कोरोना प्रभावमा यातायात व्यवसायी : गाडीमा घिराैंला फले !

विजय नेपाल
असार १, २०७८
lockdown vehicle by bijay nepal

पोखरा । ‘बैंकमा चाबी बुझाउने अनि घर बस्नेभन्दा अर्को विकल्प छैन,’ उनले गुनासो पोखे, ‘अहिलेसम्म जे–जति दुखगरी किस्ता बुझाइयो अब सक्ने अवस्था छैन । ऋण पनि कसैले पत्याउँदैन ।’

यो गुनासो हो, चन्द्रबहादुर भण्डारी (३४) को ।  यातायात व्यवसायी उनी गाडीलाइनमा लागेको १७ वर्ष भैसकेको छ । उनको नाउँमा ३ गाडी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आबद्ध छन् । ३ गाडीको मासिक १ लाख ७० हजार किस्ताबन्दी बुझाउनुपर्दो रहेछ । कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउनले सबै गाडी झन्डै २ महिनादेखि थन्किएका छन् ।

लाखौंको किस्ताबन्दी बुझाउन नसकेका व्यवसायीलाई ‘क्लोजिङ’ भन्दै बैंकबाट फोन आउन थालेपछि थप तनाव सुरु भएको छ ।

२ पोखरा–जोमसोम आउजाउ गर्छन् भने अर्को पोखरा भ्यालीभित्रै चल्छ । गाडीमा अहिले घिरौँलाको झाल फैलिएको बताउँदै उनले लकडाउन लम्बिदै गयो भने आफूहरु थप मारमा पर्ने गुनासो गरे । नेपालमा कोरोना महामारी सुरु भएको १५ महिनादेखि नै यातायात क्षेत्र निकै प्रभावित बनेको भण्डारीले बताए । गत वर्ष केही महिना कोरोना हटेजस्तो हुँदा पनि पोखरा–जोमसोमका लागि महिनामा एउटामात्र क्युमा सीमित हुनुपरेको उनले जानकारी दिए ।

यस्तै, पोखरा ७, अन्नपूर्ण टोलका तोयनाथ गौतम (४०) पनि यातायात व्यवसायी हुन् । उनको सम्पत्तिको नाउँमा ४ गाडी छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नै चल्ने ती गाडी पोखराबाट काँकडभिट्टा, जोमसोम, दरबाङ र बागलुङ आउजाउ गर्छन् । घर नजिकैको खुला चौरमा पार्किङ गरिराखेको गाडी घरिघरि हेर्न गइरहन्छन् । ‘दिनरातभरि निद्रा पर्दैन । बैंकको व्याज कहिले तिर्ने हो ? चल्न नपाएको गाडी झन् बिग्रिँदै जाने भो,’ गौतम निराश बन्छन्, ‘पोहोर झैं टायर, इन्जिनको मोबिल, ब्याट्रीमा खराबी आउँछ ।’

१८ वर्षदेखि यस क्षेत्रमा आबद्ध गौतमका सबै ४ गाडी घामपानी खाँदै वरिपरि घाँसमा डुबेका छन् । यो सबै कोरोना महामारीका कारण उत्पन्न समस्या हो । महामारी नियन्त्रणका लागि देशभर डेढ महिनादेखि लकडाउन जारी छ । कास्कीमा पनि जिल्ला प्रशासन कार्यालयले गत वैशाख १५ देखि निषेधाज्ञा सुरु गरेकोमा असार ७ सम्म निषेधाज्ञा कायम छ । आदेश अनुसार अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक यातायातका कुनै पनि सवारीसाधन चलाउन दिइएको छैन । यो अवस्था कहिलेसम्म जाने हो निधो छैन ।

‘कोरोनाको दोस्रो लहर सुरु भएसँगै हामीहरुलाई वैशाख लागेदेखि नै प्रभाव परेको थियो । लामो दूरीको यात्रामा मानिसहरु निस्कन कमी भैसकेको थियो । हत्तपत्त बस चढ्दैनथे,’ उनले भने, ‘पोहोरको लकडाउनले ढाड सेकेकोमा पछि बिस्तारै केही भइहाल्छ कि भन्ने आशामा फेरि ठूलो महामारी आयो भन्छन् । यतिखेर विषम परिस्थितिमा छौं । वर्णन गरिसाध्य छैन । हातमुख जोड्न पनि समस्या पारिसकेको छ ।’

गाडी खरिद गर्दा बैंकबाट लिएको ऋणको साँवा–व्याज तिर्नुपर्छ । ४ गाडीको गरी मासिक झण्डै २ लाख रुपैयाँ किस्ताबन्दी तिर्नुपर्नेमा अहिले तिर्न नसकेको गुनासो गरे । गत वर्ष बैंकले ६ महिना किस्ताबन्दी अवधि पछाडि सारेर सुहलियत दिए पनि पुनः अवस्था उस्तै दोहोरिएको गौतमले सुनाए । आर्थिक वर्ष ‘क्लोजिङ’ बेला भयो भन्दै बैंकबाट फोन आउन थालिसकेको उनले बताए ।

नेपालमा ठूलोमध्येको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग हाल करिब १ हजार ४ सय गाडी आबद्ध छन् । पृथ्वीमा आबद्ध मात्रै हैन, देशभरका सबै गाडीधनीको अवस्था भण्डारी र गौतमको झैं मिल्दोजुल्दो छ ।

कोरोनाको दोस्रो लहर प्रभावमा परेको यातायात क्षेत्र कहिले सुध्रिने हो टुंगो छैन । उपाय के त ? कोरोना प्रभावित व्यवसायीको लागि सरकारले बजेटमात्र राहत प्याकेज नल्याएको हैन । तर सरकारको पुनर्कर्जाले आफूहरुलाई समस्या सम्बोधन नगर्ने भण्डारीको तर्क छ । भण्डारीले भने, ‘पुनर्कर्जा हामीहरुको लागि हैन । ठूला–ठूला व्यवसायको लागि होला । पुनर्कर्जा भनेपछि जसै व्याज बुझाउनु परिगो ।’ सबैभन्दा उत्तम उपाय बैंक तथा वित्तीय संस्थाले किस्ताबन्दी समय पछाडि धकेलेर हुन्छ कि छुट गरेर हुन्छ गर्नुपर्छ । यसको लागि संघ, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने भण्डारीको सुझाव छ ।

गौतमले पनि एउटा उपाय सुझाएका छन् । उनी राज्य तहबाटै केही पोलिसी ल्याई व्याजदरमा अलि न्यूनतम दर तोकिए सहज हुने बताउँछन् । ‘किस्ताबन्दी पर धकेलेर र सारेरमात्रै समस्याको समाधान हुँदैन,’ उनी भन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width