वालिङको नीति तथा कार्यक्रम सार्वजनिक

तोलाकान्त बगाले
असार ६, २०७८
walling niti

वालिङ  । वालिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकतामा राख्दै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

स्मार्ट नगरको अवधारणामा अगाडि बढेको वालिङले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिक उपयोग, र परिचालन गरी विकासको गति तीव्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय, प्रदेश र अन्तरपालिकाको साथै छिमेकी स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने विषय प्राथमिकताका साथ नीति तथा कार्यक्रमले समेटेको छ ।

नगर प्रमुख दिलीपप्रताप खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई पनि प्राथमिकता दिएको जनाए । कोभिड १९ विरुद्ध लाग्न स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताए ।

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघसंस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख खाँणले बताए ।

स्वास्थ्यसम्बन्धी नीतिमा सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई पारदर्शी र थप व्यवस्थित बनाउने, राष्ट्रिय मापदण्डबमोजिम आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने, मासिकरुपमा प्रत्येक वडामा चिकित्सकको व्यवस्थासहित नागरिकको स्वास्थ्य परीक्षण गर्ने, नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने, नगरबासीलाई स्वास्थ्य बीमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माणलाई अगाडि बढाउने लगायत छन् । यस्तै, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तीमा १÷१ वटा एम्बुलेन्स व्यवस्था गर्ने, गह्रौं प्राथमिक अस्पतालबाट मोबाइल हाइवे, टेली सर्भिस, सर्भिस कार्ड लागु गर्ने, नगरभित्र पाठेघरको क्यान्सरको पहिचान तथा मिर्गौला परीक्षणको दायरा फराकिलो बनाई समयमै रोग पहिचान गरी रुग्णता दर र मृत्युदर कम गर्ने, नगरबासीलाई स्वास्थ्य बीमाको दायराभित्र समेटिने, विपन्न नागरिकलाई नगरबाटै बीमा गर्ने व्यवस्था मिलाउने, बन्दाबन्दी तथा कोभिड १९ का कारणले रोजगारी गुमाएका ब्यक्तिहरुलाई लक्षित गरी राहत उपलब्ध गराउने, बर्थिङ सेन्टर बिस्तार गर्ने लगायत छन् ।

नगर सबै विद्यालयलाई एकै प्रकारको रंगरोगन लगाउने, एकै प्रकारको स्थानीय पाठ्यक्रम लागु गर्नेलगायत नीति तथा कार्यक्रममा छन् ।

नगर सबै विद्यालयलाई एकै प्रकारको रंगरोगन लगाउने, एकै प्रकारको स्थानीय पाठ्यक्रम लागु गर्ने, आवश्यकता अनुसार विद्यालय समायोजन गर्ने, प्रत्येक वडामा एउटा माध्यमिक विद्यालयलाई नमुना विद्यालय र इनोभेसन सेन्टर खोल्दै लैजाने, अंग्रेजी माध्यममा सञ्चालन गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको समग्र व्यवस्थापन सुधारका लागि बायोमेट्रिक हाजिरी व्यवस्था गर्ने, विद्यालयलाई बालमैत्री र फरक क्षमतामैत्री बनाउने, सबै माध्यमिक तहमा सेनेटरी प्याडको प्रयोगलाई व्यवस्थित बनाउन अटोमेटिक सेनिटरी प्याड मेसिन जडान गर्ने व्यवस्था मिलाउने, स्मार्ट क्लब गठन गरी स्मार्ट सर्भिसबारे जानकारी गराउने, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाउने, विद्यालयमा स्कुल नर्स कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा योग शिक्षाको बिस्तारका लागि शिक्षकलाई तालिम दिने शिक्षासम्बन्धी नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरका १४ वटै वडाका प्रत्येक एक गाउँलाई प्राविधिक तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, एक घर एक टनेल कार्यक्रम, कृषिलाई व्यवसायीकरण गर्ने, हाइटेक नर्सरी तथा पोर्टेबल शीतभण्डार स्थापना, टनेल तथा सरल थोपा सिंचाइजस्ता प्रविधिको विस्तार गर्ने, उत्पादनमूलक कार्यक्रममा सबैको सहभागिता र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, पशुपंक्षी र कृषिमा आत्मनिर्भर बनाइने, कृषिमा सहुलियतपूर्ण ब्याजदर सुविधालाई नगरपालिका जमानत बसी ऋण उपलब्ध गराउने, उत्कृष्ट तथा नमूना किसानहरुलाई अनुदान दिने, बिउँ पुँजीलाई यसवर्ष पनि निरन्तरता दिइने, पशु तथा कृषि बीमा सञ्चालन गरिने, स्थानीय बीउ संरक्षण र विकास गर्ने, उपयुक्त वडा छनौट गरी एक घर एक घार नीति अबलम्वन गर्ने, व्यवस्थित बधशाला निर्माण गर्ने, फलफूल तथा तरकारी प्रशोधन केन्द्र स्थापना गर्ने, आँधीखोलाको किनार क्षेत्रका बगरमा बेतबाँस, खरबुजा, बयर खेतीलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा छ ।

