उद्यमीको संख्यामा र उद्यम कोषमा वृद्धि, मजदुर सञ्चित कोष पनि कार्यक्रममा समेटिएका छन् ।
पर्यटन क्षेत्र चलायमान बनाउन फेदिखोला एकीकृत पर्यटन प्याकेज कार्यक्रम र विभिन्न देशमा रहेका फेदीखोलावासीलाई समेटेर पर्यटन द्रूत अवधारणा अनुरुप अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width