विश्वासको मतपछि अब मन्त्रिमण्डल पुनर्गठन तयारी

प्रकाश ढकाल
असार ५, २०७८
cm pokhrel @ parle (2)

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले शुक्रबार राखेको प्रस्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका हुन् ।

५९ सांसद रहेका प्रदेशसभामा ३१ सांसदले पोखरेलको पक्षमा मतदान गर्दा २७ सांसद विपक्षमा उभिए । सत्ता साझेदार दल नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ तथा स्वतन्त्र सांसद राजीव गुरुङले पक्षमा मतदान गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का २७ सांसदले विपक्षमा मतदान गरे ।

संविधानको धारा १६८ (५) अनुसार २९ जेठमा मुख्यमन्त्री नियुक्त उनले आफ्नो गठबन्धन गुम्न दिएनन् । गण्डकीमा नेकपा (एमाले) र माओवादी केन्द्र पूर्ववत् फर्किएपछि अल्पमतमा परेको पृथ्वीसुब्बा गुरुङको सरकारविरुद्ध २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । गुरुङले वैशाख २६ मा राजीनामा दिएको ३ दिनभित्रै ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको सपथ लिएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले २७ जेठमा विश्वासको मत गुमाउँदा पोखरेल सरकार गठन भएको हो ।

मन्त्रीमण्डलमा रस्साकस्सी
मुख्यमन्त्री पोखरेलले २९ जेठमै ५ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् । कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले बिनाविभागीय मन्त्रीको सपथ लिएका छन् । मन्त्रिमण्डल बिस्तार र कार्यविभाजन सहमतिको आधारमा हुने मुख्यमन्त्री पोखरेलले बताए । स्रोतका अनुसार गठबन्धनबीचमा मन्त्रालयको संख्या टुंगिए पनि विभाजन टुंगो लागेको छैन । कांग्रेस र माओवादीलाई ४÷४, जसपालाई २ र स्वतन्त्र सांसद मनाङेलाई १ मन्त्रालय दिने सहमति छ । जसपाले कांग्रेससँग २ मन्त्रालयमा लिखित सहमति गरेको छ । उसको दाबी अर्थ मन्त्रालय छ । मन्त्री हरिशरण आचार्यले जसपाले विश्वासको मत दिनुअघि कांग्रेससँग आफ्नो माग टुंग्याएको हो ।

माओवादी भौतिक मन्त्रालय सहित सरकारमा जाने तयारीमा छ । ‘हाम्रो दाबी भौतिक हो । त्यहि मन्त्रालय लिएर सरकारमा जाने कुरा भएको हो,’ उपनेता रामजी बरालले भने, ‘हाम्रोबाट कि दलको नेता नभए उपनेताले नेतृत्व गर्ने सल्लाह भएको छ । अरु मन्त्रालयको जिम्मेवारी विभाजन भएपछि व्यक्ति हेरेर पठाउछौं ।’ भौतिकमा राजीव गुरुङको पनि दाबी छ । उनलाई भौतिकबाटै टुक्रिएको मन्त्रालय दिने बुझिएको छ ।

विपक्षीको खरो विरोध
विश्वासको मत लिन संसदमा प्रस्ताव पेस गरेका मुख्यमन्त्री पोखरेललाई विपक्षीले ‘अनिष्ट’ को जवाफ फर्काएका छन् । सरकार जोगिए पनि उनले विपक्षीको कडा खप्की ब्यहोर्नुपर्ने निश्चित छ । उनीहरु सदनको पहिलो दिनमै सरकारविरुद्ध खरो उत्रिए । अहिलेको सरकारलाई अपवित्रमात्रै भनेनन्, अनिष्टको संकेत गरे । एमाले सांसद कृष्णबहादुर थापाले सरकार गठन भएकै दिनदेखि अनिष्ट सुरु भएको बताए । ‘सरकार सुरुपछि अनिष्ट पनि सुरु भयो । सरकार बनेको लगत्तै ३१ र १ गते लगातार वर्षा भएर धेरै जनताको जीउधनको क्षति भएको छ । योभन्दा पहिले यस्तो कहिलै हामीले देखेका थिएनौं,’ उनले भने, ‘यो सरकारले ती जनताको राहत र पुनरुत्थान गरोस् । माग गर्न चाहन्छु ।’

उनले मुख्यमन्त्री नेपालीलाई वृद्धभत्ता खाने बेलाको भन्दै असक्षम भएको तर्क गरे । ‘सेताम्मे कपाल फुलेको छ । आदर गर्ने व्यक्तिको रुपमा हुनुहुन्छ । पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्ताको सुरुवात गर्नुभयो १ सय रुपैयाँबाट । अहिले प्रधानमन्त्रीले ४ हजार पु¥याउनु भएको छ,’ उनले भने, ‘उहाँले चाहनुभयो भने त्यो सेवा लिनका लागि प्रदेशकै योग्य र सक्षम नागरिक हुनुहुन्छ । त्यसप्रति हामी गर्व गर्नुपर्छ ।’

