अन्नपूर्णमा १ किसान १ दुहुनो गाई/भैंसी

श्रीभद्र पौडेल
असार ११, २०७८
annapurna progrem photo

हेमजा । अन्नपूर्ण गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ७५ करोड २५ लाखको बजेट प्रस्ताव गरेको छ । बिहीबार १० औं गाउँसभाबीच बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले बजेट सार्वजनिक गरेकी हुन् ।
बजेटमा पूर्वाधार विकासतर्फ १६ करोड ९६ लाख २२ हजार, आर्थिक विकासतर्फ ४ करोड ४ लाख, सामाजिक विकासतर्फ सबैभन्दा धेरै ४५ करोड ७३ लाख ७८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६३ लाख खर्च गर्ने प्रस्ताव गरिएको छ ।
सुशासन तथा संस्थागत विकासतर्फ १ करोड ८ लाख, गाउँपालिका तथा वडा कार्यालय सञ्चालन प्रशासनिक तथा चालु खर्चतर्फ ६ करोड ८० लाख खर्च लाग्ने अनुमान पनि गरिएको छ ।
गाउँपालिकाले संघीय समानीकरण अनुदानबाट १० करोड ५७ लाख, राजस्व बाँडफाँडबाट ८ करोड ७० लाख ८४ हजार, संघीय सशर्त अनुदान २८ करोड ५८ लाख, प्रदेश समानीकरण अनुदान १ करोड १९ लाख ६० हजार, राजस्व बाँडफाँडबाट ५२ लाख ७८ हजार, आन्तरिक आय २ करोड, सामाजिक सुरक्षा कार्यक्रम १५ करोड ५४ लाख ७८ हजारलगायत आयको स्रोत अनुमान गरेको छ । सो गाउँसभाले आर्थिक तथा विनियोजन विधेयक २०७८ पनि सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा धारणा राख्दै उपाध्यक्ष गुरुङले सीमित स्रोत साधनका बीच बजेट ल्याउनु परेको जनाइन् । उनले सरोकारवाला सबै बजेट कार्यान्वयको पक्षमा दृढ अठोटका साथ लाग्नुपर्ने पनि उल्लेख गरिन् । उपाध्यक्ष गुरुङले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिइएको भनाइ पनि राखिन् ।
सो अवसरमा वडा सदस्यहरु गनबहादुर गुरुङ, कमला केसी, इन्द्रप्रसाद सुवेदी (गणेश), मीना राना, इन्द्रमणि जैसी, टेकबहादुर गुरुङलगायतले बजेटमाथि प्रश्न उठाएका थिए ।

१ घर १ बहुपोषणयुक्त करेसाबारी, जग्गा चक्लाबन्दी, प्याराग्लाइडिङ सम्भाव्यता अध्ययन, १ किसान १ दुहुनो गाई/भैंसी कार्यक्रम समावेश

जवाफमा गाउँपालिका अध्यक्ष युवराज कुँवरले वडास्तरबाट ९ सय ५६ वटा योजनाका लागि बजेट माग भई आएकोमा प्राथमिकीकरणका आधारमा कुल २ सय योजना छनोट गरेको स्पष्ट पारे । चालु खर्चलाई कम गरी विकास बजेटलाई प्राथमिकता दिएको उनको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कृषि, पर्यटन र पूर्वाधारः अन्नपूर्ण समृद्घिको आधारलाई बजेटले आत्मसात गरेको उल्लेख गरे ।
अन्नपूर्ण ५ का अध्यक्ष जीवनाथ पौडेल (शंकर), वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य गंगादेवी कुँवर, गाउँसभा सदस्य मुक्तिराम अधिकारीलगायतले बजेट कार्यान्वयनका लागि शुभकामना दिए ।
गाउँपालिकाले बजेटमार्फत आगामी वर्ष ‘कृषि क्षेत्रको अभिवृद्घि ः अन्नपूर्ण गाउँपालिकाको समृद्घि’ नारालाई घनीभूत रुपमा अघि बढाइने जनाएको छ । जसअन्तर्गत एक घर एक बहुपोषणयुक्त करेसाबारी, वडा लक्षित फलफूल र नगदेबाली पकेट क्षेत्र घोषण, जमीन चक्लाबन्दीलगायतलाई समेटिएको छ ।
ढिकुरपोखरी र नयाँपुल क्षेत्रमा कृषि उपज संकलन केन्द्र स्थापना, कोदो महोत्सवलाई निरन्तरता, खाना नफालौं कार्यक्रमलाई विशेष अभियानका रुपमा सञ्चालन, एक १ किसान १ दुहुनो गाई÷भैंसी, भोटे प्रजातीको कुकुर संरक्षण, माछाका भुरा वितरण, पोखरी निर्माणका लागि पनि बजेट विनियोजन भएको छ ।
साना तथा ठूला जलविद्युत् आयोजनामा १ घर १ सेयर सदस्यको अवधारणा अघि बढाउन, आरनको आधुनिकीकरण र पञ्चेबाजा खरिदमा अनुदान दिन, घान्द्रुक र नागडाँडा भ्यु टावरमा फोटो सुट केन्द्र स्थापना गर्न, अन्नपूर्ण ग्रेटर पर्यटन पदमार्ग निर्माण, पोखरादेखि पञ्चासेसम्म साइकल मार्ग निर्माण, तमु भाषाको पाठ्यक्रम बनाउन, फल्लापानी, पाउँदुरकोट र घान्द्रुकस्थित देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि सम्भाव्यता अध्ययन गर्न पनि बजेटको व्यवस्था गरिएको छ ।
आपतकालीन सुरक्षित मातृत्व कोष, विद्यालय नर्स कार्यक्रम, गाउँपालिका स्तरीय फार्मेसी सञ्चालन, १ घर १ धाराको पूर्णताका लागि पनि बजेट छुटयाइएको छ ।
गाउँपालिकाले समुन्नत र समृद्घ अन्नपूर्ण निर्माण गर्ने संकल्पका साथ नीति तथा कार्यक्रम र सोही अनुसार बजेट ल्याएको दाबी गरेकोे छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width