वालिङमा बंगुर पकेट क्षेत्र

तोलाकान्त बगाले
जेठ ३०, २०७८
Bangur 3

वालिङ । वालिङ नगरपालिकाले बंगुरपालनको सम्भावना भएका ३ ठाउँलाई पकेट क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नं. ६ को लांघाली बंगुरपालन समूह धनुबाँसे, वडा नं. ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिवन वन उपभोक्ता समूहले व्यावसायिक बंगुरपालन गर्ने गरी पकेट क्षेत्र घोषणा गरिएको हो ।

पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, किसानलाई आवश्यक तालिम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी व्यावसायिकतामा जोड दिइने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘पकेट क्षेत्रका किसानहरुमा व्यवसाय सञ्चालनका लागि दृढ इच्छा, संकल्प हुनुपर्‍यो अन्य सहयोग नगरपालिकाले गर्छ,’ उनले भने, ‘किसानहरुलाई व्यावसायिक बनाउन आवश्यक पर्ने सहयोगका लागि नगरपालिका प्रतिबद्ध छ ।’

सामूहिक वा व्यक्तिगतरुपमा बंगुरपालन गर्न चाहने किसानका लागि आवश्यक परेमा नगरपालिकाले बंैकहरुसँग समन्वय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, आवश्यक अनुदान दिने, उत्पादित पाठापाठी तथा मासुको लागि बजारीकरणको व्यवस्था मिलाउने काम नगरपालिकाले गर्ने उनको भनाइ थियो ।

‘सानो संख्यामा र परम्परागत तबरबाट गर्दै आउनुभएको निर्वाहमुखी व्यवसायलाई अब आधुनिक र थप व्यावसायिकतर्फ अगाडि बढाउनुहोस्,’ उनले भने, ‘व्यवसाय विस्तारका क्रममा कहाँनेर अप्ठेरो आइपर्छ हामीलाई खबर गर्नुहोस् समाधानको पहल हामी गर्छौं, ढुक्क भएर व्यावसायिक उत्पादनमा जोड दिँदै आर्थिक स्तर उकास्नतर्फ लाग्न किसानलाई अनुरोध गर्दछु ।’

कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले आर्थिक समृद्धिका लागि यो कार्यक्रमले निकै महत्व राख्ने भएकाले पनि किसानलाई व्यावसायिकतातर्फ लाग्न आग्रह गरिन् । व्यावसायिक रुपमा अगाडि बढ्दै गर्दा आइपर्ने कठिनाइहरुमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उपप्रमुख तिवारीले जनाइन् ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष पाण्डुकुमार थापाले नगरपालिका, वडा कार्यालय तथा किसानबीचको सहकार्यबाट थप सफलता हात पर्ने विश्वास व्यक्त गरे ।

चालु आर्थिक वर्षका लागि १० लाख बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षका लागि पनि निरन्तर बजेटको व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि बढाइएको वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए ।

नगरपालिकाले घोषणा गरेको ३ वटा बंगुर पकेट क्षेत्रमध्ये शनिबार सिर्जना बंगुरपालन समूह वालिङ ७ ताप्केमा ३५ वटा बंगुरका पाठापाठी वितरण गरी व्यावसायिक थालनी गरिएको हो ।

२÷३ दिनभित्रै अन्य २ गाउँमा पनि बंगुरका पाठापाठी वितरण गर्ने तयारी भइरहेको छ ।

यसवर्ष नगरपालिकाले ३ वटा पकेट क्षेत्रमा १४५ वटा बंगुरका पाठापाठी वितरण गर्ने, किसानलाई आवश्यक ज्ञान सीपसहित तालिम दिने, औषधी उपचारको व्यवस्था मिलाउनेछ । वालिङलाई माछा मासु तथा अण्डामा आत्मनिर्भर बनाउन यसखाले कार्यक्रमले निकै महत्वपूर्ण भूमिका राख्ने भएकाले यो अभियानमा नगरपालिकासहित लक्षित किसान झन् सक्रिय हुन आवश्यक रहेको डा. अधिकारीले बताए ।

कार्यक्रममा नगरपालिकाका पशु प्राविधिक दोलराज गैह्रे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट क्षेत्र कार्यक्रमका सदस्य तारा थापाले बंगुरपालनका सम्भावनाबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width