संक्रमित खोज्न वडा तहमा एन्टिजेन

सविन लामिछाने
असार ७, २०७८
anti

दमौली । शुक्लागण्डकी ७ का ३५ वर्षीय पुरुषले वडास्तरमा खटिएको स्वास्थ्यकर्मीको टोलीसमक्ष स्वाब दिए । एन्टिजेनमार्फत गरिएको परीक्षणमा रिपोर्ट भने पोजेटिभ आयो ।

पोजेटिभ देखिएकालाई स्वास्थ्यकर्मीले परामर्श दिँदै स्वास्थ्य अवस्था सामान्य रहे होम आइसोलेसनमा बस्न सुझाउने गरेबमोजिम उनी पनि होम आइसोलेसनमै बसे । अहिले निको पनि भइसक्यो ।

‘कोरोना देखिए पनि बेलैमा परीक्षण हँुदा सचेतना अपनाउन सकियो,’ ती पुरुषले भने, ‘वडा वडामा कोरोना परीक्षण गरेर राम्रो भयो । अझै यसलाई सबैमाझ लैजान पाए राम्रो हुन्थ्यो ।’

सहरमा लकडाउनका कारण कोरोना संक्रमणदर घटेको देखिए पनि गाउँ तहमा संक्रमण फैलिएको पाइएपछि एन्टिजेन परीक्षणको दायरा बढाइएको हो ।

स्वास्थ्य कार्यालय तनहँुले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ । कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहले मागे जति किट उपलब्ध गराइने कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

सहरमा लकडाउनका कारण कोरोना संक्रमणदर घटेको देखिए पनि गाउँ तहमा संक्रमण फैलिएको पाइएपछि एन्टिजेन परीक्षणको दायरा बढाइएको हो ।

‘पिसिआर रिपोर्ट आउन ढिलाइ हुने र एन्टिजेन पनि पिसिआर सरह नै भएकाले यसको दायरा बढाएका छौं,’ उनले भने, ‘एन्टिजेनबाट १५/२० मिनेटमै नतिजा आउँछ । ’ कार्यालयमा पछिल्लो पटक ७ हजार २ सय एन्टिजेन किट आएको थियो । एन्टिजेनबाट कोरोना परीक्षणका लागि सबै पालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । एन्टिजेन परीक्षणका लागि दबाब पनि आउने गरेकाले जोखिममा रहेकालाई मात्रै परीक्षण गर्ने गरिएको छ । ‘कतिपय ठाउँमा चिनेजानेकाले यत्तिकै पनि एन्टिजेन गर्नुपथ्र्यो भन्नुहुन्छ तर अवस्था हेरेर मात्रै परीक्षण गराएका छौं,’ अधिकारीले भने । तर जिल्लाका कतिपय ठाउँमा भने समाजबाट अपहेलित हुने डरले सर्वसाधारण परीक्षणको दायरामा आउन मानेका छैनन् । ‘सक्रमितलाई समाजले हेर्ने नजर राम्रो नभएकाले लक्षण देखिए पनि कतिपय लुकाएरै बस्ने गरेका छन्, त्यसले जोखिम झन् बढाउँछ,’ उनले भने, ‘यसका लागि सकारात्मक सन्देश फैलाउन पनि उत्तिकै आवश्यकता छ ।’

कोरोना संक्रमणदर व्यास र शुक्लागण्डकीमा तीव्ररुपमा फैलिएको छ । व्यासमा कोरोना संक्रमण दर उच्च छ भने शुक्लागण्डकीमा मृत्युदर बढी छ । यस्तै ऋषिङ गाउँपालिकामा मृत्यु शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्लगण्डकीमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने व्यासमा १७ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, भीमाद नगरपालिकामा १२, भानु नगरपालिकामा ६, म्याग्दे गाउँपालिकामा ४, घिरिङ गाउँपालिकामा ३, बन्दीपुर गाउँपालिकामा २, देवघाट र आँबुखैरेनी गाउँपालिकामा १–१ जना र ऋषिङमा शून्य छ ।

Related News

सम्बन्धित समाचार

hero news full width