धनञ्जय दवाडीले अहिलेको गठबन्धन अपवित्र भएको भन्दै यसले लोकतन्त्र बलियो नहुने बताए । ‘तपाईंहरुको गठबन्धनले लोकतन्त्रलाई कसरी बलियो बनाउछ ? संसद भत्ता खानका लागि, बैठक बस्न र लोगोका लागि मात्रै होइन । जटिल राजनीतिक घटनाको फैसला दिनका लागि हो,’ उनले भने, ‘दस्तावेजको हिसाबले माओवादी केन्द्रले कांग्रेसलाई दुष्मन मान्छ । यो गठबन्धनमा संघीयता नमान्ने पनि छन् । त्यसैले यो अराजनीतिक हो, अप्राकृतिक हो ।’

सांसद मनबहादुर गुरुङ सरकारले जनताको रक्षा गर्न नसकेको बताउँछन् । ‘बाढीपहिरोले सखाप बनाएको छ । ६ दिन हुँदा पनि १५ मिनेटमा पुग्ने सिक्लेसमा सरकार पुग्न सकेन । यो सरकारप्रति मैले कसरी विश्वास गर्ने ?, उनले भने, ‘सबैले भनिरहेका छन् यो सरकार खिचडी सरकार हो । त्यस कारण मैले कुनै पनि हालतमा समर्थन गर्न सक्दिनँ ।’ विचार र सिद्धान्तका हिसाबले कहिलै एक हुन नसक्ने पार्टीहरुको गठबन्धन लामो नजाने उनको तर्क छ ।

अर्का सांसद राजीव पहारीले सरकारको गठबन्धनलाई ‘नृसिंह’ को संज्ञा दिएका छन् । ‘सरकार गठन, पुनर्गठन सामान्य हो । जुन पृष्ठभूमिमा नयाँ सरकार बनेको छ । यो अप्राकृतिक, अपवित्र छ । प्रदेशका जनताको ईच्छा अनुसार बनेको छैन,’ उनी भन्छन्, ‘केन्द्रका नेताहरुको चोचोमोचोका आधारमा बनेको छ । केन्द्रको रिमोट कन्ट्रोलबाट बनेको छ । यसको रुप न हाँसको चाल, न बकुल्लाको चालजस्तो छ । एकले अर्कालाई प्रमुख शत्रु करार गरेकाहरू एक ठाउँमा हुनुहुन्छ । यो नृसिंहजस्तो छ ।’

सांसद मीना गुरुङले सरकार कमजोर धरातलमा उभिएको बताइन् । ‘गठबन्धनको पुलिन्दा कुनै दिन भत्किन सक्ने कुरा सबैबाट टीकाटिप्पणी भएको छ । स्वार्थलोलुप भएर पदका लागि मिल्नुभएको छ,’ उनले भनिन्, ‘प्रदेशलाई समृद्ध बनाउन लाग्नु भएको हो भने प्रमाण सहित अगाडि बढ्नुस् । नत्र अहिले नभएपनि जनताले निर्वाचनमा मूल्यांकन गर्ने छन् ।’

प्रमुख सचेतक मायानाथ अधिकारीले सरकारको सुरुवात नै गतिलो नभएको टिप्पणी गरे । ‘सुरुवातले नै सरकारको आयु देखाउँछ । विगतको सरकार स्थिरताका लागि थियो । यसले विकास र समृद्धि हुन्छ भनेर आएको थियो । त्यो स्थिरता तोडेर नयाँ गठबन्धन बन्यो,’ उनले भने, ‘यो गठबन्धनले समृद्धि दिन्छ भन्ने विश्वास छैन । यो सत्ताका लागि मात्रै बनेको हो ।’

