प्रदेशवासी सबैलाई खोप, ५ अर्बले घट्यो गण्डकीको बजेट

प्रकाश ढकाल
असार २, २०७८
budget photos (2)

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु वर्ष कार्यान्वयनमा आएको भन्दा झण्डै ५ अर्बले कम हो । पोहोर ३४ अर्ब ८४ करोडको बजेट ल्याइएको थियो । विनियोजित बजेट मध्ये पुँजीगत तर्फ १६ अर्ब ७३ करोड (५६ प्रतिशत) छ भने चालुतर्फ १३ अर्ब ६ करोड (४३ प्रतिशत) छ । वित्तीय व्यवस्थापनका लागि २४ करोड छुट्याइएको छ । गण्डकीलाई नेपाल सरकारले वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ४२ करोड पठाउने छ । सशर्ततर्फ ४ अर्ब १८ करोड, समपूरक अनुदानतर्फ ८७ करोड, विशेष अनुदानमा ५५ करोड पाउने अनुमान छ । यस्तै, राजश्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टी बापत ३० करोड पाउने र ४ अर्ब ९८ करोड प्रदेशले आन्तरिक रुपमा उठाउने दाबी गरेको छ ।

गण्डकी सरकारले आगामी वर्षभित्र प्रदेशवासी सबैलाई कोरोनाको खोप दिलाउने भएको छ

चालु वर्षमा २ अर्ब १० करोड रुपैयाँ खर्च नहुने बजेट अर्को वर्षका लागि अख्तियारी सारिने र बाँकी २ अर्ब आन्तरिक तथा नेपाल सरकारबाट ऋणको रुपमा पुर्ति गरिने सरकारले जनाएको छ । आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको र राजश्व बाँडफाँट वापत प्राप्त हुने रकममा कमी आएको कारण बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । विगतको तुलनामा चालु खर्च पनि बढेको छ । ‘कानुन अनुसार सिर्जित नयाँ संरचना, थप जनशक्ति र कोरोना महामारीको व्यवस्थापनका लागि अतिरिक्त रकम विनियोजन गर्नुपर्दा चालु खर्चमा चाप पर्न गएको छ,’ पोखरेलले भनेका छन् ।

बजेट वक्तव्यमा बजेट विनियोजन भने खासै भएको छैन । प्राथमिकताका क्षेत्रहरुमा बजेट स्पष्ट किटान नभई आवश्यक बजेट विनियोजन मात्रै भनिएको छ । नीति तथा कार्यक्रममा कोभिड लक्षित र पूर्वाधारका क्षेत्रमा जोड दिइएपनि बजेटले स्पष्ट सम्बोधन गर्न सकेको छैन । तथापि कोभिड १९ विरुद्धको खोप व्यवस्थापन गर्न आवश्यक बजेट सरकारले छुट्याएको जनाएको छ । ‘कोरोना विरुद्धको खोप सुनिश्चित गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु,’ पोखरेलले भने, ‘कोरोना रोकथाम र नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री र उपकरण खरिद गर्न बजेटको व्यवस्था गरेको छु ।’

कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजारका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । कोरोनाबाट मृत्यु भएका परिवारलाई भने ५० हजारका दरले सहयोग गरिने सरकारी घोषणा छ । महिलाको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने छ भने सुत्केरी तथा गर्भवती महिलाको उद्धारका लागि एयर लिफ्टिङमार्फत् सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने बताएको छ ।

शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतीको पोषण सुधार गर्न १ करोड ५० लाख विनियोजन गरेको छ । स्वास्थ्य स्वयंसेविकालाई वार्षिक ६ हजार भत्ता दिने, ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको निशुल्क उपचार गर्ने, क्यान्सर, मुटु, मृगौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरी जस्ता रोगबाट पीडित बिरामीलाई मासिक ४ हजारका दरले उपचार खर्च दिने पोखरेल सरकारको निर्णय छ ।

सबै जिल्ला अस्पताललाई २५ देखि ५० शड्ढया र धवलागिरी अस्पताललाई २ सय शड्ढयाको अस्पताल बनाउन लागिएको छ भने ५० शड्ढया भएको अस्पतालमा आँखा उपचार सेवा, मृगौला पीडित बिरामीका लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री पोखरेलले बताए । गोरखाको आँपपिपल अस्पताललाई ५० शड्ढयामा स्तरोन्नति गर्ने, गण्डकी विश्वविद्यालयमा ५ सय बेडको शिक्षण अस्पताल सञ्चालन गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । ३६ निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्येक क्षेत्रमा २ करोड पर्ने गरी ७२ करोड विनियोजन गरिएको छ ।

