गण्डकीमा कोरोना संक्रमण घट्दो

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
Gandaki-Map

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या दिनानुदिन घट्दै गएको छ । बिहीबार ३ सय ३३ संक्रमित थपिएकोमा शुक्रबार १ सय ८४ जना संक्रमित भएका हुन् । प्रतिशतका आधारमा पनि अघिल्लो दिन १ हजार १ सय ३४ जनाको परीक्षण गर्दा २९ दशमलव ३६ प्रतिशत थियो । शुक्रबार १ हजार १ सय २४ जनाको स्वाब परीक्षण गर्दा १६ दशमलव ३७ प्रतिशतमा कोरोना पोजेटिभ भएको हो ।

पछिल्लो १ हप्तामा प्रदेशभर २ हजार ५ सय ३८ जना संक्रमित थपिएका छन् । त्योभन्दा अघिल्लो हप्तामा ३ हजार ९ सय ९३ जना नयाँ संक्रमित थपिएका थिए । शुक्रबार १ सय ८४ जनामा मात्र संक्रमित थपिएका थिए भने सबैभन्दा बढी जेठ १३ गते १७ सय ३३ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

शुक्रबार कास्कीका ८१ सहित लमजुङ र म्याग्दीका १/१ पर्वतका २६ साथै तनहुँका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । मनाङ, मुस्ताङ र गोरखामा संक्रमितको संख्या शून्य हुँदा बाग्लुङका १८, स्याङ्जाका २ र नवलपुरका १७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा ९८ पुरुष तथा ८६ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय ५२ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ५१ पुगेको छ ।

कोरोना संक्रमितको संख्या घटिरहँदा कोरोनामुक्त हुनेको संंख्या बढेको छ । शुक्रबार ५ सय १३ जनाले कोरोना जितेका छन् । योसँगै प्रदेशभर कोरोना निको हुनेको संख्या ४६ हजार ४ सय २५ पुगेको छ । प्रदेशको मनाङमा सबै संक्रमित निको भएका छन् । जिल्लामा १ सय २ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको छ भने अरु सबै निको भएसँगै मनाङमा कोरोना संक्रमित शून्य छ । सबैभन्दा बढी कास्कीमा १९ हजार ८ सय ७५ जना कोरोनामुक्त भएका छन् ।

देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार ९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर विधिबाट ६ लाख १७ हजार ९ सय ४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८ सय ६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६ सय ८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ ।

नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै हाल सक्रिय संक्रमितको संख्या घटेर ५९ हजार ६ सय २४ पुगेको छ । यसमध्ये ५५ हजार ३ सय ७५ जना होम आइसोलेनमा, ४ हजार २ सय ४९ संस्थागत आइसोलेसनमा, ८ सय ७२ जना आइसियु तथा २ सय ४६ जना भेन्टिलेटरमा छन् ।

प्रदेशमा कोरोनाबाट ११ जनाको मृत्यु

गण्डकी प्रदेशका थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा कास्कीका ४, म्याग्दीका ३, बागलुङ, तनहुँ, गोरखा र नवलपुरका १÷१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कास्कीको रूपा गाउँपालिका २ का ५४ वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । कास्कीकै पोखरा महानगरपालिका १३ की ६७ वर्षीया कोरोना संक्रमित महिलाको मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पोखरा महानगरपालिका ३२ का ८७ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । पोखरा महानगरपालिका ३ का ५२ वर्षीय संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुखद निधन भएको हो । नवलपुरको कावासोती नगरपालिका १ का ७७ वर्षीय पुरूषको चितवन मेडिकल कलेज, चितवनमा उपचारको ज्यान गएको हो । गोरखाको सहिद लखन गाउँपालिका १ का ४१ वर्षीय पुरूषको उपचारको क्रममा काठमाडांैमा निधन भएको हो ।

यसैगरी म्याग्दी जिल्ला, बेनी नगरपालिका २ का ५० वर्षीय पुरूषको बेनी अस्पताल, म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । म्याग्दीकै बेनी नगरपालिका २ का ७६ वर्षीय पुरूषको होम आइसोलेसनमा ज्यान गएको हो । म्याग्दीको मालिका गाउँपालिका ५ की २५ वर्षीया महिलाको फेवासिटी अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । बागलुङको बडिगाड गाउँपालिका ७ का ९१ वर्षीय पुरूषको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ की ७० वर्षीया महिलाको ग्यालेक्सी अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ सय ७६ पुगेको छ । देशभर पछिल्लो २४ घन्टामा थप ४४ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ६ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड १९ को मृत्यु दर १.६ प्रतिशत छ ।

Related News

सम्बन्धित समाचार

hero news full width