सत्तापक्षको बचाउ
माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले विकल्पविहीन अवस्थालाई चिर्न सकेकोमा खुसी व्यक्त गरे । ‘संसद विघटन भएको भए अरु विकल्प हुँदैनथ्यो । विकल्पविहीन अवस्थामा जानबाट हामीले रोक्यौं,’ उनले भने, ‘अब यो सरकारको मुख्य काम त अघिल्ला सरकारको कामको पूर्णता दिने हो । समृद्धिको पना पूरा गर्ने तर्फ हामी दृढ छौं ।’ उनले कांग्रेससँग पार्टी एकता नभई कार्यगत एकता गरेको दोहो¥याए । ‘दस्तावेजमा विभिन्न शक्तिको मूल्यांकन गर्ने बेला समीक्षा गरेको हुन सक्छ । तर हामीले कांग्रेससँग पार्टी एकता गरेको होइन, कार्यगत एकता हो, चुमानले थपे, ‘अहिले उहाँहरुसँग इस्यु मिल्यो । संविधान र संसदको रक्षा गर्ने कुरामा इस्यु मिलेपछि एकता भएको हो ।’ माओवादी सांसद रामजी बरालले आफूहरु अग्निपरीक्षामा रहेको भन्दै समीक्षा गर्न सुझाए । ‘हामी अग्निपरीक्षामा छौं । जनताले निगरानी गरिरहेका छन् । समीक्षा गर्ने बेला भैसकेको छ,’ उनले भने, ‘जटिल स्थितिमा हामी छौं । हामी जनताको सेवक हौं । हामी सबैले त्यही अनुभूति राखौं । मिलेर अगाडि बढौं ।’
कांग्रेस सांसद ओमकला गौतमले अहिलेको सरकार जनताप्रति वफादार रहेको दाबी गरिन् । ‘माननीयहरुले खिचडीजस्तो गठबन्धन भन्नुभयो । खिचडी सधैं पाक्दैन, विशेष दिन पाक्छ,’ उनले भनिन्, ‘यो सरकार जनताप्रति उत्तरदायी नभएको भए विश्वासको मत लिनुपर्ने संघारमा बाढी पीडित भेट्न जाँदैनथ्यो । यो अपवित्र छैन ।’ अर्का सांसद विष्णु लामिछानेले प्रदेशको जिम्मेवारी गठबन्धनको काँधमा आएको भन्दै सबैसँग सहकार्य गरेर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । प्रकाशचन्द्र दवाडीले विगतको सरकारले राम्रो काम गर्न नसकेपछि नयाँ विकल्प खोज्नुपरेको तर्क गरे । ‘अघिल्लो वर्ष दिने भनेको राहत पनि अहिलेसम्म दिएको छैन । यो सरकार बनेपछि बल्ल राहत बाँड्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘साढे ३ वर्ष सरकार चलाउनुभयो अहिलेसम्म गरेको काम के हो त ? प्रश्न गर्न चाहदैनौं । हामी सक्ने काम मात्रै गर्छौं भन्छौं । भएको कामलाई भयो भन्छौं ।’

जसपाकी सांसद धनमाया लामाले समर्थनमात्रै जनाइन्, कुनै प्रतिक्रिया दिइनन् । ‘यो सरकारलाई हाम्रो दलले समर्थन गर्ने निर्णय गरेको छ । धन्यवाद ।’ अरु प्रतिक्रिया नदिई उनी रोष्टमबाट बाहिरिन् । सुरुमै मन्त्री बन्नुपर्ने उनको माग थियो । तर दलगत रुपमा एकएक जना मन्त्रीले सपथ लिएपछि उनको पालो पछि सर्‍यो । आफूलाई सरकार बाहिर राख्ने आशंकामा उनले फरक प्रतिक्रिया दिएकी थिइन् । सत्ताको समर्थक दल जनमोर्चाकी पियारी थापाले गुण र दोष आधारमा सरकारको समर्थन गर्ने बताइन् । ‘सरकारको राम्रा काममा समर्थन गर्छौं । तर अहिलेको कार्यशैली फेर्नुपर्छ,’ उनले भनिन्, ‘जनमोर्चा प्रतिगमनविरुद्ध लाग्ने नीतिमा छ । त्यसैले यो सरकारलाई हाम्रो समर्थन रहन्छ ।’ उनले कोभिड र बाढीपहिलो पीडितको उपचार तथा राहतमा लाग्न सरकारलाई सुझाव दिइन् ।

संघीयता मजबुत बनाउन मुख्यमन्त्रीको आग्रह
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थिरतालाई सम्झेर आफूलाई मतदान गर्न आग्रह गरेका थिए । संसदमा विश्वासको मतसम्बन्धी प्रस्ताब टेवल गर्दै उनले संसद विघटन दुर्घटनाबाट जोगाउनसरकारलाई विश्वास गर्नुपर्ने बताएका थिए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्ने सन्दर्भमा राजनीतिक घटनाको परिवर्तनले हामीमाथि त्यो जिम्मेवारी आएको छ । संघीयता मजबुत बनाउन र जनताको मतादेश सुरक्षित गर्न यो सरकारलाई समर्थन गरिदिन सभालाई अनुरोध गर्दछु,’ उनले भने, ‘स्थायित्वतिर जाने एक मात्र उपाय भएको हुनाले, बीचैमा संसदलाई विघटन गरेर अस्थिरतातिर जान नदिन यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नभएको हुनाले विश्वास दिनुहुन अनुरोध गर्दछु ।’
अहिलेको सरकारले विकास निर्माण र प्रदेशको समृद्धिका योजना बजेट मार्फत प्रस्तुत गरिसकेको भन्दै उनले सोको कार्यान्वयनबाट संघीयता संस्थागत गर्न सहज हुने बताए ।
यसैबीच, छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार समृद्धिको दिशामा अघि बढेको बताउँदै अधिकांश विषय बजेटले पनि समेटेको दाबी गरे । उनले आफूलाई विश्वासको मत लिन आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width