१५ हजारले पाएनन् कोभिसिल्ड दोस्रो डोज

आदर्श समाज सम्वाददाता
असार ५, २०७८
Vaccine

नवलपुर । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएकामध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोज खोप लगाउन पाएनन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत १६ हजार ५ सयको हाराहारीमा कोभिसिल्ड पहिलो डोज खोप लगाएकोमा १५ हजार हाराहारीमा दोस्रो डोज खोप लगाउन नपाएका हुन् ।
भारतमा कोरोनाको दोस्रो लहर एक्कासि सुरु भएपछि भारतले अन्य मुलुकमा खोप पठाउन रोकेका कारण उनीहरुले खोप लगाउन नपाएका हुन् । १६ हजार ५ सयमध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार गरी करिब १ हजार ५ सयले दोस्रो डोजको खोप लगाएका छन् ।
दोस्रो डोजको खोप लगाउन बाँकी १५ हजारमध्ये अधिकांश ६५ वर्षमाथिका ज्येष्ठ नागरिक छन् ।
भारतबाट आएको कोभिसिल्ड नवलपुरमा पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारी गरी ३ हजार १ सयभन्दाा बढीले पहिलो डोज लगाएका थिए भने १३ हजार ३ सय ४५ जना ६५ वर्षमाथिका ज्येष्ठ नागरिक थिए ।
कोभिसिल नआएपछि उही फर्मुलाबाट बनेको जुन सुकै देशबाट आएको खोप भए पनि १५ हजारलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइदिने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
दोस्रो डोजको खोप ४ महिनाभित्र लगाइ सक्नुपर्ने हो तर ३ महिना बितिसक्दा पनि दोस्रो डोज पाउनेमा ढुक्क हुने अवस्था छैन ।
५ हजार ज्येष्ठ नागरिकलाई भेरोसिल
पूर्वी नवलपरासीमा झण्डै ५ हजार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसिल लगाएका छन् । नवलपुरमा ५ हजार २५ डोज खोप आएकोमा ४ हजार ९ सय ३१ जना ज्येष्ठ नागरिकले भेरोसिल लगाएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
त्यसैगरी काठमाडौंलगायतको सहरमा पहिलो डोज भेरोसिल खोप लगाएर छुटेका १९ जनाले नवलपुरमा दोस्रो डोज लगाएको समेत उनले बताए ।
नवलपुरको गैंडाकोटमा ९ सय ६०, बौदीकालीमा १ सय ७४, हुप्सेकोटमा ४ सय १७, देवचुलीमा ७ सय ७६, कावासोतीमा १ हजार २५, मध्यविन्दुमा ८ सय ७०, विनयी त्रिवेणी ४ सय ४ जनाले पहिलो डोज खोप लगाए ।

Related News

सम्बन्धित समाचार

hero news full width