पर्यटकीय क्षेत्र पहिचान गरी पर्यटक भित्र्याउने, आवश्यक पूर्वाधार निर्माण गर्ने, होमस्टेमा गएर खाने बानीको विकास गर्नका लागि विशेष छुट दिने व्यवस्था मिलाउने, विभिन्न जातजाति, भेषभूषाको संरक्षण, बाजागाजाको संरक्षण गर्ने, पर्यटकीय सूचना केन्द्र स्थापना गर्ने पर्यटनसम्बन्धी नीतिमा समावेश गरिएको छ ।

यस्तै, उद्योग स्थापना, घरेलु तथा साना उद्योगको विकास तथा प्रवद्र्धन, औद्योगिक क्षेत्र विस्तार, सार्वजनिक निजी साझेदारीमा केवलकार, पार्क, सडक, उद्योग स्थापना गर्ने, उद्योगलाई आकर्षित गर्नका लागि कर छुटको व्यवस्था मिलाउने, सहुलियत दिने, वालिङ मार्ट र होल्डिङ कम्पनी स्थापना गरी थप व्यवस्थित गरिने नीति छ ।

प्रत्येक वडामा एउटा नमूना सहकारी स्थापना र सञ्चालन, उद्यम सहकारी तथा कृषि सहकारी स्थापना, भिन्न क्षमता भएका जेष्ठ नागरिक र जोखिममा परेका नागरिकका लागि सुरक्षित सेल्टरको व्यवस्था, नगरवासीलाई शुद्ध, भरपर्दो र गुणस्तरीय खानेपानीको सेवाका लागि १ घर १ धारा नीति सबै वडाहरुमा विस्तार गर्ने, मुख्य बजार क्षेत्रमा ढलको व्यवस्थापनलाई प्रभावकारीरुपमा अगाडि बढाउने, १४ वटै वडामा रहेका खरका छाना भएका घरलाई विस्थापित गरी जस्तापाता लगाउने कार्यलाई निरन्तरता दिने, नगरभित्रका सबै कच्ची सडकहरुमा बाह्रै महिना निर्वाधरुपमा सडक सञ्चालन गर्ने, सिद्धार्थ राजमार्गलाई बिस्तार गर्ने र सडकको क्षेत्राधिकार भित्रका घरटहरा हटाउने र दुर्घटनामुक्त क्षेत्रको रुपमा विकास गर्ने, डेडिकेटेट लेन विकास गर्ने, बसपार्क निर्माण गर्ने, सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने, सडकको छेउछाउमा बोट लगाएर हरित सहरको रुपमा विकास गर्ने, टेम्पोलाई व्यवस्थित गर्ने, नयाँ बजार र नयाँ बस्ती विकासका लागि योजनाबद्ध विकास गर्ने, बायटारीदेखि छाङ्छाङ्दीसम्म आँधीखोला करिडोर सम्पन्न गर्ने, वालिङ–ग्रहौंसुर–बाहुनथान केवलकारको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रम छ ।

नगरका सबै वडाका घरमा पिंक कलर अनिवार्य गर्ने, सुर्कौदीमा व्यवस्थित सहर विकास गर्ने, एक घर दुई रुख तथा एक घर एक गमला अभियान सञ्चालनलाई प्रभावकारी बनाउनेजस्ता नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

नगरभित्र प्लाष्टिकको फोहोरलाई निरुत्साहित गर्ने, नगरपालिकालाई पूर्ण सरसफाइयुक्त नगर बनाउने, विपद् व्यवस्थापनका लागि अस्थायी सेल्टर तथा उद्धार गर्न सहजताका लागि आवश्यक तयारी गर्ने, जडिबुटीहरुको उत्पादन र बजारीकरणमा विशेष जोड दिने, फोहोरलाई आधुनिक प्रविधिबाट प्रयोग गरी स्रोतकारुपमा विकास गर्ने, दिसाजन्य लेदो व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित तरिकाले स्रोतरुपमा विकास गर्ने, सम्भव भएसम्म नजिकका स्थानीय सरकारहरुसँग सहकार्य गरी बारुणयन्त्र सञ्चालन गर्ने, जननिर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता बनाई लागु गर्ने, खेल क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, खेल प्रतिष्ठान बनाउने, मेयर कप खेलकुदलाई नियमित गर्ने, प्रत्येक वडामा खेल मैदान स्थापना गर्ने, वडा र नगरका विभिन्न स्थानलाई फ्री वाईफाई जोन बनाउने, मोबाइल एपमार्फत घरघरबाटै सेवा लिने कार्यलाई निरन्तरता दिने रहेको छ ।

आन्तरिक आयमा सबल बनाउन राजस्वमा सुधार गरी सहज, सरल र दायरा फराकिलो बनाई सर्वसुलभ बनाउने, आन्तरिक आय वृद्धिमा राजस्वका करका विभिन्न क्षेत्र पहिचान गर्ने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्टाचार अन्त्यका लागि गेट–वेमार्फत भुक्तानी व्यवस्था मिलाउने, न्यायिक समितिलाई व्यवस्थित र सर्वसाधारणको पहुँमा पु¥याउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads