सडक कालोपत्रेले घाचोकवासीमा उत्साह

श्रीभद्र पौडेल
असार १३, २०७८
ghachok road photo

हेमजा । घाचोककी लक्ष्मी पोखरेल मंगलबार साँझ भलाबोट क्षेत्रबाट धान रोपेर घर फर्कंदै थिइन् । फर्किंदै गर्दा उनले भनिन्, ‘साथीहरु हाम्रो गाउँमा यति फराकिलो र पिच बाटोमा हिड्न पाइएला भन्ने सोचेका थियौं ?’
त्यतिकैमा दिनभर धान रोपेर लखतरान परेकी गंगाले उत्तर फर्काइन्, ‘अह ! यो हाम्रो कल्पनाभन्दा बाहिरको कुरा । यति चाँडै घरछेउमा सडक पिच होला भन्ने लागेको थिएन । गाउँठाउँमा उत्पादन हुने कृषिजन्य सामग्री सजिलै बजार पठाउन सकिएला ।’
अन्य दिदीबहिनीले पनि गंगाको कुरामा सहमत जनाए । घाचोक यसै पनि दूध गाउँ । त्यसैमाथि बदामखेती र अन्य अन्न उत्पादन पनि राम्रै हुन्छ । अब रोजगारीको सिलसिलामा गाउँ छाडेका र कतिपय विदेश गएका दाजुभाइलाई गाउँ फर्काउनु पर्दछ । अरुको ठाउँ/देशमा श्रम होइन, आफ्नै गाउँबाट उत्पादन बच्नु पर्दछ भन्दै दिदीबहिनीहरु एकमत भए ।
लक्ष्मी र गंगा प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरु जस्तै घाचोकमा सडक कालोपत्रे सुरु भएसँगै स्थानीयमा खुसी छाएको छ । गाउँको उत्पादन सजिलै बजार पु¥याउन सकिएला । बिरामी हुँदा कम्तीमा एम्बुलेन्स आँगनसम्म आउला । गाउँ छोडेकाहरु फर्केलान् भन्नेमा घाचोकवासी आशावादी छन् ।

५ करोड ७८ लाख समपूरक अनुदानबाट यहाँ सडक कालोपत्रे भइरहेको छ

माछापुच्छ्रे गाउँपालिका र संघ तथा प्रदेश सरकारको ५ करोड ७८ लाख समपूरक अनुदानबाट यहाँ सडक कालोपत्रे भइरहेको छ । जसअन्र्तगत स्थानीय ओडारेदेखि गुप्त चौतारोसम्म(टुसे) र पानपातेदेखि शुक्लागण्डकी मावि हुँदै खरबारीसम्म ५.१ किमी सडकखण्डमा धमाधम पिच भइरहेको छ । सडक नाला सहित ८ मिटर फराकिलो बनाइएको छ ।
हाल दैनिक ६० मजदुरले काम गरिरहेका छन् । प्रिमिक्स प्रविधिको उक्त पिच निर्माणअन्तर्गत ओडारेदेखि गुप्त चौतारोसम्म ३ करोड ७४ लाखमा (भ्याटसहित) नयाँबाटो/जिएस इञ्जिनियरिङ जेभीले र पानपातेदेखि खरबारीसम्म २ करोड ४ लाखमा (भ्याटसहित) कश्यप निर्माण सेवा कंलकीले जिम्म पाएका छन् । सडकमा नाला निर्माणका अलावा सबवेस र वेस बिछ्याउने कार्य सकिएको छ । त्यस्तै कालोपत्रेको काम समेत ३५ प्रतिशत भइसकेको गाउँपालिकाका इञ्जिनियर शैलेन्द्र क्षेत्रीले जानकारी दिए ।
इञ्जिनियर क्षत्रीले पिच ३ सेन्टिमिटर बाक्लो गरिएको र असार २५ भित्र सबै कार्य सक्ने योजना रहेको सुनाए ।
सडक निर्माणसँगै माछापुच्छ्रे गाउँपालिका वडा १ माछापुच्छ्रे, वडा २ सार्दीखोला र वडा ३ घाचोकवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
आफ्नो गाउँमा मिस्टर झोले, जुठे सिरियल, छक्कापन्जा–३ लगायत चलचित्रसमेत छायांकन भएको स्थानीय विष्णु पोखरेल सम्झन्छन् । बाटो खासै राम्रो नहुँदा समेत धेरै मान्छे आउने गरेकोमा अब बाटो बनेपछि धेरै मानिस आउने उनको अपेक्षा छ । उनले भने, ‘यसले चौतर्फी फाइदा दिन्छ ।’ प्रत्येकलाई आफ्नो घरअघि कालोपत्रे गर्दा निगरानी गर्न भनिएको र सोहीअनुसार अनुगमन भइरहेको उनले बताए। यता, निर्माण कम्पनी नयाँबाटो÷जिएस इञ्जिनियरिङ जेभीका निर्देशक डम्बरराज ढकालले निर्धारित समयमै कार्य सक्ने प्रतिबद्घता जनाए । कोरोना महामारीसँगै बर्खाबीच निरन्तर कार्य भइरहेको र सडकको गुणस्तर कायम गरेको उनको दाबी छ । पोखरादेखि १५ किमी पश्चिम–उत्तरको घाचोकमा २०५४ सालमै ट्रयाक खोलिए पनि खासै स्तरोन्नति हुने सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width