पर्मको मर्म

युवराज खनाल
असार १३, २०७८
Yubraj Khanal

झमझम पानी परेको छ । कोही स्याखु त कोही छाता र प्लास्टिक ओढेर काममा निस्कँदै छन् । बजारमा त असारको के महिमा भयो र गाउँ–घरमा असारको चटारो छ । ‘मानो रोपेर मुरी फलाउने’ यो महिना किसानहरू खेतका गरा र आलीमै दिन बिताउँदै छन् । धान रोप्ने यो मौसम रसिलोमात्र छैन कि हिलाम्य अनि मनोरम पनि उस्तै । हली, बाउसे र रोपहार खेतका गरामा टल्किएका पानीलाई नै ऐना बनाई आफ्ना अनुहार हेर्छन् र मुस्कुराउँछन् । मंसिरमा मुरी थन्काउने मीठो कल्पना असारे मुहारमा झल्किन्छन् । मौसम उही हो, ठाउँ त्यही हो । गराका हिलो पनि उस्तै । तर, अहिलेको र उसबेला अर्थात् झण्डै ४ दशक अघिको असारे भोगाइमा बिल्कुल बदलाब छ । महसुस पनि उस्तै फरक लाग्छ । यस्तो बदलाब किन आयो होला ? यसका धेरै कारण छन् ।
खेतबारी धेरै हुने धनीहरु, हल गोरु पाल्थे अनि आफ्नैमात्रै हली लगाउँथे । उता मध्यम वर्गीय परेली लगाउने गर्दथे र हली पनि साझा लगाउने आधा आधा मुजुरी भर्ने गरी । सायद अहिलेको नयाँ पिँढीलाई परेली भनेको थाहा नहुन पनि सक्छ । माटो मुरीअनुसार हलीलाई मुजुरी दिने चलन थियो भने हलीले जोत्न आउँदाका दिन बिहान खाना दिउँसो खाजा र बेलुकी २ माना चामल, नुन, हरियोपरियो तरकारी ज्यालाका रुपमा लान्थे । मुजुरी भने वर्षको एक पटक धान थन्क्याइसकेपछि मात्र दिने चलन थियो ।
त्यसकै अर्काे रमाइलो पक्ष पर्म लगाउने र पर्म जाने थियो । अर्थात् आलोपालो गरेर काम गर्ने चलन । सामान्य बुझाइमा आफ्नो परिवारबाहेक कामका लागि अर्को घर वा गाउँबाट खटिने व्यक्तिलाई ‘खेताला’ भन्ने गरिन्थ्यो र यो चलन यदाकदा गाउँ घरमा चल्दै पनि छ । तर, अभ्यासमा भने पर्म र खेतालाको अर्थमा तात्विक फरक छ । ज्याला दिएर काममा लगाइएकालाई ‘खेताला’ र एक आपसमा आलोपालो गरी काम पूरा गर्न खटिने चलन पर्म हो । नेपाली शब्दकोशअनुसार आफू–आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन पर्म हो । ठाउँ–ठाउँमा यसलाई ‘परेली’, ‘पालो’ वा ‘बोझे’ पनि भन्ने गरिन्छ । पर्म गाउँले जनजिब्रोमा झुण्डिएको यस्तो लोकप्रिय शब्द थियो, बच्चादेखि वृद्धसम्मले यसलाई सजिलै बुझ्थे ।
तल्लो घरको खेत खन्न होस् वा रोपाइँ गर्न, माथ्लोघरे परिवारले दिनभरि सहयोग गरिदिने । छेउघरेले बाउसे ल्याइदिने, माझघरेले रोपहार । पुच्छर घरेले हलीसहित हलगोरु नै जुटाइदिने । कोहीचाहिँ बाउसे, रोपहार र हलीसहित डफ्फै आइदिने । मल बोक्ने पनि पर्म , बाउसे गर्ने पनि पर्म । रोपहार पनि पर्म । दाँदे लाउन पर्म अनि ब्याडे (बीउ काढ्ने) पनि पर्म नै गर्ने चलन थियो । निमेक हाल्ने र निमेक जाने त कमै हुन्थे । हुने खाने निमेकमा गयो भने इज्जत घट्छ भन्ने सोच्थे । बेसाहारा र गरिवहरु निमेकमा काम गर्थे । पैसाको त्यति चलन थिएन, निमेक गर्नेहरुले अन्नपात लान्थे, कोहीले घिउ ।
धान बाली लगाउन मात्र होइन, थन्क्याउन पनि पर्मकै सहारा लिनुपर्ने । त्यसो त, घर बनाउने, आरो लगाउने, दाउरा काट्ने अनि ढिकी कुट्नेदेखि जाँतो पिँध्नेसम्म भारी ( पर्ममै चल्थ्यो । दाञी हाल्दा जसका गोठमा गोरु बाँधिएका छन् बिहानै नसोधिकनै पनि फुकाएर लाने चलन थियो । कतै एउटाको मेलामा खेत रोप्दा एकै पटक ८/१० हल गोरु १५ देखि २० जना त कहीँ ६० जनासम्मै पर्ममा मेला आउँथे । अनि टीके रोपाइँ गर्ने चलन पनि थियो । खेतमा भ्वाङ नपरोस्, बाढी पहिरोले नखाओस् भनेर टीके रोपाई गर्थे । कतिका जगेडामा पर्म रहन्थे । यो साल पर्म तिर्न भ्याइएन भने अर्का याममा साटफेर गर्नुपथ्र्ये । पैसाको मुखै नदेख्ने र ज्याला दिन नसक्ने परिवारका निम्ति त पर्म एउटा सञ्जीवनी नै थियो भन्दा नि फरक पर्दैन । वास्तवमा, एउटा अनिवार्य जीवन पद्धति नै थियो पर्म ।

