समन्वय समितिमै छ संक्रमितको भरोसा

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
hemja progrem photo

हेमजा । केही हप्ता अघि हेमजा मेलबोटकी कोरोना संक्रमित पुनम गिरीलाई चिन्ता सुरु भयो अब कसरी निको हुने । संक्रमित भएको थाहा पाएसँगै आफन्त पनि बोल्न हिचकिचाए, कतिपयले त फोनबाट पनि संक्रमण सर्लाजस्तो व्यवहार गरे । दुखको घडीमा कतिपय आफन्त र छिमेकीको व्यवहारमा मानवीयता पाइनन् उनले ।

एकातिर संक्रमणले दिनप्रतिदिन च्याप्दै थियो । अर्कातिर चाँडै निको भएर अन्य संक्रमितको सेवा गर्ने धोको थियो तर सोचेजस्तो सजिलो कहाँ थियो र । उनलाई कोरोनकै कारण परलोक भइन्छ कि जस्तो त्रसित पनि बनायो कोरोनाले । यसबीचमा परिवारका सबैमा कोरोना देखियो । कोरोनाले इन्तु न चिन्तु गिरी परिवारको खबर बुझ्न समेत सुरुका दिनमा कोही गएनन् । आशा नै मरिसकेको थियो समुदायसँग गिरी परिवारको ।

त्यस बीचमा वडास्तरीय कोरोना महामारी नियन्त्रण समन्वय समिति स्वास्थ्यकर्मीसहित गिरीको घरमा पुग्यो । सबैको अवस्था बुझ्यो । पल्स अक्सिमिटरलगायत अन्य प्राथमिक स्वास्थ्य उपचारका सामग्री पनि दियो । शरीरमा अक्सिजन कम हुँदा कसरी आसन गर्ने र कसरी सामग्री प्रयोग गर्ने भन्ने बारेमा बेलिबिस्तार पनि समितिले लगायो ।

त्यसपछि पीडाको समयमा पनि गिरी परिवारमा कोही न कोही त सहयोगी हुँदा रैछन् भन्ने भान भयो । बिस्तारै मनोबल बढ्यो र संक्रमणको पीडा कम हुँदै गयो । केही दिन अगाडि मात्रै पुनमलगायत परिवारका सबै कोरोनामुक्त भए ।

गिरी परिवारजस्तै २०७७ भदौ यता शुक्रबारसम्म गरी हेमजाभर कुल ४८५ जनामा संक्रमण देखापर्‍यो। जसमध्ये ३८८ जना निको भए । यस बीचमा ९ जनाले ज्यान गुमाए भने ८८ जना हाल होम आइसोलेसनमा उपचाररत छन् । तिनै होम आइसोलेसनमा उपचाररत संक्रमितको सहारा बन्दै आएको छ समन्वय समिति ।

कोषमा संकलित २२ लाख १२ हजारमध्ये १० लाख ६० हजार खर्च भयो भने ११ लाख ५२ हजार मौज्दात

हेमजास्थित जागरण अभियान नेपाल र राष्ट्रिय परोपकार महासंघको संयुक्त भेलाबाट समिति गठन गरिएको हो । समिति संयोजक मोतिराज तिम्सिना, सहसंयोजक कृष्णप्रसाद पौडेल, सचिव चिरञ्जीवी अधिकारी, कोषाध्यक्ष रमा त्रिपाठी तथा सदस्यहरु परशुराम अधिकारी, मीनबहादुर पराजुली, लक्ष्मी अधिकारी, विजय पौडेल, कृष्णबहादुर खड्का, खेम गुरुङ र आशबहादुर पुन छन् ।

भेलाले वडाध्यक्ष शोभाकर तिम्सिना, कमलजंग कुँवर, रामचन्द्र त्रिपाठी, दानबहादुर थापा, वसन्त बास्तोला, विष्णु बास्तोला, शंकरमणि त्रिपाठी, शिव त्रिपाठी र शिवकुमार श्रेष्ठ सम्मिलित ९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
यही १ जेठमा गठित उक्त समितिले जनचेतनामूलक माइकिङ, स्थानीय प्रहरीसँग मिली विभिन्न बस्तीमा गस्ती, स्वास्थ्यकर्मीसहित संक्रमितको घरमै पुगी महत्वपूर्ण स्वास्थ्य सामग्री र परामर्श प्रदान गर्नुका अलवा एम्बुलेन्स सेवा(लायन्स क्लब अफ हेमजाको सहकार्यमा) समेत प्रदान गर्दै आइरहेको छ ।

यसका साथै उक्त समितिले वडास्थित उच्च जोखिममा परेका विपन्न श्रमिक बस्तीको पहिचान गरी स्वास्थ्यकर्मीसहित परामर्श दिन पनि थालेको छ । जसबाट हेमजास्थित मसिनामगर, झिर्झिका, सेती नदी र सुइँखेत खोलाका तटीय क्षेत्रमा बसोबास गरी दैनिक ज्याला मजदुरी गर्दै आएका श्रमिक परिवार लाभान्वित भएका छन् ।

हेमजास्थित साझाचोकमा सहयोगी कक्ष स्थापना गर्नुका साथै वडाभर हप्तामा २ पटक पिसिआर परीक्षण र एन्टिजेन्ट टेस्टको प्रबन्ध पनि समितिले मिलाएको छ । यसबीचमा समितिको कार्यलाई वडा कार्यालय, अस्थायी प्रहरी पोस्ट, सामुदायिक प्रहरी, नेपाल हेल्थ क्रोब्स, हेमजास्थित विभिन्न संघ संस्थाले खुलेर सहयोग गर्दै आएका छन् ।

सुरुमा सदस्यहरुबाटै आफ्नो क्षमतानुसार अनुसार रकम संकलन गरी सुरुआत गरिएकोमा देश विदेशबाट सहयोग जुटिरहेको छ । जसअनुसार शुक्रबारसम्म २२ लाख १२ हजार संकलन भएको छ जसमध्ये १० लाख ६० हजार खर्च भइसकेको र ११ लाख ५२ हजार मौज्दात रहेको कोषाध्यक्ष रमा त्रिपाठीले जानकारी दिइन् ।

समितिको कार्यलाई आम हेमजावासीले महायज्ञको रुपमा हेरी सहयोग गर्दै आएको संयोजक तिम्सिनाले बताए । हेमजाको कोरोना नियन्त्रणमा जसरी पनि सफल हुने उनको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width