जोखिम झेल्न साँघु

राजेशचन्द्र राजभण्डारी
असार ११, २०७८
bhayana pul fadke

बागलुङ । हरेक वर्ष वर्षा सुरु भएसँगै झांगिन सुरु हुन्छ खोलाले बगाउला कि भन्ने चिन्ता । विद्यालय जाँदा बालबच्चा हुन् वा मेलापात जाँदा खोला तर्ने किसान, सकुशल गन्तव्यमा पुगे कि के गरे ? घरमा हुनेलाई पिरलो भइरहन्छ । यो चिन्ता दूर्गम गाउँपालिकाको नभएर जैमुनी नगरपालिकाभित्रकै हो ।
बागलुङको जैमुनी नगरपालिका वडा नम्बर १ कुश्मीशेरा टिमुरे खोला तर्न स्थानीयले ज्यानकै बाजी थाप्नुपर्ने बाध्यता छ । वर्षा याममा सधैं जोखिम मोलेर खोला वारपार गर्नु पर्ने बाध्यता झेलेका जनताले जनश्रमदानमा काठको मुढा तेस्र्याएर साँघु (अस्थायी पुल) बनाएका छन् ।
स्थानीयले नगरपालिका र वडामा समस्या नसुनाएका होइनन्, उनीहरुले स्थानीय तहमा पुगेर गुनासो सुनाए पनि त्यसबारे सुनुवाइ भएन । पुल नबनेपछि कुश्मीशेरावासीकै सक्रियतामा साँघु बनाइएको हो ।
जैमुनी १ कुश्मीशेरा टिमुरे खोला तर्न ज्यानकै बाजी लगाउनु पर्ने बाध्यता हटाउन स्थानीयले जंगलबाट रूख काटेर साँघु बनाएको स्थानीय कुलराज शर्माले बताए ।
टिमुरेमा पुल नहुँदा बाढी आएपछि तर्नै नसकिने र मान्छे मर्दा मृत्यु संस्कारका लागि घाटसम्म जानसमेत नसकिने समस्या स्थानीय डिल्ली शर्माले बताए । बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडा लगायतका स्थानीयले समेत प्रयोग गर्छन् ।
वर्षाको कारण गाउँ गाउँमा खनिएका सडकसमेत बाढी पहिरोले क्षति पुर्‍याएपछि स्थानीय जनतालाई पैदल हिँड्नसमेत सास्ती भोग्नुपरेको छ । स्थानीयले काठे साँघु बनाए पनि वर्षाको पानीले कुहिने, चिप्लो हुने र बालबालिका वारपार गर्दा हुने जोखिम भने कायमै छ । यतिमात्रै होइन, काठ कुहिने समस्या त छँदै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width