‘सत्ताको गठबन्धन लामो जाँदैन’

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
Prithvi Subba Gurung

पोखरा । गण्डकीका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता प्राप्तिका लागि बनेको अहिलेको गठबन्धनको आयु लामो नभएको टिप्पणि गरेका छन् । ‘कामना गर्छु उहाँहरुको सरकार लामो चलोस् । तर ४ वटा पार्टीको गठबन्धन, दलभित्र पनि गुट उपगुटमा विभाजित भएका छन् । पूर्व पश्चिम, उत्तर दक्षिणका साथीहरु मिलेका छन् कुर्चीका लागि, मुख्यमन्त्रीका लागि,’ उनले भने, ‘सत्ता प्राप्तीका लागि गरिने गठबन्धन कुर्चीमा तलमाथि हुनेबित्तिकै विग्रह र झगडा सुरु भइहाल्छ । झगडा होस् भन्दिनँ । फेरि एमाले मुख्यमन्त्री होस् भनेर कामना गर्दिन । तर यो गठबन्धनको आयु चाहिँ लामो देख्दिनँ ।’

उनले नेपालको राजनीतिमा अहिले पनि अदृष्य शक्ति खेलिरहेको बताए । ‘प्रदेशलाई हेर्दा जमिरहेको दहीमा कागती निचरेको जस्तो भयो नि । नेपाली कांग्रेसले सुविधाजनक बहुमत हुँदा सरकार चलाउन सकेन । अरु पार्टीले पनि बहुमतको सरकार चलाउन सकेनन् । कहिले व्यवस्था गुमेको छ । अहिले पनि अस्थिरता छ नि,’ उनले भने, ‘अनसिन हरर हाम्रो सामु छ । कहिँ न कहिँ त प्रवृत्ति छ । बलियो पार्टीलाई ध्वंश गर्ने शक्ति छ । गम्भीरतापूर्वक लिनुपर्छ यसलाई ।’ उनले देश र जनताको भन्दा पदको बढी चिन्ता नेता र पार्टीहरुमा बढेको बताए ।

पहिलो सरकारले ल्याएका योजनालाई पूरा गर्ने तर्फ अग्रसर हुन नयाँ सरकारलाई सुझाव

उनले संघीयता संस्थागत गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याए । पहिलो सरकारले ल्याएका योजनालाई पूरा गर्ने तर्फ अग्रसर हुन नयाँ सरकारलाई उनले सुझाएका छन् । ‘संघ सरकारसँग समन्वय गरिएन भने चल्दैन भन्ने बुझ्नुपर्‍यो । प्रदेशको स्वायत्ततालाई हेरेर काम गर्नुपर्छ,’ उनले भने, ‘बहुवर्षीय योजना सक्ने काममा ध्यान दिनुपर्छ । सेटिङ अनुसार काम सक्नुपर्छ । अनि कामको नतिजा देखिन्छ । जसको नेतृत्वमा सरकार बने पनि उपलब्धि देखिन्छ ।’

आफ्नो नेतृत्वमा बनेको सरकारले प्रदेशमा विकासको उत्साह सिर्जना गरेको उनले सुनाए । गण्डकीलाई देशभरमै अब्बल प्रदेश बनाएको उनको दाबी छ । सरकारी निवास छोड्नु अघि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले सीमित स्रोतमा पनि लोभलाग्दा उपलब्धि निकालेको बताए । ‘प्रदेश सरकार गठन गरी हामीले कार्य प्रारम्भ गर्दा शून्य अवस्थामा थियौं,’ उनले थपे, ‘अहिले प्राप्त हाम्रा उपलब्धिहरु संघीयताका कोशेढुंगा बनेका छन् ।’ कोरला त्रिवेणी सडक, शालिग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेशसभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणको काम सुरु भएको उनले बताए । गुरुङले एक निर्वाचन क्षेत्र एक सडक र स्थानीय तहका केन्द्र जोड्ने सडक, उज्यालो गण्डकी प्रदेश, एक घर एक धारा खानेपानी योजना, प्रदेश शिक्षण अस्पताल निर्माण, गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठान लगायत काम आफ्नो प्रगतिमा उल्लेख गरेका छन् ।

जाँदा जाँदै प्रदेशको बजेट विभिन्न कारणले घट्ने उनको प्रक्षेपण छ । २० देखि २५ अर्ब हाराहारी बजेट आउन सक्ने गुरुङको भनाइ छ । ‘कति कराएँ बजेट बढाउ भनेर केन्द्रमा । यहाँका नेताले मेरो कुरै बुझेनन्,’ गुरुङले भने, ‘आन्तरिक आम्दानी लक्ष्यको आधा पनि उठेजस्तो लाग्दैन । माथिबाट अनुदान पनि बढेको छैन । बजेटको आकार त्यसै घटिहाल्छ नि ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै