कास्कीमा निषेधाज्ञा असार ७ सम्म

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८
cdo office

पोखरा । कास्कीमा निषेधाज्ञा अवधि असार ७ सम्म थप भएको छ । दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध तथा दही, माछा मासु, बिक्री वितरण गर्ने पसल, कृषिजन्य सामग्रीका पसल खोल्न पाइने अवधि ५ देखि १० सम्म खुला राख्न सकिने गरी सेवा यथावत राखिएको छ ।

डिसिसिएमसीको निर्णयका आधारमा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार आदेश जारी गर्दै असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने जनाएका हुन् । नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लामा गत वैशाख १५ देखि निषेधाज्ञा जारी छ । यसअघि पछिल्लो पटक जारी निषेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्म कायम थियो ।

असार १ देखि लागु हुने गरी बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाको लागि ५० प्रतिशत कर्मचारीको उपस्थितिमा ५० प्रतिशत शाखाबाट बिहान ११ देखि दिउँसो २ सम्म सेवा दिन सकिनेछ । जसमा निक्षेप ५० हजारभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र सञ्चालन हुनेछ ।

विकास निर्माणजन्य सामग्रीका पसल (छड, सिमेन्ट, बिजुलीका सामान, सेनिटाइजर हार्डवयर पसल) साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । डिपोर्टमेन्टल स्टोर्स एवं सपिङ मलले दैनिक उपभोग्य खाद्य सामग्री मात्र बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न सकिने आदेशमा उल्लेख छ ।

यसबाहेक यसअघि जारी आदेश अनुसार नै अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कने र हिडडुल नगर्ने, अत्यावश्यक काम परी घरबाहिर जानु परे अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, कुनै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन नगर्ने भनिएको छ ।

बागलुङमा निषेधाज्ञा थप

कोरोना भाइरस कोभिड–१९ को जोखिम नघटेपछि बागलुङमा १ साता निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएसी) को आइतबार बसेको बैठकले थप १ साता लकडाउन थप्ने निर्णय गर्दै असार ७ सम्म लम्बाएको हो ।

थपिएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था साताको ४ दिन खुला गरिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । हाल सातामा २ दिनमात्र बैंक तथा वित्तीय संस्था खुल्दै आएका थिए ।

जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा सुरु भएको हो ।

तनहुँमा निषेधाज्ञा खुकुलो
कोरोना महामारीका कारण गत वैशाख २२ देखि तनहँुमा जारी निषेधाज्ञा केही खुकुलो पारिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले केही खुकुलो पार्दै असार ७ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

अब दैनिक बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक वस्तु तथा सेवाका पसल खोल्न पाइनेछ । बिहान १० बजेदेखि १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न पाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

छापाखाना, पुस्तक तथा स्टेसनरी र वर्कसप खुल्नेछन्,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘मोडालिटी परिवर्तन गर्दै बजारलाई केही खुकुलो पारिएको छ । अवस्था हेरेर निर्णय गर्दै जानेछौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width