लाइफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई प्रदान गरिने

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
keshav ananda

पोखरा, ९ असार । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ ।

पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जितको पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ ।

प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम सिफारिस गरेकोमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको २५ औं बैठकले नाम अनुमोदन गरेको हो । मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा पदेन अध्यक्षमा एकराज गिरी र महासचिव विजय नेपाल थिए ।

यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, प्राडा वीरेन्द्रसिंह गुरुङ, खड्गबहादुर रानाभाट र चित्रबहादुर गुरुङ सम्मानित भैसकेका छन् । यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डका लागि पोखरा लेकसिटी हस्पिटल, सिमलचौरले पुरस्कार प्रायोजन गरेको छ ।

कोरोना महामारीका कारण गत वर्षदेखि हुन नसकेको पाँचौ संस्करणको स्पोर्टस् अवार्ड विश्व खेलकुद पत्रकार दिवस अवसरमा असार १८ गते स्वास्थ्य मापदण्ड अपनाई भर्चुअलमार्फत हुँदैछ ।

मञ्चले यसपालि ७ विधामा अवार्ड वितरण गर्दैछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिनेछ।

को हुन् रञ्जित ?
पोखरेली फुटबलका जिउँदा इतिहास हुन्, केशव रञ्जित (आनन्द) । जसले फुटबललाई नै जीवन ठाने । फुटबलकै लागि जीवन अर्पिए । फुटबलमा पोखराको शान, मान र प्रतिष्ठा उकास्नका लागि अहोरात्र खटिए ।

सरल जीवन बिताउन चाहने आनन्द रञ्जित इमानदार, कर्तव्यनिष्ठ मात्र नभई पोखरेली फुटबलका धरोहर हुन् । फुटबलका लागि उनी जन्मेका हुन् वा उनका लागि फुटबल जन्मिएको हो ? त्यो त आनन्द रञ्जित आफैलाईपनि थाहा छैन होला । तर आनन्दले फुटबलबाहेक केही सोचेनन् । धनआर्जनमा सन्तोष मान्ने यो जमानामा पनि आनन्द रञ्जित भने फुटबलमा पाएको उपलब्धिलाई नै आफ्नो उपलब्धि ठानेर आनन्द मानिरहे । उनी २०१० साल चैत २९ गते बुबा गणेशलाल रञ्जित र आमा गंगादेवी रञ्जितको कोखबाट जन्मिएका हुन् । २०३१ सालदेखि नै खेल जीवन शुरु गरेका उनले करीब डेढ दशक गण्डकी अञ्चलको कप्तानी सम्हाले । सानैदेखि फुटबल भनेपछि हुरुक्क हुने उनले २०३१ सालदेखि २०४५ सालसम्म गण्डकी अञ्चलको कप्तान बनेका हुन्।

समकालीन फुटबल खेलाडीमा पनि अब्बल उनले कैयौं खेलाडी जन्माएका छन् । ग्रास रुट प्रशिक्षणका लागि अब्बल मानिने शम्भु केसीलगायत पनि उनकै साथ र संगतले खारिए । आज उनीहरु देखेर दंग पर्छन्, उनी आनन्द ।

डेढ दशक गण्डकी अञ्चल फुटबल टिमको कप्तानी सम्हालेका आनन्दको टिमले २०३२ सालमा काठमाडौंमा भएको शुभ जन्मोत्सव कपमा स्वर्ण पदक जितेको इतिहास छ । उनकै कप्तानीमा २०३२ सालमै अन्तरअञ्चल नर ट्रफी प्रतियोगितामा सेमीफाइनलको यात्रा तय गर्‍याे । २०३५ सालमा नर ट्रफी प्रतियोगितामा संयुक्त विजेता बन्दै पहिलो ६ महिना ट्रफी राखेर सफल कप्तानको पगरी गुथे आनन्दले । उनकै कप्तानीमा २०३७ सालमा बुटवलमा भएको नर ट्रफी प्रतियोगितामा गण्डकी अञ्चलको टिम उपविजेता बन्यो ।

२०३८ सालमा भने उनले महेन्द्र पुलिस क्लबबाट खेले । त्यही वर्ष उनको टिम महेन्द्र पुलिस क्लवले शुभ जन्मोत्सव कपको उपाधि चुम्यो । २०३१ सालदेखि २०४२ सालसम्म विभिन्न समयमा महेन्द्र पुलिस क्लब, न्यूरोड टिम (एनआरटी)बाट खेलेका उनले थुप्रै पदक र प्रमाणपत्र जितेका छन् ।

२०३८ सालमा नेपालको राष्ट्रिय टिममा परेका आनन्दले सो वर्ष रुस र भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । उनी समकालीन फुटबलरमा टेक्निकल गेमका लागि अब्बल दरिए । सन् २००३ मा नेपाली राष्ट्रिय टिमको अफिसियल भई दक्षिण कोरिया, भारत र थाइल्याण्ड भ्रमण गरे । २०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल टीमको गण्डकी प्रदेशको कप्तान भई फेयर प्ले उपाधि जिताउन सफल भए ।

खेलाडी र प्रशिक्षकमात्र होइन, उनको योगदान विभिन्न संघसंस्थामा पनि छ । २०५८ देखि ०६२ सम्म कास्की जिल्ला फुटबल संघ अध्यक्ष रहेर जिल्लाको फुटबलको विकास र बिस्तारमा महत्वपूर्ण योगदान दिए ।
फुटबल खेललाई अर्जुनदृष्टि बनाई जीवन अर्पेका आनन्द दर्जनौं संघसंस्थाबाट सम्मानित भइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width