अघिल्लो वर्ष स्थापना भएको गण्डकी विश्वविद्यालयबाट आगामी वर्षदेखि पढाई सुरु गर्न लागिएको छ । पहिलो चरणमा सूचना प्रविधि र चिकित्साशास्त्रको पढाई सुरु गर्न बजेट व्यवस्था गरेको सरकारले जनाएको छ । अघिल्लो सरकारले ल्याएको प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणको योजना अहिले पनि दोहोरिएको छ । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने सरकारको पुरानै घोषणा हो । तर काम सुरु हुन सकेको छैन । पोखरा चक्रपथ, भीमाद–डेढगाउँ हुँदै अरुणखोला जोड्ने सडक, शालिग्राम कोरिडोर र आरुघाट–सीर्दिवास हुँदै रुईला भन्ज्याङ जोड्ने सडक निर्माण पुरानै काम हुन नसकेका योजना हुन् ।

पोखराको पृथ्वीचोकस्थित बसपार्क र लामे आहालको बसपार्क निर्माण, प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र–एक सडक, रणनीतिक सडक, स्थानीय तहको केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक र सडकपुल निर्माणलाई समयमै पूरा गर्न बजेट छुट्याएको अर्थमन्त्री पोखरेलले बताए । आउँदो २ वर्षभित्र स्थानीय तहको केन्द्र जोड्ने सडक स्तरोन्नती सक्ने घोषणा नीति तथा कार्यक्रम मार्फत गरिएको थियो । पदमार्ग, साइकल मार्ग, होमस्टे लगायत संरचना बनाएर एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य कार्यक्रम अघि सारेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोष स्थापनाका लागि ५ करोड छुट्याइएको छ । विपन्न समुदायको उत्थान र विकासका लागि विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम सुरु गर्ने भएको छ । सीप, दक्षता र रोजगारी मार्फत युवा पलायन रोक्ने गरी सरकारले बजेट विनियोजन गरेको छ । स्याउमा आत्मनिर्भर हुन हिमाली जिल्लामा उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । बागलुङको बिहुँबाट गलकोटसम्म सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएको छ । एक घर एक धारा अभियानलाई निरन्तरता दिइएको छ भने विपद्पछिको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि व्यवस्थापन कोष बढाउन १ करोड विनियोजन गरेको छ ।

सरकारले आन्तरिक स्रोत बढाउन अरु प्रदेशमा दर्ता भएका गाडीलाई गण्डकीमा स्थानान्तरण गर्दा भारी छुटको व्यवस्था गरेको छ । स्थानान्तरण गर्दा ७५ प्रतिशत छुट दिने र नवीकरण शुल्कमा थप ५० प्रतिशत छुटको अफर ल्याएको हो । सवारी साधनको जाँचपास र बाटो इजाजत नवीकरण अव वार्षिक रुपमा गरे हुन्छ । पहिले प्रत्येक ६ महिनामा गर्नुपर्ने प्रावधान थियो । लकडाउनको बेलामा नवीकरण गर्न नसकेकाहरुले निजी गाडी भए लकडाउन हटेको दिन र सार्वजनिक गाडीलाई २ महिनासम्म अतिरिक्त शुल्क नलिने सरकारले जनाएको छ ।

स्थानीय तहलाई साढे २ अर्ब
प्रदेश सरकारले स्थानीय तहलाई सिधै साढे २ अर्ब विनियोजन गरेको छ । वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब १० करोड विनियोजन गरेको छ भने प्रदेश सरकार र स्थानीय तह बीचको साझेदारीका कार्यक्रमका लागि प्रत्येक स्थानीय तहमा १ करोडका दरले विनियोजन गरिएको छ । सवारी साधन करबाट स्थानीय तहलाई ६० करोड हस्तान्तरण गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • आउला त डुंगा चालकका दिन ?

      विजय नेपाल श्रावण १२, २०७८
      पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको…
    • सातामै करिब २९ सय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ११, २०७८
      पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो साता थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमित…
    • चन्द्रबहादुरको आम्दानी ३० हजार, भाडा डेढ सय

      सविन लामिछाने श्रावण ११, २०७८
      दमौली । पृथ्वीराजमार्गको छेउमै टिनले छाएको र टिनले नै बारेको टंकी । त्यही टंकीको सहारामा पालिन्छन् चन्द्रबहादुर नेपालीको परिवारका ९…
    • कोरोना कहरमा झन् बढे भ्रष्टाचारका उजुरी

      धनबहादुर गुरुङ श्रावण ११, २०७८
      पोखरा । कोरोना महामारीकै बीचमा गत वर्षको पुस २२ गते तनहुँमा १ जना इन्जिनियर डेढ लाख घुससहित पक्राउ परे ।…
    • पछिल्लो १ हप्तामा २८ सय ८९ जना संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १ हप्तामा थप २ हजार ८ सय ८९ जना संक्रमित भएका छन् । लकडाउन खुकुलो…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads