असारे विकास : एकै दिनमा डेढ अर्ब खर्च

धनबहादुर गुरुङ
असार ९, २०७८
Asare Budget 2

पोखरा । असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो । गण्डकीमा चालू आवको यस अवधिसम्म आधा पनि बजेट खर्च हुन सकेको छैन । तर आगामी आव सुरुअगावै ३ साताभित्र २४ प्रतिशत बजेट खर्च गर्ने अनुमान गरिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयले १८ दिनमा २४ प्रतिशत बजेट खर्च गर्ने अनुमान रहेको जनाएको छ । कार्यालयका अनुसार विनियोजितमध्ये चालू आवको असार ७ सम्म ४६ प्रतिशत मात्र रकम खर्च भएको छ । यसरी असार २५ सम्म थप २४ सहित कुल ७० प्रतिशत बजेट खर्च हुने प्रदेश लेखा निर्देशक इन्द्रप्रसाद पौडेलले बताए । ‘अहिलेसम्म ४६ प्रतिशतको हाराहारीमा बजेट विनियोजन भएको छ,’ उनले भने, ‘असार मसान्तसम्म ६५ देखि ७० प्रतिशत बजेट खर्च हुने अनुमान छ ।’ गत आवमा ६३ प्रतिशत बजेट खर्च भएकोमा यो वर्ष केही मात्रामा बढ्ने उनको अनुमान छ ।
असारमा गरिने विकास निर्माणका काम गुणस्तरीय नहुने भन्दै चौतर्फी आलोचना भए पनि यो परिपाटी नरोकिएको तथ्यांकले देखाउँछ । कार्यालयको तथ्यांकअनुसार यस वर्ष हालसम्म ४७.८७ प्रतिशतमात्रै पुँजीगत बजेट खर्च भएको छ भने चालुतर्फ ३९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
चर्चामा रहेको असारे विकासबारे भने प्रदेश लेखा नियन्त्रक पौडेलको फरक धारणा छ । ‘बाहिर चर्चामा रहेकोजस्तो सबै बजेट असारमै खर्च भएको भन्न त मिल्दैन,’ उनी भन्छन्, ‘चैत वैशाखमा भएको कामको क्लेम (दाबी) असारमा गर्दा खर्च असारको जस्तो देखिने हो ।’ जनताले आरोप लगाउने असारे विकास, हिले विकासको यथार्थ नभएको उनले बताए । योजना सकिनेवित्तिकै रकम विनियोजन गर्न पाएमा असारमा धेरै रकम खर्च नहुने उनको भनाइ छ ।

सबैभन्दा बढी प्रदेशसभामा ७८ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले २३ प्रतिशत बजेट खर्च गरेको छ ।

विगतका वर्षमा असार १५ पछि एकै दिन एक डेढ अर्ब खर्च भएका रेकर्ड रहेको पनि उनले सम्झिए । केही योजनामा भने विविध कारण असारमा नै हुने गरेको उनी स्वीकार्छन् । योजनाको प्रत्येक चौमासिकमा भुक्तानी गरिने हुनाले पहिलो चौमासिकमा १० प्रतिशतभन्दा कम नै खर्च हुने गरेको उनी बताउँछन् । दोस्रोमा २५÷३० र अन्तिममा ४६ प्रतिशत हाराहारीमा खर्च भएको उनले जानकारी दिए ।
गण्डकीमा यस वर्ष २१ अर्ब ७३ करोड ९१ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो । जसमध्ये असार ७ सम्म १० अर्ब ४० करोड ६३ लाख रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक पौडेलले जानकारी दिए । पुँजीगततर्फ अब असार मसान्तसम्म ११ अर्ब ३३ करोड २८ लाख बढी अर्थात ५२ दशमलव १३ प्रतिशत बजेटको काम गर्नुपर्ने देखिएको छ । चालूतर्फ १४ अर्ब १ करोड ४८ लाख बजेट छुट्याइएको छ । जसमा ५ अर्ब ६० करोड ४७ लाख खर्च भएको छ । चालूतर्फ अझै ६० प्रतिशत अर्थात ८ अर्ब ४१ करोड खर्च हुन बाँकी छ । सबैभन्दा बढी प्रदेशसभामा ७८ प्रतिशत बजेट खर्च भएको छ भने कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले २३ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेशका विभिन्न कार्यालय र आयोजनाका लागि पर्याप्त बजेट भए पनि खर्च गर्न नसकेको हो । खासगरी ठूला विकासे अड्डाले समयमा बजेट खर्च गर्न नसक्दा फ्रिज हुने अवस्था देखिएको छ । विगतमा पनि समयमा पुँजीगततर्फको बजेट खर्च अर्थात विकास निर्माणको काम हुन समयमा हुन नसक्दा करोडौं रुपैयाँ बजेट फ्रिज हुँदै आएको छ । असारमा काम गर्दा हतपतमा लतपत भने झैं गुणस्तरीय काम नहुने गरेको सर्वत्र गुनासो हुने गरेको छ ।
यस वर्ष कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञाले खर्चमा केही असर पर्ने प्रदेश लेखा नियन्त्रक पौडेलको भनाइ छ । गत वर्ष जम्मा खर्चको ३० प्रतिशत असार महिनामै खर्च भएको थियो । असार २५ सम्म सबै भुक्तानी दिएर खाता बन्द गर्ने चलन भए पनि अत्यावश्यक कामको विवरण हेरेर भुक्तानी दिन सकिने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width