पर्म समाजमा निकै पुरानो प्रथा हो, अर्थ र श्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको यो प्रथा सामाजिक सम्बन्धको मापन पनि हो

पर्मका रंग र ढंग पनि मौसमअनुसार फरक लाग्थे। असारको एक खालको, मंसिरमा अर्कै प्रकारको । असारमा पर्म लगाउँदा बेंसीका फाँट वा गाउँका कान्ले खेतहरू स्याखु, छत्री १ घुम ओढेका खेतालाले ढपक्कै ढाकिन्थे । असार १५ बेठीका बाजाले गुञ्जन्थे । सनहीका धुनमा बाउसे–रोपहार असारे भाका घन्काउँदा खेतका गरा पनि नाँचेझैं लाग्थ्यो । सबभन्दा रमाइलो त्यतिबेला लाग्थ्यो, जब घरमूलीले सबै खेतालालाई दोपहरे (खाजा), दही–चिउरा अनि चियादानीमा चिया बाँड्न थाल्थे । अझ मंसिर महिनामा पर्मको मज्जा नै बेग्लै १ धान भिœयाउन बिटा लगाउनेहरूको ताँती लाग्थ्यो । गोरु हुनेले दाञीँ गर्ने, नहुनेले धानका बिटा चुट्ने । पर्मेलीहरू धान र भुस छुट्याउन नाङ्लाले बत्ताउँथे ।
यसरी बत्ताउँदा पहाडको चुचुरोझैं सग्ला धानका रासी थुप्रिँदै जान्थ्यो । त्यहीँ रासीको चुचुरोमा अर्धचन्द्राकार हँसिया ठड्याइन्थ्यो । त्यत्तिञ्जेल घाम ढल्किसकेको हुन्थ्यो ।
सूर्यको मधुरो आभा अर्धचन्द्राकार हँसिया हुँदै धानको रासीमा ठोक्किँदा साँच्चै सुनौला लाग्थे । बेलुकीपखको रौनक अझ बाँकी नै रहन्थ्यो । सास्ती र सुख सँगसँगै महसुस हुन्थ्यो । रासीका धान बोरामा हालेर बेंसीबाट गाउँ पुग्नुपर्ने । निष्पट्ट अँध्यारोमा छामछाम छुमछुम गरेर धानको भारी बोक्नुपर्ने ।
एकैपल्ट नउठे दुईपल्टसम्मै खेप्नुपर्ने । गह्रौं भारी चौतारीमा बिसाएर गफिँदा थकाइ एकछिन भए पनि मेटिन्थ्यो । जब घर पुगेर भकारीमा धान खन्याइन्थ्यो, पर्म आएकालाई खुवाउन खाना ठीक्क भइसकेको हुन्थ्यो । घरमूली आमैले खाना तयार भएको जानकारी दिएपछि पर्मेलीहरु मजेरीदेखि चुलासम्म लस्करै बस्थे ।
एकसाथ सबैका थालमा मगमगाउँदो मनसुली चामलको भात, दाल, तरकारी र चट्ट परेको अचार । त्यसपछि दही अनि दूधको पालो । खाना खाइसकेपछि मजेरीमा ठट्यौली र रमाइला कुरा हुन थाल्छन् । रात घर्किन थालेपछि सबै आ–आफ्ना घर जान्छन् । त्यो दिनको पर्म सकिन्छ । यही रीत भोलिपल्ट, पर्सिपल्ट हुँदै झण्डै एक महिनासम्म चल्ने गर्छ । एकजनाले सबैको पर्म भ्याउन दुई महिनासम्म बित्न सक्छ । तर, योचाहिँ ठूलो र सानो परिवारअनुसार हुन्छ । पर्ममा प्रायः खाजा दिने चलन हुन्छ । यसरी पर्ममै नेपालको गाउँले कृषि जीवनको चक्र पूरा हुने गर्छ । नेपालका प्रायः पहाडी जनजीवनमा पर्मको चलन चलायमान थियो ।
