जग्गा चक्लाबन्दी : कम खर्च, सहजै खेतीपाती

श्रीभद्र पौडेल
असार १०, २०७८
ghachok ropai shreebhadra

हेमजा । घाचोक भलाबोटकी बसुन्धरा पोखरेललाई पहिले खेती लगाउन औधी गाह्रो लाग्थ्यो । स–साना फोहोटा, जोत्दा हलोले छेउ कुना नभेट्ने, वैशाख वा जेठको सुरुमै बाँझो जोतखन गरी असारका लागि ठिकठाक पार्नुपर्ने गाउँघरको चलन ।
जोतेर छेउकुना नभेटेको खन्नुपर्दा हातभरि फोका उठ्थे । कामदार खोजेर लगाउँदा निकै खर्चसमेत हुन्थ्यो । खेती लगाउँदा फाइदाको त के कुरा निमेकसमेत नउठ्ने । त्यसैले विगतमा उनमा खेती गर्ने जागर खासै आएन । तर अहिले उनी निकै फुर्तिली बनेकी छन् । उमेरले ६० वर्ष काटे पनि खेती गर्ने जागर युवा अवस्थाको भन्दा अहिले बढी छ उनमा । कारण हो जमिन चक्लाबन्दी ।
कि त हल गोरु पाल्नुपर्ने, हैन भने साता अघिदेखि खोज्नुपर्ने, काठका हलो सामान्य ढुंगामा पर्दा पनि भाँचिने, त्यसमाथि जोत्ने मान्छे (हली) पाउन अझ बढी समस्या, छेउकुना खन्न उस्तै समस्या । हिजो यी नै कुराले वाक्कदिक्क पोखरेल मंगलबार दिउँसो भलाबोट क्षेत्रमा असारे गीत गाउँदै खुसी मनका साथ साथीसँग धान रोप्दै थिइन् ।
अब त खेती लगाउन खासै दुख गर्नु पर्दैन, सबै कुरा ट्रयाक्टरले एकै छिनमा गरिदिन्छ । ‘यस्ता सुखले खेती लगाउने दिन पनि यो भलाबोटमा आउने रैछन्,’ उनले धान रोप्दै भनिन् । बसुन्धराजस्तै कयौं घाचोकवासी भलाबोटको जमिन चक्लाबन्दीबाट खुसी देखिएका छन् । समतल ठाउँ, तर टुक्रिएर स–साना बन्दै गएको जमिन, हलगोरु पालेर खेती लगाउनुपर्ने बाध्यता उनीहरुको हटेको छ । अहिले तिनै स–साना जमिनलाई एकीकृत पारिएको छ र ट्रयाक्टरबाट खनजोत गरी धान रोप्न लगाउन थालिएको छ ।
प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा त्यहाँका करिब १ सय घरपरिवार किसानको खेतमा चक्लाबन्दी गरी सामूहिक खेती गर्न थालिएको हो । जसअन्तर्गत भलाबोट, तल्लाखेत क्षेत्रमा ३ वर्षमा गरी कुल ३ सय १६ रोपनी क्षेत्रफलमा चक्लाबन्दी भएको स्थानीय मोतिलाल पोखरेलले जानकारी दिए ।
मन्त्रालय र त्यहाँस्थित अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्था तथा भूमि सिर्जनशील किसान समूहमार्फत चक्लाबन्दी गरिएको हो । फोटाफोटीमा पहिले वर्षमा एक खेतीमात्रै गर्थै, चक्लाएपछि अहिले दुई खेती गरिसकेका छौं, अब ३ खेतीसम्म गर्ने योजनामा रहेको स्थानीय किसान गोविन्दप्रसाद पोखरेलले बताए ।
किसानले त्यहाँ चैते तथा असारे धान, तोरी, आलु, गहुँलगायत खेती गर्ने सोच पनि बनाएका छन् ।
त्यसका साथै चक्लाबन्दीस्थलमा सिँचाइको व्यवस्था पनि गरिएको छ । एक अर्को गराका बीचमा पाइपमार्फत पानी जाने प्रबन्ध मिलाइएको छ । बीच बीचमा ट्रयाक्टर लैजानका लागि बाटोको व्यवस्थासमेत गरिएको छ ।
चक्लाबन्दीसँगै कम खर्चमा खेतीवाली गर्न आफूहरुलाई निकै सहजता भएको अर्का किसान राममाया घोरासैनी बताउँछिन् ।
उक्त कार्यक्रमका लागि मन्त्रालयले त्यहाँ चालु वर्षसहित हालसम्म ७० लाख अनुदान सहयोग पनि गरेको छ । ‘चक्लाबन्दी गरी सामूहिक खेती गरौंः उत्पादनमा आत्मनिर्भर हुने संकल्प गरौं’ भन्ने नारा आत्मसात गर्दै घाचोकमा यो कार्यक्रम लागु गरिएको हो ।
अहिले त्यहाँ ट्रयाक्टरको सहायताबाट धमाधम धान रोपाइँ भइरहेको छ । धान रोप्ने क्रममा त्यहाँका दिदीबहिनीहरुले असारे गीत गाउँदै घरपरिवारको दुखसुख साटासाट पनि गर्ने गरेका छन् । किसानले आ–आफ्नो जग्गाको क्षेत्रफलअनुसार उत्पादनलाई दामासाही हिसाबले वितरण पनि गर्ने गरेका छन् ।
चक्लाबन्दीसँगै त्यहाँका किसानले हल गोरु पाल्नुपर्ने, सिँचाइ असुविधा भोग्नुपर्ने, कामदार नपाइने समस्याबाट मुक्ति पाउनुका साथै कम खर्चमा सुविधाजनक तबरले खेती लगाउन थालेका छन् । घाचोकमा यो कार्यक्रम लागु भएसँगै सामूहिक भावनाको समेत विकास हुँदै गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width