मनसुनको सुरुमै वर्षाको वितन्डा

आदर्श समाज सम्वाददाता
असार २, २०७८
myagdima sadak abarudda (2)

पोखरा। मनसुन थप सक्रिय भएसँगै बाढीपहिरोले कास्कीसहित छिमेकी जिल्लामा क्षति पुगेको छ । भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त हुन पुगेको छ भने ठाउँ ठाउँमा खसेको पहिरोले यातायात सेवा अबरुद्ध भएको छ ।

सोमबार रातिदेखि परेको अविरल वर्षाले कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा १५ करोड बराबरको क्षति पु¥याएको छ । हाइड्रोका मसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड लगायत गरी सो बराबरका सामान बगाएको सञ्चालक धनराज आचार्यले बताए ।

प्रहरीका अनुसार निर्माणस्थलमा रहेका एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठूलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो बगाएको हो । मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका ७, वीरेठाँटीका ६ घरपरिवार जोखिममा परेका छन् । वीरेठाँटीका सुरेन्द्र क्षेत्री, जीतकुमारी परियार, आइटमबहादुर कार्की, ऋषिराम परियार, विष्णु मगर र तारा राईको घर जोखिममा परेको हो ।

यस्तै, अन्नपूर्ण ६ हाईजुङमा गएको पहिरोले बिजुलीका पोल ढाल्नुका साथै नयाँपुल घान्द्रुक सडक खण्ड अबरुद्ध भएको छ । पहिरोले स्थानीय धनबहादुर नेपालीको घर जोखिममा परेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । अन्नपूर्ण ८, छेदगाँउमा पहिरो जाँदा तेजबहादुर गुरुङ, तीलमाया गुरुङ, ज्योति गुरुङ र मानसिंह गुरुङको घर जोखिममा परेको छ । बाढीले माछापुच्छ«े गाउँपालिका ८ का मोतिलाल बिक र वडा ५, आनन्द ठाँटीमा बाढीले सहिती हाइड्रोपावरमा क्षति पुर्‍याएको छ । पोखरा १५, अमिनतारामा खानेपानीको ट्यांकी पहिरोले पुर्दा करिब २ सय ५० घरपरिवारलाई खानेपानीको समस्या भएको छ ।

पोखरा ६ मा नहरमा आएको बाढी थुनिँदा ३ घरमा क्षति पुगेको छ । बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहरमार्गमा सिंचाइको नहर थुनिँदा स्थानीय विश्वेश्वर पौडेल र वासु पौडेलको ३ घरमा सामान्य क्षति पुगेको वडाध्यक्ष जगत पहारीले जानकारी दिए । डोजर सहायताबाट नहरको पानी बाटोमा खसालेर निकास दिइएको उनले बताए ।

मुस्ताङमा १५ घर जोखिममा
थासाङ गाउँपालिका २ का खड्कबहादुर बिकको घरमा पहिरो जाँदा उनको परिवारलाई अन्यत्र सारिएको छ । घरगोठ जोखिममा रहेकोले परिवारका ३ सदस्यलाई नजिकैको समाजघरमा स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्रको लुप्रा खोलामा आएको बाढीले १५ घर उच्च जोखिममा परेका छन् । लेदोसहितको बाढीले खोला किनारका घर जोखिममा परेका हुन् । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि लेदोसहितको बाढी आएको गाउँपालिका प्रमुख फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।

बाग्लुङमा ६ घरमा क्षति
काठेखोला गाउँपालिका ६, इनारपानीका शिवलाल कँडेलको घरमा पहिरो जाँदा उच्च जोखिममा परेको छ । काठेखोला गाउँपालिकामा ५ घर विस्थापित भएका छन् । वडा ७, जिरेदीमा घरमाथि र घरमुनिबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम बागलुङ बजारहुँदै रेश जोड्ने सडकको जिरेदीमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथिबाट पहिरो आएको वडाध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतको घर पहिरोको उच्च जोखिममा छन् ।

पर्वतमा सेतीवेणीबजार डुबान

विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमाना विहादी गाउँपालिका ६, सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार बाढीले डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च बिन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार मंगलबार बिहानदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । ‘पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना समेत डुबाएको छ,’ पराजुलीले भने । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए । पानीको बहाव ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधकासेतीवेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रमा झण्डै २ सय जना व्यवसायी तथा सर्वसाधारण त्रसित बनेका हुन् ।

जलजला ३, वारीबेनीका अमृत केसीको घर वर्षातले भत्काएको छ । सोही घर नजिकै पार्किङ गरी राखेको नमस्ते बेकरी उद्योगको ग २ च ६४९७ नम्वरको जीपमा क्षति पुगेको छ । घर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति टरेको छ ।

गोरखामा मानिस बगायो
गोरखा जिल्लाको आरुघाट गाउँपालिका २, ढोडेनीको ठोटनरी खोला तर्ने क्रममा एक युवकलाई खोलाले बगाएको छ ।
बर्दियाका ३८ वर्षीय गोविन्द चौधरीलाई खोलाले बगाएको हो । उनको खोजी कार्य भइहरेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width