धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

साधन राम्जाली
असार १०, २०७८
IMG_5698

मुना, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट वितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले फरक मत राखेका छन् । फरक मत राख्ने मध्य गुर्जाका वडा अध्यक्ष झक छन्त्याललाई गाउँसभाले लेखा समितिको संयोजकमा प्रस्ताव गरेको छ ।

उपाध्यक्ष रेशम छन्त्यालले सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदान सहित चालुतर्फ ३४ करोड ३६ लाख र पुजिगततर्फ १३ करोड ८७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। संघीय र प्रदेश सरकारको अनुदान, गाउँपालिकाको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटलाई आधार मानेर आगामी वर्षको योजना तथा कार्यक्रमका लागि बजेट बाडफाँड गरिएको उपाध्यक्ष छन्त्यालले बताए ।

गाउँपालिका अध्यक्ष थमसरा पुनले पुर्बाधार, विपद् व्यावस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको बताइन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि सबैभन्दा बढी १ करोड रुपैयाँसहित पुर्बाधार बिकासमा ५ करोड ११ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

वन वातावरण तथा विपद् ब्यवस्थापनमा रु. १ करोड बाइस लाख बिनियोजन भएको छ । नीति तथा कार्यक्रममा ढोरपाटन हुँदै कर्णाली प्रदेश जोड्ने हिमालयन राजमार्गको परिकल्पना गरिएको छ । ताकममा सुरु भएको पाँच शैया क्षमताको अस्पताल निर्माणलाई पूर्णता दिने, चिकित्सक सहितको अस्पतालको सेवालाई निरन्तरता, वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्ने, ताकममा सिटिहल, कुटिचौरमा औद्योगिक ग्राम, कौसिनी–बाँसबोट लामो पुल बनाएर बञ्जिजम्प सञ्चालन गर्ने, मच्छिममा पार्क बनाउने, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ मातृ शिशु मृत्युुदर घटाउने, सुनौला हजार दिनका आमासँग अध्यक्ष, कृषिमा हाम्रो टनेल, तपाइको उत्पादन कार्यक्रम चलाउने, घरघरमा धारा जडान गरेर खानेपानी उपलब्ध गराउने, सिचाई सुबिधा बिस्तार र जडिवुटी तथा फलफुल खेतीलाई जोड दिएको छ । कृषि, पर्यटन पुर्बाधार र रोजगार सम्बृद्ध धवलागिरी निर्माणको आधार भन्ने मुल नारा तय गरेको छ । गाउँसभामा पालिका स्थापना भएको चार वर्षमा भएका मुख्य मुख्य उपलब्धीहरुको विवरण सार्वजनिक भएको थियो ।

मुदी, लुलाङ, मराङ लगायत ५ वटा बस्तीमा सडक पुगेको, लुलाङ, नाउरा, बगर, खाम्लामा निजी धारा सहितको खानेपानी योजना कार्यान्वयन भएको, १० किलोमिटर नयाँ ट्याक खोलिएको, ४५ किलोमिटर सडक चौडा पारिएको, ५ किलोमिटरमा ग्यावियन पर्खाल लगाएर स्तरोन्नति भएको उपाध्यक्ष छन्त्यालले बताए । १० हेक्टरमा सिचाई, ५४१ घरमा खानेपानी, पाँच किलोमिटर पदमार्ग, दुई वटा सामुदायिक भवन, दुई वटा सांस्कृतिक पुर्बाधार, पाँच वटा झोलुङे पुल, ४ वटा बिद्यालय भवन र १२ वटा बिद्यालयमा अन्य पुर्बाधार निर्माण भएका छन् । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले पारित भएका योजना तथा कार्यक्रम समयमै कार्यान्वयनमा लगेर अहिलेकै जनप्रतिनिधीहरुको कार्यकालभित्र सम्पन्न गराउन पहल गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width