सम्पादकीयः परीक्षामा पोखरेल सरकार

आदर्श समाज सम्वाददाता
असार ६, २०७८
Editorial

विभिन्न आशंकाबीच प्रदेशको सत्तामा पुगेको गण्डकी सरकारले सहजै विश्वासको मत पाएको छ । विश्वासको मतले प्रारम्भिक परीक्षा त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पास गरेका छन् । अब अघि बढ्न त्यति सहज भने छैन । गठबन्धनका ४ दल र १ स्वतन्त्र सांसदको समर्थनका आधारमा यो सरकार बनेको हो । संघमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्न थालेपछि नेपाली राजनीतिमा तरंग मच्चियो । पटकपटक संसद विघटन गरियो । अझै पनि मुद्दा सर्वोच्चमा विचाराधीन छ । केन्द्रकै प्रभावका कारण प्रदेशहरुमा पनि असर प¥यो । संघीयता संस्थागत गर्न सबैभन्दा खरो रुपमा उत्रिएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार सबैभन्दा पहिला ढल्यो । अनि उनी पहिलो मुख्यमन्त्रीमात्र होइन पहिलो पूर्वअर्थमन्त्री बने । परिस्थितिले कांग्रेसका पोखरेललाई मुख्यमन्त्री बनायो ।

विश्वासको मतलगत्तै मुख्यमन्त्री पोखरेल मन्त्रिमण्डललाई पूर्णता दिनतिर लागेका छन् । जसरी बाहिर चर्चा भएको छ त्योभन्दा पनि गाह्रो छ मन्त्रिमण्डललाई पूर्णता दिने काम । पहिलो त गठबन्धनका दलहरु आआफ्नै तरिकाले खोचे थापेका छन् । हाम्रै कारणले यो सरकार बनेको भन्ने अहम् सानाठूला दल सबैलाई छ । भलै राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भएको छ । विश्वासको मत दिए पनि गुण र दोषका आधारमा मूल्यांकन गर्ने उसको प्रतिक्रिया छ । जनमोर्चा सरकारमा सहभागी नहुँदा सबैभन्दा खुदो जनता समाजवादी पार्टीलाई भएको छ । २ सांसद रहेको जसपाले यो सरकारमा २ जना नै मन्त्री पाउँदै छ । अझ उसले त अर्थ मन्त्रालयमा दाबी गरेको छ । माओवादी केन्द्रले पनि भौतिक पूर्वाधार मन्त्रालय मागेको छ । प्रभावशाली २ मन्त्रालय दिएर कांग्रेसले कसरी सरकारको नेतृत्व गर्न सक्ला र ? त्यसैले मन्त्रालयको जिम्मेवारी बाँडफाँट नै सबैभन्दा ठूलो चुनौती छ यो सरकारका सामु ।

आखिर पोखरेल मुख्यमन्त्री त भइसकेका छन् । अब चुनौतीलाई चिर्दै उनी अघि बढ्नुपर्ने छ । त्यसो त यसअघिको सरकारले प्रदेशको एकखालका संरचना तयार पारिदिएको छ । अनि ७ वटा मन्त्रालयबाट ११ वटा पनि बनाइदिएको छ । यसका कारण पनि यो सरकार बन्न सकेको हो । यदि मन्त्रालय ७ वटामात्रै हुन्थे भने गठबन्धनका दलहरु सरकारमा जान्थे नै भनेर भन्न सकिँदैन । किनभने भागबण्डा नै पुग्दैनथ्यो । अनि सीमित बजेट, नागरिकको धेरै अपेक्षा छ । विगत सरकारले सुरु गरेका धेरै अधुरा योजना छन् । अनि नयाँ सरकार बनेपछि गठबन्धनका दलहरुको घोषणापत्रका प्रतिबद्धतालाई पनि पूरा गर्नुपर्नेछ । जेहोस् अवस्था सहजै रहेमा आगामी चुनाव गराउने यही सरकारले नै हो । त्यसैले अवसरलाई सदुपयोग गरे संयमित भएर कार्यसम्पादन गर्न जरुरी छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads