के होला गण्डकी सरकारको विश्वासको मत ?

आदर्श समाज सम्वाददाता
असार ४, २०७८
krishnachandra

पोखरा । बाढीपीडितका लागि राहत लिएर मनाङ सदरमुकाम चामे पुगेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसमको खराबीका कारण उतै रोकिएका छन् । मौसम सफा नै हुँदा पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमा उनीसहितको टोली बिहीबार दिउँसो चामे पुगेको थियो ।

साँझपख हेलिकोप्टर उडे पनि फेरि मौसम बिग्रेपछि फर्केको छ । मुख्यमन्त्री उतै रोकिएपछि शुक्रबार उनले संसदमा विश्वासको मत लिने कार्यक्रम अन्यौलमा परेको छ । शुक्रबार बिहानै मौसम खुलेमा उनी आउने र कार्यसूची अनुसार नै संसद चल्ने छ । आउन ढिला भएमा विश्वासको मत लिने कार्यसूची अर्को दिन सारिने सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । उनले भने, ‘सदनमा विश्वासको मतसम्बन्धी प्रस्ताव मुख्यमन्त्रीज्यूले पेस गर्ने हो, उहाँ आउनु भयो भने सदन चल्छ, हैन भने संसद सचिवालयले कार्यसूची सार्छ ।’ यसबारेमा संसद सचिवालयमा कुरा भइसकेको उनले प्रष्ट्याए ।

पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि नेपालमा संविधान धारा १६८ को ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेल जेठ २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री पोखरेलले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्छ । नीति तथा कार्यक्रम पारित भइसकेको र सरकारले बजेट प्रस्तुत गरे पनि विश्वासको मत लिएपछि मात्र छलफल सुरु गर्ने सहमति दलहरुबीच भएको छ । सरकारले हतारमा बजेट ल्याउनु परेकाले रातो किताब पनि तयार भइसकेको छैन । मन्त्री कुमार खड्का रातो किताब तयारका लागि आफूहरु लागिरहेको र छिट्टै तयार गरेर छलफलमा जाने बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले सरकारसँग ३१ मत छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । उता प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरेपछि गुमेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width