निगालोको चोया, जिउने सहारा

धनबहादुर गुरुङ
असार ६, २०७८
Chet Bdr Grg 123

पोखरा । छेवैमा ह्वील चियर विश्राम दिएर चेतबहादुर गुरुङ स्याँखु बुन्दैछन् । गत सातादेखि सुरु गरेको काम सक्नै आँटेका छन् । स्याँखु बेचेरै १५ सय कमाई हुँदो रहेछ । त्यही पैसाले बिहानबेलुका छाक टारौंला भन्ने उनको सोचाइ छ ।

पोखरा २०, भलामका अस्थायी व्यापार केन्द्रमा बसेर उनले निगालोको चोयाबाट विभिन्न सामान बुन्छन् । कोरोना कहरले निम्त्याएको लकडाउनले काममा कुनै बाधा परेको थिएन । मुखमा मास्क त थियो, कुराकानीकै क्रममा केही तल सारे र भन्न भ्याए, ‘पहिला त अलि अलि आउँथे, केही न केही किनेर लान्थे, आजभोलि गाह्रो छ ।’

चेतबहादुरले बाँसको चोयालाई विभिन्न आकृति दिन थालेको ३० वर्षभन्दा बढी भयो । उनको सानैदेखि कम्मरमुनिको हर चल्दैन । ह्वीलचियर सहार बनेको छ । चोया बुनाइ दिनचर्या । त्यही सामान बेचेर आएको पैसा जिउने आधार ।

उनको जीवनले ५३ वसन्त पार गरिसक्दा धेरै हन्डर र ठक्कर खाए । कतिपय नमिठा क्षण र अप्ठ्यारा सिंढी धेरै पार गरे । ७० कटेकी आमा उनको साथमै छिन् । ६ वर्षको उमेरमै बाबु बितेपछि उनको जीवनमा थप चुनौती थपियो । ‘जन्मदा त ठिकै थिए रे । पछि के भयो भयो,’ आमाले भनेको कुरा सझिए, ‘डेढ वर्षको छँदा आमाको काखमा दूध खाँदाखाँदै अचेत भएपछि १० घण्टा पछिमात्र होस् खुल्दा खुट्टा चलेन ।’ घरका अभिभावक बावुलाई सानैमा गुमाएपछि उनको जीवनमा झनै ठूलो संकट आइपर्‍यो ।

आर्थिक अवस्था कमजोर हुँदा खर्च धान्न धौ धौ भयो । जागिर खाने र अन्य पेसा व्यवसाय गर्ने अवस्था नभएपछि अर्को विकल्प रोज्नै पर्ने बाध्यता आइपर्‍यो । सानै उमेरदेखि तीक्ष्ण दिमाग र नयाँ काम सिक्ने चाहना राख्ने उनले छिमेकीले बाँसको काम गरेको हेरेरै चोयाको काम सिके । बिस्तारै डोकोसँगै नाम्लो, स्याखु, कुचो, मोडा बनाउन सिके । त्यही सीप अहिले उनको सहारा बनिदिएको छ ।

अपांगता भएका ५३ वर्षीय चेतबहादुर निगालोबाट बनेका सामान बिक्री गरेर जीवन गुजारा गर्दै आएका छन् ।

२४ वर्षअघि विजयपुरबाट भलाम झरेका उनले भलामकै घरबाट चोयाको काम गर्न थालेको बताए । सामान किन्न घरमै मानिस आउँथे । साढे १ वर्षअघि मिलन नारी जागरण नेपालको सहयोगमा बाटो छेवैमा अस्थायी व्यापार केन्द्र बनाएपछि सुविस्ता भएको छ, उनलाई । ‘पहिला घरमै बुन्थें, घरबाटै धेरैले किनेर लग्थे,’ उनले भने, ‘केन्द्र बाटोमै भएपछि सबैले हेर्दै हिड्छन् मन परेकाले किन्छन् पनि । अस्थायी व्यापार केन्द्र बनाउन नेपाली कांग्रेसनेतृ सरस्वती गुरुङले पहल गरेको उनले सम्झिए । आजभोलि बिहान नझुल्किदै काममा पुग्ने उनी साँझ घाम अस्ताएर झिसमिसे भएपछि घरमा पुग्छन् । उनलाई चियादेखि खाना खाजा आफ्नी बहिनीले पु¥याइदिन्छिन् । आमा र आफ्नो सहयोगका लागि बहिनी पनि सँगै बस्छिन् । ‘दाइले यस्तो भएपनि आफ्नो लागि आफैले गरिहनुभएको छ,’ उनको बहिनीले भनिन्, ‘आफूलाई पुग्ने कमाउनुभएको छ, कहिलेकाहीँ घरखर्च पनि दिनुहुन्छ ।’ उनले बनाएका सामान किन्न पोखरादेखि मान्छेहरु जाने गरेको उनले बताए । डोको ८ सय, नाम्लो ३ सय, कुचो १ सय उनले रेट नै तोकेका छन् । उनले त्यतिमात्र नभएर चोयाबाटै सजावटका सामानसमेत तयार गरेर बेच्छन् । उनकोमा अझै बढि लाहुरे हुन डोको दौडको अभ्यास गर्नेहरु अझ धेरै जाने उनी बताउँछन् ।

मानिस बजार छिरेपछि गाउँमा डोको बुनेर बेच्ने चलन हराउँदै छ । तर चेतबहादुरले लोप हुँदै गएको यो पेसालाई चुनौती साथ निरन्तरता दिइरहेका छन् । अशक्तले एकातर्फ चुनौतीको सामना गर्दै छन् भने अर्कोतर्फ परम्परागत पेसा पनि जोगाउँदै छन् । गाउँमा डोको बुन्ने र बेच्ने पुरानो चलन हो । तर यो चलन बिस्तारै हराउँदै लोप हुने अवस्थामा पुगेको छ ।

‘जिन्दगीमा एउटा न एउटा सीप आवश्यक रहेछ, म मेरो कामप्रति खुसी छु,’ चेतबहादुर भन्छन्, ‘अरुलाई सिकाउन परे पनि तयार छु ।’ डोको बुन्न आवश्यक निगालो उनले आँटीघर, पीपलटारी, घारी लगायत गाउँबाट खरिद गर्छन् । कोहीले आफै निगालो ल्याएर बनाइदिन भन्छन् । अनि उनले चोया काढेर सामान बनाउँछन् र पारिश्रमिक लिन्छन् । काममा कुनै बाधा नभए पनि लकडाउनले पहिलाको जस्तो सामान बिक्री नभएकोमा भने उनलाई चिन्ता छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads