आर्थिक उपार्जनका लागि बंगुर वितरण

तोलाकान्त बगाले
असार ५, २०७८
Bangur Bitaran 3

वालिङ । वालिङ नगरपालिकाले न्यून आय भएका परिवारको आर्थिक उपार्जनका लागि बंगुरका पाठापाठी वितरण अभियान थालेको छ । आर्थिक स्तर न्यून भएका नागरिकको माग आधारमा नगरपालिकाले बंगुरपालनको सम्भावना भएका ३ ठाउँलाई ‘बंगुर पकेट कार्यक्रम’ घोषणा गरी व्यावसायिक बंगुरपालनलाई अगाडि बढाएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘बंगुर पकेट कार्यक्रम’ अन्तर्गत नगरपालिकाले वालिङ ८, पारिवन वन उपभोक्ता समूहमा आबद्ध २४ जनालाई जनही २÷२ वटा दरले ४८ वटा बंगुरका पाठापाठी वितरण गरेको हो । यसअघि आइतबार वालिङ ७, ताप्केस्थित सिर्जना बंगुरपालन समूहलाई ३५ पाठापाठी वितरण गरिसकेको छ । अब वालिङ ६, लाङघाली बंगुरपालन समूह धनुबाँसेलाई वितरण गर्ने तयारी छ ।
वडा ६, लाङघाली बंगुरपालन समूह धनुबाँसे, वडा ७, सिर्जना बंगुरपालन समूह र वडा ८, पारिवन वन उपभोक्ता समूहलाई ‘बंगुर पकेट क्षेत्र’ रुपमा विकास गर्न बंगुरका पाठापाठी वितरण गरिएको उपप्रमुख कल्पना तिवारीले बताइन् । घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकलाई आवश्यक तालिम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेषगरी व्यावसायिकतामा जोड दिइने उपप्रमुख तिवारीले बताइन् । सामूहिक वा व्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने कृषकका लागि आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको बजारीकरणको व्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उपप्रमुख तिवारीको भनाइ थियो ।
सानो संख्यामा र परम्परागत तवरबाट गर्दै आएको निर्वाहमुखी व्यवसायलाई अब आधुनिक र थप व्यावसायिकतातर्फ उन्मुख गराउन सो अभियान सञ्चालन गरिएको वालिङ ८ का वडाध्यक्ष कमलप्रसाद सुवेदीले बताए ।
चालू आर्थिक वर्षका लागि १० लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाइएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए ।
नगरपालिकाले घोषणा गरेको ३ वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७, ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरिएको थियो ।
यस वर्ष नगरपालिकाले ३ पकेट क्षेत्रमा एकसय ४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, कृषकलाई आवश्यक ज्ञान सीपसहित तालिम दिने, औषधी उपचारको व्यवस्था मिलाउने छ । वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउन यसखालका कार्यक्रमले निकै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित कृषक झन् सक्रिय हुनु आवश्यक रहेको डा. अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width