मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
budget photos (2)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पाेखरेलले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । जेठ २९ गते नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

बिहीबार राहत सामग्री लिएर मनाङ पुगेका मुख्यमन्त्री पोखरेल मौसम खराबीका कारण उतै रोकिएपछि यता संसदको कार्यसूची के होला भन्ने थियो । मुख्यमन्त्री सहितको टोली शुक्रबार बिहानै पोखरा फर्किएको छ ।

प्रदेश सभाका सचिव हरिराज पोखरेलले पहिलाकै कार्यसूची अनुसार सदनको कारवाही अगाडि बढ्ने बताए । बिहान ११ बजे बस्ने संसदको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् । त्यसमा सबै राजनीतिक दलका प्रतिनिधिले छलफल गरेर सकिएपछि आजै बस्ने दोस्रो बैठकमा मत विभाजनमा जाने कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट टुंगो लागिसकेको छ ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि नेपालमा संविधान धारा १६८ को ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नीति तथा कार्यक्रम पारित भइसकेको र सरकारले बजेट प्रस्तुत गरे पनि विश्वासको मत लिएपछि मात्र छलफल सुरु गर्ने सहमति दलहरुबीच भएको छ । सरकारले हतारमा बजेट ल्याउनु परेकाले रातो किताब पनि तयार भइसकेको छैन । मन्त्री कुमार खड्का रातो किताब तयारका लागि आफूहरु लागिरहेको र छिट्टै तयार गरेर छलफलमा जाने बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । उता प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरेपछि गुमेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width