असारे मेलोमा विविध दुखद् पक्ष पनि थिए । कति कठिन थियो जीवनयापन बिहानै उठेर गाईवस्तुको धन्धा अनि दिउँसो मेलोपातो । खुट्टा हिलोले खाएर एकुवा बस्थे, भक्यामलोको धुलो लगाएर सन्चो बनाउनुपर्ने हुन्थ्यो । काम गर्दा हली बाउसेले दिउँसो खाजा खान पाउँथे भने कयौं घरमा मेलो सकिँदैन भनेर खेतालीहरु बेलुकी पोल्टामा खट्टे थापेर त्यही चपाउँदै फर्कनुपथ्र्थाे ।
पर्मको यस्तो मर्म हुँदाहुँदै पनि अहिले अवस्था बदलिएको छ । आजकालको कृषि कर्म पर्ममा भन्दा ज्यालामा चल्न थालेका छन् । उसो त, ज्यालामा पनि मान्छे पाउन धौधौ छ । किनभने गाउँमा युवाहरू विदेशिएका छन् । कृषिमा गरेको लगानीअनुसार प्रतिफल छैन । खेत जोत्न दाञीँ राख्न गोरुको सट्टा ट्याक्टरको प्रयोग हुन थालेका छन् । उति बेला हिलो बासी राख्न हुन्न भन्ने थियो । हली, बाउसे, खेताला सबै सँग सँगै काम गर्थे । तर अहिले खेतमा कान्ला ज्यालामा या ठेक्कामा खन्दिन्छन् अनि ट्याक्टरले जोतेर छोड्छ र खेतला अनुकूल मिलाएर आएर रोप्छन् । कयौं स्थानमा त घन्टामा कामदार लगाउने चलन पनि आइसकेको अवस्था छ ।
साँच्चिकै विश्लेषण गर्दा पर्म प्रथा मानव समाजमा निकै पुरानो हो र यस्तै प्रथालाई आत्मसात् गरी समाजको विकास भएको हो । अर्थ र श्रमसँग प्रत्यक्ष सम्बन्ध रहेको यो प्रथा सामाजिक सम्बन्धको मापन पनि हो । परम्पराकै रूपमा रहेका कारण यो संस्कृति पनि भयो । तर, पर्म प्रथालाई सन्दर्भ बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्राज्ञिक अध्ययन भएको पाइँदैन । यो प्रथालाई प्राज्ञिक अध्ययनको विषय बनाउनु नितान्त आवश्यक छ । विवाहमा छोरीलाई दाइजो दिँदा होस् या मर्दा पर्दाका बेला किन नहोस् त्यस्तै घरको छानो छाउँदा पनि पर्म प्रथाबाट नै हुने गरेको पाइन्छ । घरको छाना छाउने काममा अलि बढी श्रम चाहिने भएकाले यस्तो हुन सक्छ । यसको निरन्तरता नै भन्नुपर्छ, ढलान गरेर घर निर्माण गर्ने प्रचलन आएपछि छाना छाउनका लागि मात्रै होइन, पिलरबाहेक प्रत्येक तलाको ढलान गर्दा पनि पर्म प्रथाअनुसार नै हुन्छ । अझै पनि इस्टमित्र या छिमेकीको छोराछोरी बिहेमा बोलाको या नबोलाएको त्यसै आफ्नी छोरीको बिहेमा कति दाइजो दिएको त्यसलाई लेखिराक्ने र पछि उहाँको छोरीको बिहेमा तिर्ने चलन छँदै छ । यो पनि पर्मैको अंश हो ।

Related News

सम्बन्धित समाचार

hero news full width