सडकमै घोप्ट्याइयो पोखराको बजेट

धनबहादुर गुरुङ
असार ११, २०७८
Pokhara budget

पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्ष सडक पूर्वाधारमा बढी बजेट छुट्याएको छ । पोखरा महानगरका सबै क्षेत्रको सडक आयोजनाका लागि १ अर्ब ५४ करोड २५ लाखको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले ठेक्का सम्झौता भइसकेका र आगामी वर्षका लागि कनेक्टिङ सडकतर्फमात्र १ अर्ब २० करोड बजेट प्रस्ताव गरेकी छिन् ।
‘विकटलाई निकट’ भन्ने नाराका साथ कनेक्टिङ सडक योजनाहरु आगामी आर्थिक वर्षमा पनि उच्च प्राथमिकतामा दिँदै बजेट विनियोजन गरिएको हो । जसअन्तर्गत विजयपुर–माझठाना–बेगनास सडक, कात्रे–बाम्दी–घाँटीछिना सडक, बैदाम–पामे–घाँटीछिना सडक र कास्कीकोट गुन्टेचौर, वनपाले पँदेली कृषि सडक छन् । यसैगरी चितेपानी पुरुञ्चौर रैकर ढाब मर्दी सडक, ठूल्ढुंगा सुर्ताने चैनपुर सुरौंदी सडक, पानी टंकी देउराली भञ्ज्याङ सडक, रैकर बेगनास सडक, भलाम–मौजा सडक बन्नेछन् । काहुँखोला पहिरो पानी सडक, खत्रीपहरो खोलाबेंसी सडक, जनचेतन चिलाउने खर्क, बास्कोट वडा कार्यालय सडक, वडा कार्यालय २२ देखि भुम्दीहुँदै तारेभीर, राधाकृष्ण मार्ग हुँदै तिनकुने सडक बनेपछि पोखराको मुख्यबजार क्षेत्रसम्म जोड्न रत्तसञ्चारको काम गर्ने महानगरले विश्वास लिएको छ ।
बेगनासताललाई पृथ्वी राजमार्गसँग जोड्ने तालचोक बेगनास सडक नेपालकै नमूना सडक निर्माणका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरेको छ । ७ करोडमा अस्फाल्ट पिच गरी २ वर्ष खन्न स्वीकृति नदिने नीति पनि लिएको छ । ‘मेयर गौरवको आयोजना’ को रुपमा लिइएको उक्त आरटिओ सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य पनि लिएको छ । सहरी तथा ग्रामीण क्षेत्रमा वडा कार्यालयहरुका लागि प्रतिवडा कम्तीमा एउटा सडक आयोजना पर्ने गरी बजेट छुट्याएको छ । ‘हामी बनाउँछौं हाम्रो महानगर’ भन्ने नाराका साथ सञ्चालन गरिने सडक आयोजनाहरु सञ्चालनका लागि १० करोड विनियोजन गरेको छ । यीबाहेक अन्य सडकका लागि आवश्यक बजेट छुट्याउने बताएको छ ।

तालचोक बेगनास सडक नेपालकै नमुना बनाउन २४ करोड २५ लाख बजेट विनियोजन

महानगरको ६ अर्ब २७ करोड ७५ लाख बजेटमध्ये साढे १ अर्ब सडक पूर्वाधारका लागि खर्च गर्ने भएको छ । कोरोनाका महामारीको समयमा स्वास्थ्यमा भन्दा सडकमा रकम खर्च गर्ने भएको हो । ५० हजार खोपको प्रबन्ध गर्न सकिने महानगरले जनाएको छ । यसबाहेक कोभिड अस्पतालसहित स्वास्थ्य क्षेत्रमा ३४ करोड ९६ लाख छुट्याएको छ । खोप उपलब्ध गराउन भगिनी सम्बन्ध भएका नगरहरुका नगर प्रमुखलाई अनुरोधसमेत गरेको छ । पोखराले अहिलेसम्म जापानको कोमागाने, चीनको लिन्जी, कुन्मिङ, गुन्जाओ, छिन्चु, नानिङ, युबिन, हाइकाउ र बेलायतको लन्डन बार्नेट तथा दक्षिण कोरियाको ग्यांबुक गु सहर, फिलिपिन्सको सन फरानान्डोसँग भगिनी सम्बन्ध गाँसेको छ । भगिनी सम्बन्ध भएका सहरसँगको समन्वयमा खरिद गर्ने भनिए पनि ठोस रकम विनियोजन भएको छैन । अहिले सञ्चालनमा रहेको आइसोलेसन, पिसिआर नमूना संकलन, कोभिड अस्पतालको स्तरोन्नति तथा सञ्चालनका लागि ३ करोड विनियोजन गरेको छ । शिशुवा अस्पताल सञ्चालनसमेतको लागि ३ करोड ५० लाख, कोभिडको कारण रोगजारी गुमाएकाका लागि २५ लाख बजेट छुट्याएको छ । पोखरा १२ को वडा कार्यालय परिसरमा बन्न लागेको एम्बुलेन्स स्टेसन स्थापनाका लागि १ करोड र औषधीहरु र अत्यावश्यक औजारहरु खरिद गर्न थप ६० लाख बजेट प्रस्ताव गरेको छ । थपिएका स्वास्थ्यकर्मीको पारिश्रमिक, स्वास्थकर्मीलाई जोखिम भत्तालगायतका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । नगर स्वास्थ्य केन्द्रहरुको सञ्चालन खर्च एकमुष्ट ५ करोड ३० लाख र समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि २१ करोड ५० लाख विनियोजन गरेको छ ।
महानगरको बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजस्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात् ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात् १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात् ३५ प्रतिशत व्यहोर्ने बताएको छ । खर्चको तुलनामा आम्दानी १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिन्छ । न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उपमेयर मञ्जुदेवी गुरुङले उल्लेख गरिन् । कुल विनियोजनमा चालुतर्फ २ अर्ब ९० करोड ९४ लाख , पुँजीगत खर्चतर्फ ३ अर्ब ३६ करोड ८० लाख विनियोजन प्रस्ताव गरिएको छ । खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख, कृषितर्फ १४ करोड ४९ लाख, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख विनियोजन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…
  • गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सपना प्रधान…

hero news full width