जनप्रिय क्याम्पसलाई कृषि विकास बैंक लिमिटेडद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

आदर्श समाज सम्वाददाता
असार ९, २०७८
janapriya

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले शैक्षिक सामग्री कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गत बैंकले बुधबार ती सामग्री हस्तान्तरण गरेको हो ।

कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले क्याम्पसलाई हस्तान्तरण गरिएका सााग्री थोरै जस्तो भए पनि महत्व धेरै रहेको बताए । उनले भने, ‘सहयोग सानो जस्तो लागे पनि यसको सन्देश ठूलो छ ।’ पराजुलीले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्र मात्रै होइन समुदाय नै लाभान्वित भएको बताए ।

बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।

बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए । रिजालले क्याम्पसका विविए, विविएस र एमविएस अध्ययन गर्ने विद्यार्थी बैंकमा इन्टर्नसीपका लागि आउने हुँदा आगामी दिनमा दुई संस्था विचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए । क्याम्पसलाई प्राप्त कम्प्युटर र प्रोजेक्टरको परिमाण सानो आकारको भए पनि मन ठूलो रहेको तथ्यलाई स्मरण गर्दै सहयोगको सम्मान गर्ने बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले शैक्षिक संस्था र वित्तीय संस्थाबिच कार्यगत एकता हुनु सकारात्मक सन्देश हो, भावी दिनमा अझै हातेमाला गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि क्याम्पसले अनलाइन मार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।

डेल कम्पनीको ब्राण्डेड दुईथान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक समाग्री बैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुली, प्रदेश निर्देशक रघुनाज अधिकारी, र शाखा प्रबन्धक माधव रिजालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई हस्तान्तरण गरेका थिए ।

वि.सं. २०२४ सालमा स्थापित बैंकले ५४ वर्ष पार गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैंकले मुलुकका सबै क्षेत्रमा शाखा विस्तार गरेर सेवा प्रवाह गरेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरमा २ लाख ५० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् । अत्याधुनिक प्रविधिसँग जोडिएको बैंकले कृषि क्षेत्रलाई मात्रै होइन वाणिज्य क्षेत्रलाई समेट्दै आफ्ना प्रडक्ट ग्राहकको पहुँचसम्म पुर्‍याएको छ ।

क्याम्पसको सभाहलमा कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमको सभापतित्व निर्देशक रघुनाथ अधिकारीले गरेका थिए भने सञ्चालन वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width